|

पाँचथर : दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। बढ्दो क्रममा रहेको वासस्थान विनास, खण्डीकरण, चोरी सिकारी र संरक्षित क्षेत्रमै संख्या कम हुनु संरक्षणका मुख्य चुनौती हुन्।

पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमसहित मुलुकको २४ जिल्लाको उच्च पहाडी क्षेत्रमा पाइने रेड पाण्डा संरक्षणमा चुनौती थपिएपछि स्थानीय सरकारले संरक्षणमा चासो दिन थालेका छन्।

रेड पाण्डा संरक्षणमा सक्रिय संस्था रेड पाण्डा नेटवर्ककी संरक्षण संयोजक पेमा शेर्पाले संरक्षित क्षेत्रमा ३० प्रतिशत र असंरक्षित क्षेत्रमा (सामुदायिक वन र राष्ट्रिय वन) ७० प्रतिशत रहेको जानकारी दिइन्। ‘असंरक्षित क्षेत्रमा संरक्षित क्षेत्रभन्दा अधिक हुनु नै संरक्षणको मुख्य चुनौती हो,’ उनले भनिन्, ‘समुदायलाई नै संलग्न गराएर संरक्षण गर्न आवश्यकता देखिन्छ, होइन भने लोप भएर जान धेरै वर्ष लाग्दैन।’

रेड पाण्डा नेटवर्कको अनुसार विश्वमा करिब १० हजार र नेपालमा करिब एक हजारको संख्यामा रहेको छ। लजालु स्वभावको वन्यजन्तु रेड पाण्डाको वासस्थान भनेको निगालोको जंगल हो। निगालोको टुसा र पात खाने रेड पाण्डाको वासस्थान नष्ट हुँदै जानुमा एकातिर वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधि हुन् भने अर्कातिर निगालोको जंगल क्षेत्र हुँदै निर्माण गरिने सडक पनि हो।

यीभन्दा डर लाग्दो चुनौतीको रुपमा चोरी सिकारी देखिएको छ। सन् २००८ देखि २०१८ को अहिलेसम्म ७९ वटा रेड पाण्डाको चोरी सिकारी भएको तथ्यांक छ। सबैभन्दा बढी सन् २०१६ मा २३ वटा चोरी सिकारी भएको नेटवर्ककी संरक्षण संयोजक शेर्पाले जानकारी दिइन्। चोरी सिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमण पनि रेड पाण्डा संरक्षणको अर्को चुनौती हो। 

संरक्षणमा देखिएको अनेकन् चुनौतीकाबीच स्थानीय स्तरमा संरक्षणको प्रयास पनि हुन थालेको छ। रेड पाण्डा संरक्षणमा क्रियाशील संस्था दीप ज्योति युवा क्लब पाँचथरका कार्यकारी निर्देशक सुनिल बान्तावाले पाँचथरसहित इलाम र ताप्लेजुङमा समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रम गर्दै आएको बताए। क्लबले सामुदायिक वनहरुसँग सहकार्य गर्दै रेड पाण्डाको वासस्थान पहिचान गर्ने, नियमित अनुगमन गर्ने, सामुदायिक वनका पदाधिकारीहरुलाई सशक्तीकरण गरेर वासस्थानको संरक्षण गर्ने कार्यमा सरिक गराउँदै आएको छ।

तीन जिल्लाको केही विद्यालयमा वातवरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक पनि पठनपाठनमा ल्याइएको छ। ‘गत वर्षदेखि तीन जिल्लाको आठ विद्यालयमा ऐच्छिक विषयको रुपमा वातवरण संरक्षण शिक्षा कक्षा–६, पठनपाठन गराउँदै आएका छौँ’ बान्तवाले भने, ‘विद्यार्थीहरुमा वातवरण संरक्षणसम्बन्धी ज्ञान र सीप दिलाउन पाठ्यपुस्तक सहयोगीसिद्ध भएको पाएको छु।’

ठाउँ अनुसार रेड पाण्डालाई पुडेकुदो, कुदो, नौतोतो, पम्सायांग र वाह पनि भन्ने गरिन्छ। नेपाल, भुटान र चीनको उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेड पाण्डाको तौल ३ किलोदेखि ६ किलोसम्म हुन्छ भने आयु १० वर्षसम्म हुने गर्दछ। पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनलाई गर्भाधान हुने महिनाको रुपमा लिइन्छ। रेड पाण्डालाई उच्च पहाडी र हिमाली क्षेत्रको बनको सूचक प्रजाति पनि मान्ने गरिन्छ भने पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न, पर्यटन प्रवद्र्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मान्न सकिन्छ।

पाँचथरको याङवरक गाउँपालिकाले रेड पाण्डा संरक्षण नीति तय गरेर कार्यान्वयन गर्ने तयारी गरेको गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ बताइन्। ‘हामी रेड पाण्डा संरक्षणका लागि स्थानीय सरकारको तर्फबाट नबाझिने गरी कानुन निर्माण गरी कार्यान्वयनसँगै नियमन पनि गर्छौं,’ उनले भनिन्, ‘यसअघि गाउँपालिकाले गत वर्ष जनचेतनामूलक कार्यक्रम पनि केही ठाउँमा गर्‍यौँ, हामी रेड पाण्डा संरक्षणमा गम्भीर छौं।’

राष्ट्रिय निकुञ्ज तथा बवन्यजन्तु संरक्षण ऐन २०२९ मा वन्य जन्तु कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एक देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै हुने प्रावधान छ।

यसरी संरक्षणमा ढिलै भए पनि जुटेको स्थानीय सरकारसहित सरोकारवालाले आम सर्वसाधारणलाई रेड पाण्डाको सहवास समय माघ–फागुनमा र सन्तान जन्माउने सयम असार–भदौमा रेड पाण्डाको वासस्थानमा जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लान नदिने र बासस्थान विनास नगराई सामुदायिक वनहरुलाई रेड पाण्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराउनु पर्ने आवश्यक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.