|

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका–७ रेशले विद्युतीय जोखिम कम गर्न विद्युत प्रशारण लाइनका काठेपोल विस्थापन अभियान थालेको छ। कम टिक्ने र हावाहुरी तथा वर्षाको समयमा जोखिम बढी हुने भएकाले काठका पोल विस्थापन गर्न थालिएको वडा अध्यक्ष प्रेमबहादुर लामिछानेले बताए। वडाले नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र बागलुङको सहयोगमा काठका पोलहरूको ठाउँमा फलामे पोल जडान गरेको छ।

वडाभित्र रहेका ३ सय २२ काठका पोलमध्ये गत आर्थिक वर्षमा २ सय २२ फलामेपोल जडान गरिएको लामिछानेले जानकारी दिए। बाँकी रहेका १ सय काठेपोललाई पनि चालु आर्थिक वर्षभित्र नै व्यवस्थापन गर्ने गरी योजना बनाएको उनले बताए। ‘सुरुमा टोल–टोलमा विद्युत विस्तारका लागि काठेपोलको प्रयोग गरिएको थियो’ लामिछानेले भने, ‘लागतका हिसाब महँगो पर्ने भएकाले फलामे पोल जडान गर्न सकिएको थिएन।’ विद्युत विस्तारका बेला विद्युत् प्राधिकरणले ठूलो संख्यामा फलामे पोल उपलब्ध गराउन नसक्ने भएकाले काठेपोलले काम चलाइएको वडा सचिव होमनाथ पौडेलले बताए।

 ‘स्थानीयले आफैँले काठेपोलको व्यवस्था गरेर विद्युत विस्तार गर्नुभएको रहेछ,’ पौडेलले भने, ‘अहिले क्रमशः काठेपोलको विस्थापन गरेर फलामे पोल जडान गर्न लागिएको छ।’ विद्युत प्राधिकरणले उपलब्ध गराएको पोलको ढुवानी र जडान खर्च वडाबाट उपलव्ध गराएर काम गरिरहेको सचिव पौडेलले बताए। काठेपोल विस्थापन भएपछि विद्युतीय जोखिम कम हुने वडा कार्यालयले जनाएको छ। ठूलो हावाहुरी चल्ने रेशमा वर्षातको समयमा विद्युत् चुहावट भएर सर्वसाधारणलाई करेन्‍ट लाग्ने जोखिमसमेत रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.