|

काठमाडौं : फिल्म क्षेत्रमा रुचाइएकी नायिकामा पर्छिन्, शिल्पा पोखरेल। उनले अहिलेसम्म लगभग एक दर्जन फिल्ममा काम गरिसकेकी छन्। उनी चार वर्ष अघि छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म 'लज्जा'बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्।

यसरी आएको थियो अफर

शिल्पा म्युजिक भिडियो तथा मोडलिङ गरिरहेकी थिइन्। उनले मोडल तथा भिडियो निर्देशक शंकर बिसीसँग पनि काम गरेकी थिइन्। शिल्पा र शंकरको सम्बन्ध राम्रो थियो। यता, शंकरको छविराज ओझासँग पनि राम्रो सम्बन्ध रहेछ।

छविराजले फिल्मका लागि नायिका खोजिरहेका थिए। शंकरले उक्त कुरा थाहा पाएर फिल्ममा शिल्पालाई लिन सुझाए। छविराजले पनि शंकरको कुरालाई स्वीकार्दै शिल्पालाई फोन गरे र भेट्न बोलाए। 'शंकर दाइसँगको चिनजानबाट मलाई फोन आउँथ्यो', शिल्पा भन्छिन्, 'मलाई फिल्मका लागि भनेर फोन आएपछि मैले गरेको सबै म्युजिक भिडियो तथा फोटो सुट पेनड्राइभमा हालेर लिएर गएकी थिएँ।' उनी त्यहाँ फिल्म 'लोफर'का लागि अडिसन दिन गएकी थिइन्।

छविले उनका सबै म्युजिक भिडियो हेरे। उनलाई शिल्पाको काम मनपरेछ। त्यसैले होला छविले शिल्पालाई अर्को फिल्ममा मुख्य भूमिकामा लिने निर्णय गरेछन्। शिल्पा भन्छिन्, 'उहाँलाई मेरो काम मनपरेछ होला, त्यसैले लोफरमा एकदमै सानो भएका कारण अर्को फिल्ममा लिन्छु भन्नुभयो।' छविले शिल्पालाई तीन महिनापछि फोन गर्छु भनेका थिए।

शिल्पा त्यहाँबाट फर्किंदा मनमा अनेक कुराहरू खेलाउँदै फर्किएकी थिइन्। 'अहिले फिल्म बनाउन तयार भएको मान्छे फेरि तीन महिनापछि अर्को फिल्म बनाउँछु भन्छ', शिल्पा भन्छिन्, 'यो मान्छे ठीक छैन भन्ने लागेर फोन नउठाउने निधो गरेकी थिएँ।'

तर शिल्पाको फोनमा छविको फोन नम्बर थिएन। ठीक तीन महिनापछि शिल्पालाई छविको फोन आयो। शिल्पाले फोन उठाइन्। छविले शिल्पालाई फेरि भेट्न बोलाए। शिल्पाले वहाना बनाएर नभेट्ने भनिन्। शिल्पा सम्झिन्छिन्, 'मलाई भेट्न मन थिएन, त्यसैले बिरामी छु भनेर भेटिनँ।'

छविले लगातार फोन गरिरहे। शिल्पाले भेट्न अप्ठ्यारो मानेको थाहा पाएर छविले आफ्नी ममीलाई लिएर आउन भने। शिल्पाले पनि आफ्नी ममीलाई लिएर भेट्न गइन्।

छविले निर्देशक नवल नेपाललाई भेट्टाए। नवलले शिल्पाको केही अडिसन पनि लिए। शिल्पाले राम्रो काम गरिन्। त्यसैले नवल र छविले शिल्पालाई 'लज्जा'मा लिड क्यारेक्टरमा कास्ट गरे।

आर्यनसँग पहिलो फिल्म : डर पनि नर्भस पनि  

लज्जामा उनको अपोजिटमा त्यो बेलाका चर्चित नायक आर्यन सिग्देल थिए। शिल्पा एकदमै नर्भस थिइन्। उनी भन्छिन्, 'अपोजिटमा आर्यन सिग्देल हुनुहुन्छ भन्दा म अलिक डराएकी थिएँ।'

आर्यन वर्कसपमा पनि आएनन्। कारण, उनी अरू फिल्मको काममा व्यस्त थिए। 'आर्यन सिग्देललाई त मैले एक्कासि सेटमा मात्र भेटेकी हुँ', शिल्पाले भनिन्।

सुटिङमा शिल्पाको पहिलो टेक नै आर्यनसँग थियो। उनी निकै डराएकी थिइन्। उनी सम्झिन्छिन्, 'म एकदमै डराएकी थिएँ। निर्देशक नवल दाइले दिएको केही आइडियाले चाहिँ काम गर्न सजिलो भयो।' निर्देशकले शिल्पालाई आर्यनलाई आर्यन नसम्झेर फिल्मको पात्र सम्झन सुझाएका थिए। उनले पहिलो टेक दिँदा आर्यनको आँखामा नहेरी सकेकी थिइन्। 'मैले पहिले सिन ओके हुन दुई टेक लिएँ', शिल्पाले सुनाइन्।

'लज्जा'ले नायिका भनेर चिनायो

शिल्पा आफूलाई नायिकाको रूपमा पहिलो फिल्म लज्जाले नै चिनाएको बताउँछिन्। उनी भन्छिन्, 'नायिका भनेर चिनिन धेरै संघर्ष गर्नुपरेन। मलाई पहिलो फिल्मले नै नायिका भनेर चिनाइदियो।' उनले फिल्ममा अनुबन्धित भएपछि रिलिज नहुँदासम्म कुनै पनि म्युजिक भिडियोमा काम गरेकी थिइनन्।   

उनी लज्जामा गरेको आफ्नो काम हेरेर नै अरू फिल्मबाट अफर आएको मान्छिन्। 'लज्जामा निकै मिहिनेत गरिएको थियो', उनी भन्छिन्, 'सायद त्यही काम हेरेर मलाई अन्य फिल्मबाट अफर गर्नुभएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.