|

चितवन : दूधको मूल्य समायोजनको माग गर्दै आएका चितवनका दुग्ध किसानले साेमबार आन्दोलनको स्वरूप परिवर्तन गरी दूध बाँडेर प्रदर्शन गरेका छन्। दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले आज रत्ननगरस्थित पूर्वपश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन्। 

दुग्ध विकास संस्थान र निजी डेरीहरूले दूधको मूल्य घटाएको आरोपमा उनीहरू गएको शुक्रबारदेखि चितवनमा आन्दोलित छन्। मूल्य समायोजन नगरेसम्म आन्दोलन जारी राख्ने रत्ननगरमा गाईपालक किसान शिवकान्त पौडेलले  बताए। यसअघि शुक्रबार चितवनको राप्ती नगरपालिकास्थित भण्डारामा र आइतबार खैरहनी नगरपालिकाको ज्यामिरेचोकमा झण्डै ४०० लिटर दूध सडकमा पोखेर किसानले विरोध प्रदर्शन गरेका थिए। सो क्रममा किसानले चर्का नारा लगाउँदै यहाँ १० मिनेट सडक समेत अबरुद्ध गरेका थिए। 

प्रदर्शनपछि यहाँ आयोजित कोणसभामा बोल्दै जिल्ला दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलल अहिले मनमा पीडा लिएर सांकेतिक कार्यक्रम स्वरुप प्रदर्शन र दूध बाँड्ने कार्यक्रम गरिए पनि सरकारले यसप्रति ध्यान नदिए किसान कडा आन्दोलनमा जाने प्रतिक्रिया दिए। उनले बाहिरको मिसावट दूध ल्याएर आफ्नै किसानको शुद्ध दूधमा खेलवाड गरेको समेत आरोप लगाए। 'चोकर, औषधिको मूल्य र बैंकको व्याज कति चुलिएको छ। तर दूधमा दिइँदै आएको मूल्य झन् घटाउने ?' पोखरेलल प्रतिप्रश्न गरे।

दुग्ध विकास संस्थान (डिडिसी) निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले भने दूधको मूल्य घटाएको नभई यसअघि किसानलाई गुणस्तर हेरेर दिइदै आएको अतिरिक्त मूल्य मात्रै कटौती भएको प्रतिक्रिया दिए। सो अतिरिक्र मुल्य टिएसको आधारमा दिने गरिएको र करिव करिव साँढे दुई देखि तीन रुपैयाँ पर्न आउने उनको भनाई छ। किसानहरूले भने डिडिसीले तीन रुपैयाँ मूल्य घटाएको र यसअघि निजी डेरीले  दुई भन्दा बढी दूघको मूल्य घटाएको बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.