|

विराटनगर : पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले स्वास्थ्य क्षेत्रको जिम्मा लिए कांग्रेसलाई आपत्ति नहुने बताए। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लेखकले मेडिकल कलेजहरू सरकारले आफ्नो मातहतमा ल्याएर संचालन गरे मान्य हुने बताएका हुन्। 

सरकारले स्वास्थ्य आफ्नो जिम्मा लिन्छ भने त्यसमा हाम्रो समर्थन रहने बताए। लेखकले भने, ‘खुल्ला अर्थतन्त्रकाविरुद्ध हो होइन त्यो सरकारले निर्णय गर्ने कुुरा हो। सरकारले महाराजगंजको मेडिकल कलेज चलाएकै छ। सरकारले पनि र नीजि क्षेत्रले पनि मेडिकल कलेज चलाउन सक्छ। जनतालाई सुलभ ढंगले स्वास्थ्यमा सेवा पाउनु पर्‍यो।’ 

अर्को प्रसंगमा नेता लेखकले कांग्रेसले अहिले गरिहेको आन्दोलन डा. गोविन्द केसीको समर्थनमा मात्रै नभएको बताए। संविधानको भावनाअनुसार वर्तमान सरकार चल्न नखोजेको दाबी पनि गरे। सरकारका केही कदमले गणतन्त्र, संघीयता, समावेशीता र  लोकतन्त्रको विषयमा आशंका भएकोले मुलुकको नेतृत्व गर्ने व्यक्तिहरू नै गणतन्त्रको विरोधी रहेको पनि तर्क गरे। 

‘मुलुकको गाडीको ड्राइभिङ सिटमा यस्ता बसेका मान्छेहरू बसे जसको संविधानको आधारभूत विषयमा असहमति छ’, प्रधानमन्त्रीप्रति इंगित गर्दै नेता लेखकले भने, ‘गणतन्त्रका बारेमा उनीहरूको प्रतिबद्धता के हो भन्ने विषयमा पनि आशंका छ। गणतन्त्र भनेको बयलगाडा भन्ने विषय सार्वजनिक गर्ने नेता को थियो भन्ने सबैलाई थाहा भएकै विषय हो।’ अहिलेका मुख्यमन्त्रीहरूले नै संघीयताविरोधी बजेट आएको भन्ने अभिव्यक्ति दिएको कारण संघीयता पनि खतरामा रहेको लेखकको दाबी छ। 

नेता लेखकले पहिले स्वीकार गरिसकेको अध्यादेशलाई परिवर्तन गरेर नयाँ चिकित्सासम्बन्धी विधेयक दर्ता गर्नुपर्ने कारण नभएको भन्दै कहिले स्वीकार गर्ने र कहिले अस्वीकार गर्ने परिपाटीका कारण सरकार अप्ठ्यारोमा परेको बताए। ‘अघिल्लो संसदले चिकित्सासम्बन्धी अघिल्लो सरकारले ल्याएको अध्यादेश ठिक छ भनिसकेपछि, यो सरकारले पनि त्यस बेला स्वीकार गरिसकेको थियो,’ लेखकले भने,‘अहिले फेरि अध्यादेशमा परिवर्तन गरी नयाँ विधेयक किन ल्याउनुपर्‍यो?’
डाक्टर केसीको मागको विषयमा सरकार संवेदनशील नभएको र मन्त्रीहरूले जथाभावी बोलिरहेकाले त्यसप्रति संवेदनशील हुन पनि आग्रह गरे। सरकारले चाल्ने कदमकै आधारमा नेपाली कांग्रेसले गर्ने आन्दोलनको रुप परिवर्तन हुने लेखकको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.