|

काठमाडौं : जुम्लाबाट काठमाडौं आएसँगै साेमबार पहिलो पटक डा‍. गाेविन्द केसीको शरीरमा भएका परिवर्तनहरूबारे जानकारी प्राप्त भएको छ। ८० वर्षीया आमा मित्रकुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न मानेका हुन्।

अाइतबार साँझ आफ्ना छोरालाई भेट्न आएकी आमा स्वास्थ्य परीक्षण पनि नभएको कुरा थाहा पाउनासाथ विक्षिप्त भएकी थिइन्। भेट्दा केही नभने पनि पछि टेलिफोनमार्फत् बडो भावुक हुँदै आफ्ना छोरालाई उनले कमसेकम स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकी हुन्। डा. केसीको स्वास्थ्यलाई एकदमै नजिकबाट नियालिरहेकी डा. दिव्यासिंह शाह केही दिनयता डा. केसीमा आएका परिवर्तनहरूका कारण एकदमै चिन्तित रहँदै आएकी छन्।

बोल्न नसके पनि करिब ४५ मिनेटसम्म डा. दिव्याले बताएका कुरा सुनिसकेपछि र आमाको विशेष आग्रहमा डा. केसीले रगत परीक्षण गराउन सहमत भएका थिए।यता, रगतको रिपोर्ट आएसँगै चिकित्सकहरू भने चिन्तित भएका छन्। रगतका सम्पूर्ण प्यारामिटरहरू असामान्य छन्। सेतो रक्तकोषिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ। यति कम सेतो रक्तकोषिका भएका बिरामीलाई यदि कुनै संक्रमण भइहाले त्यसले भयावह रूप लिनेछ। यसैका कारण भेट्न आउने मानिसहरूलाई समेत १० मिटर परै राख्ने गरिएको छ।

डा. केसी अनसन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। यसले केही हदसम्म संक्रमण रोक्ने भए तापनि अब भने थप सावधानी नअपनाए डा. केसीलाई गम्भीर खाले संक्रमण हुने बताइएको छ।

रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको छ। शरीरका सबै अंगहरूले काम गर्ने भनेकै ग्लुकोजबाट प्राप्त शक्तिले नै हो। यसको मात्रामा कमी आएसँगै अंगहरूले विस्तारै काम गर्न छाड्नेछ्न्। विशेषत: ग्लुकोजको मात्रा घटेसँगै सबभन्दा गम्भीर असर मस्तिष्कमा देखिन्छ। स्नायुहरू शक्तिहीन बन्दै जान्छन् र बेहोस हुने, सिजर हुने अर्थात् छारे रोगका लक्षणहरू पनि देखिन सक्ने चिकित्सक बताउँछन्।

जुम्लामा रहँदै घटेको पोटासियम, म्याग्नेसियम र क्याल्सियमको मात्रा अझै बढेको छैन। विशेषत: पोटासियम एकदमै न्यून छ, जसको सिधा सम्बन्ध मुटुसँग हुन्छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार यही अवस्थामा डा. केसीको मुटु जुनसुकै बेला पनि बन्द हुनसक्छ। यति कम पोटासियममा पनि किन इसिजीमा परिवर्तन देखिएन भनेर चिकित्सकहरू छ्लफल गरिरहेका छन्। एक पटक इसिजीमा परिवर्तन आउनासाथ डा. केसीलाई सिसियुमै राखेर उपचार गर्नुपर्ने यसअघि नै चिकित्सकहरूले बताइसकेका छन्।

रगतमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको छ। एकै छिन पनि अक्सिजन नलगाउँदा उनलाई निकै अप्ठ्यारो हुन्छ। 'कहिलेकाहीँ त हप्याकहप्याक नै हुने गरेको छ। अक्सिजन कम भएसँगै छाती पनि बेस्सरी दुख्ने गरेको छ', डा. केसीसँग चौबीसै घण्टा साथ रहने उनका भाइ किशोर केसीले बताए। विगत एक दुई दिनदेखि धैरै पटक वाकवाकी लाग्ने समस्याले पनि डा. केसीलाई आक्रान्त बनाएको उनको भनाइ छ।

२४ दिन लामो अनसनका कारण शक्तिहीन बनेका डा. केसी दोहोरो संवाद पनि गर्न नसक्ने अवस्थामा पुगेका छन्। भेट्न आउने शुभचिन्तकलाई आँखाका इशाराले सम्बोधन गर्छन् भने मेडिकल टिमलाई हातका माध्यमले आफूलाई यहाँ यहाँ गाराे भएको भनेर बताउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.