|

काठमाडौं : 'चरी लैजा समाचार, हामी भयौँ बेघरबार' देशमा हरेक वर्ष वर्षा मौसममा यस गीतले चर्चा पाउने गर्छ। कवि तथा पत्रकार संगीत श्रोताको शब्द र लयमा अन्जान बाबु शर्मा र स्वयं श्रोताले यस गीतमा स्वर भरेका छन्। यही गीतमा जस्तो अनेकौँ प्राकृतिक तथा राजनीतिक जटिलता उस्तै छ देशमा आज पनि।

यो गीतको चर्चा गर्नुपूर्व यो गीतको पृष्ठभूमिका लागि २०६५ सालतिर फर्कनुपर्ने हुन्छ, जतिबेला नेपालमा बाढी पहिरोले जनजीवन नराम्रोसँग क्षतविक्षत भएको थियो। बर्खाको मौसममा नेपालको मधेस र पूर्वी भूभाग विशेष गरेर कोसी ब्यारेज फुटेर करौडौँ रूपैयाँको क्षति भएको थियो भने कयौँ मान्छेले ज्यान गुमाएका थिए। हजारौँ मान्छे घरबारविहीन भएका थिए। हजारौँ हेक्टर जमिन बगर भएको थियो।

बाढीले आमनेपालीको जनजीविकामाथि नराम्रो गरी धावा बोलेको थियो। अखबारका पानाहरूमा, टेलिभिजन स्क्रिनहरूमा मृत्युका खबर, रुवाबासी, राहत नपाएर भोकभोकै भएका जनताका कारुणिक दृश्य देखिन्थे। यता, भर्खर संविधानसभा चुनाव जितेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माअोवादीको सरकार बनेको थियो। जनतामा केही त्रास र केही आश थियो। जनताका लागि लडेर आएकाले अब शोषित पीडित जनताका दिन आए भन्ने एकथरि थिए भने अर्का थिए अब देशमा कम्युनिस्ट  शासन छ, अबको नेपाल अगाडि बढ्छ भन्ने कुरामा शंका उपशंका गर्ने। 

त्यसै बेला बाढीले तहसनहस भएको नेपालको पूर्वी भूभागमा सरकारले तत्कालै ठोस कदम चालेन। जनता सरकारको राहतको प्रतीक्षामा थिए। समृद्ध नेपालको सपना बाँडेर जनताको मत पाएको सरकारले आवश्यक कदम चाल्न ढिलासुस्ती गरिरहेको अवस्था थियो। आमनेपालीमा कहालीलाग्दो दिनचर्या उस्तै थियो।

पोखराको लामो बसाइपछि कवि तथा पत्रकार संगीत श्रोता काठमाडौं आउने क्रममा थिए। जिन्दगीको लामो भागदौडका क्रममा उनले पनि आमनेपालीले जस्तै प्राकृतिक प्रकोपलाई नजिकबाट नियाल्ने अवसर पाए। पोखराबाट काठमाडौं आउने क्रममा बाढीले तहसनहस पारेको नेपाली जनताको दु:ख र पीडाका लप्काहरूलाई उनले शब्दका माध्यमले लिपिबद्ध गरेर स्थायी तयार पारे- 'चरी लैजा समाचार, हामी भयौँ बेघरबार।'

दु:ख र अभावले पहिलो प्रहार गरिबमाथि गर्छ, दुखी बेसहारा र निमुखामाथि गर्छ। हरेक वर्ष बाढी पहिरोले निम्त्याउने परिस्थितिलाई सरकारले कुनै व्यवस्थित कार्यनीति नबनाउने परिपाटी हामीकहाँ निरन्तर छ। सरकारको लाचारीपनको विरुद्ध एउटा सानो आवाज मात्र यस गीतमा उतार्ने कोसिस गरेको बताउँछन् श्रोता।

आफ्ना नजिकका साथीहरू माझ उनले यो गीत सुनाए। चिया अड्डाका टेबल ठटाउँदाका दिन सम्झँदै उनी भन्छन्, 'साथीहरूले यसलाई रेकर्ड गरौँ भनेर कराइरहन्थे तर मलाई उति साह्रो मन थिएन।' फुर्सदका दिनमा गुनगुनाउनुबाहेक यो गीत कापीका पानामा नै थियो। गीत लेखेको चार वर्षपछि उनका साथी तथा यस गीतका गायकद्वयमध्येका एक अन्जानबाबु शर्माले यो गीत सन्देशमूलक, प्रभावकारी र आमजनजीविकासँग मेल खाने भएकाले गीत बजारमा ल्याउनुपर्छ भनेर कर गरेपछि लोकलयमा आधारित रहेर गीतको रेकर्ड गर्ने काम भयो।

गीत रेकर्ड गरे पनि उनले न कुनै प्रचार गरे, न त कुनै विज्ञापन। यो कुनै कमर्सियल गीत नभएकाले नजिकका साथीहरूलाई सुनाउने कामबाहेक अरू केही नभएको बताउँछन् श्रोता।

गीत लेखेको तीन-चार वर्ष यसै कापीको पानामा थन्किएको गीत रेकर्ड भएपछि पुन: साथीको सर्कलमा घुमिरह्यो तर जब हरेक वर्ष देशमा बाढीपहिरो, प्राकृतिक प्रकोपको समस्याले पिरोल्न थाल्यो, तब जसजसले यो गीत राखेका थिए, उनीहरूले चर्चा गरिदिन थाले। यसको फलस्वरूप एक कान दुई कान मैदान हुँदै आमनेपालीको कान र मनसम्म पुग्न थाल्यो यो गीत।

प्राकृतिक प्रकोप नेपालको बिझाउँने काँडा जस्तै हो। २०७१\०७२ सालतिर पुन: सुर्खेतमा ठूलो बाढी आयो। त्यही भूगोलमा बस्ने नेपालका चर्चित वाद्यवाधक प्रेमदेव गिरीले यस गीतको भिडियो बनाए। यो गीत रेकर्ड भएको छ भन्ने थाहा पाउने थोरै मान्छेमध्ये उनी पनि एक थिए। त्यहाँको एक स्थानीय टेलिभिजनले त्यहाँ आएको बाढीको बेला यस गीतको भिडियो खिचेर टेलिभिजनमा प्रसारण गरिदियो।

श्रोता भन्छन्, 'यस गीतको अफिसियल भिडियो आजसम्म हामीले बनाएका छैनौँ तर गिरीले भिडियो बनाउने अधिकार हामीसँग नमागे पनि यसमा कुनै दुखेसो भने छैन।' यस भिडियोको कारण मध्यपश्चिमाञ्चल क्षेत्रमा मात्र होइन, देश र दुनियाँमा रहेका हरेक नेपालीले मनपराइदिनुको मुख्य श्रेय त्यही भिडियो मान्छन् श्रोता।

यस कारण बनेन भिडियो 

यस गीतको प्रतिलिपि अधिकार नलिईकन धेरै मान्छेले गाएको तथ्य पनि संगीत श्रोतासम्म आएको छ। धेरै उनका शुभचिन्तकले यस गीतको अफिसियल भिडियो बनाउन आग्रह नगरेका पनि होइनन् तर उनको यतातिर त्यति मन गएको छैन। उनी भन्छन्, 'मुख्य पेशाका रूपमा संगीतलाई नअपनाएको हुनाले नै यसतर्फ मेरो आशक्ति नभएको हो।'

यो गीत हरेक वर्ष नेपाली जनताले गाइरहनुपर्दा चाहिँ उनी दु:खी छन्। 'गीत हिट हुनु सर्जकका लागि राम्रो नै होला तर हरेक वर्ष यस गीतको महत्त्व बढ्दै जाँदा हामी नेपालीमा दु:ख पीडा जहाँको त्यही रहेको थाहा हुन्छ।' उनी थप्छन्, 'कुनै बेला नेपालमा बाढीपहिरोले बिजोग पारेकाले यो गीत लेखिएको रहेछ भनेर इतिहास भनेर सुन्न पाए गज्जब नै हुनेथ्यो तर हरेक वर्ष यही गीतको सान्दर्भिकता र महत्त्व बढेकामा चाहिँ बढी टिठ लाग्ने गर्छ।'

यहि कारण पनि  उनले  भिडियो बनाएका  छैनन्  तर अत्यधिक दबाबका कारण निकट भविष्यमा नै यसको भिडियो बनाउन सकिने सम्भावनाचाहिँ जीवित रहेको बताउँछन् श्रोता।

गीत :

‘त्यता केके हुँदै छ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु–कलेजा
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार
चरी लैजा समाचार, हामी भयौँ बेघरबार!’

आँधी र हुरी आउँछ कहिले पानी र असिना
हिना र मिना पार्दछ फेरि दुखीकै पसिना
सुखी ज्यानलाई कस्तो छ यता पहिरो पसेर
फेरि हामी दु:खीकै खायो मुटु-कलेजा।

हिजो नि उस्तै आज नि उस्तै भोलि के हुने हो
न दिन राम्रो न साँझ हाम्रो कति  दिन रुने हो 
त्यता राम रमितै छ यता औँशी पसेर
फेरि हामी दु:खीकै खायो मुटु कलेजा।

दैवको घर छ भन्थे माथि रै'नछ रानी  हो 
जे दु:खसुख सहनुपर्ने यही एक जुनी हो
त्यता कोही त होला कि यता सौर्य खसेर
फेरि हामी दु:खीकै खायो मुटु-कलेजा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.