|

दमक (झापा) : मोफसलमा रहेर सात वटा कृति प्रकाशन गरिसकेका नारायणप्रसाद चँदारा एक गुमनाम लेखक हुन्। २०६१ देखि कृति प्रकाशन सुरु गरे पनि डेढ दशकसम्म उनी लेखकको पहिचानभन्दा टाढै रहे।

साहित्य लेखन नगरेका कारण पनि उनलाई अरुले चिनेनन् कि भन्ने लागेछ। त्यसैले विभिन्न सामाजिक विषयमा लेख्दै आएका चँदारा यात्रा निवन्ध संग्रह ‘पसिनाको मुल्य’ लिएर आएसँगै लेखको पहिचान खोजिरहेका छन्। दलित समुदायको एउटा प्रतिनिधि, त्यो पनि निजामती सेवामा रहेर सात वटा कृति प्रकाशन गर्नु सामान्य विषय होइन।

पाइलैपिच्छे विभेदका पहाडसँग ठोक्किएका उनी भन्छन्, ‘धातु जति धेरै अरुसँग ठोक्कियो त्यतिनै चम्किलो हुँँदै जान्छ। त्यसैले म जति ठोक्किए पनि निराश भएको छैन, एक दिन मेरो पनि चक्किने दिन आउँला नि।’

२०२८ मा इलामको साँखेजुङ्मा दिलबहादुर र नैनकुमारी चँदाराका सन्तानको रुपमा जन्मिएका हुन् नारायणप्रसाद। २०४८ चैतदेखि मुखिया पदबाट निजामती सेवामा प्रवेश गरेका उनी हाल झापाको गौरीगञ्ज गाउँपालिकामा नायबसुब्बा पदमा कार्यरत छन्।

उनको अहिले परिचय भनेको निजामती कर्मचारी हो तर उनले खोजेको अर्काे पहिचान भनेको लेखकको हो। दलित सुमदायबाट सरकारी सेवा र लेखनमा रहेका सीमित व्यक्तिमध्येका उनको लक्ष्य साहित्य लेखन र समाजका सबै प्रकारका विभेदको अन्त्यका लागि योगदान गर्नु हो।

‘जहाँबाट भए पनि जीवनको लक्ष्य भनेकै समुदायलाई सहयोग गर्नु, अघि बढाउनु नै हो’, उनले भने, ‘म बाँच्नका लागि जागिर खाइरहेको छु। तर जिउनका लागि लेख्न चाहन्छु, हेरौं कति सकिन्छ।’

साथीले दिएका कापी–कलमका भरमा अध्ययन 

जातीय विभेदको घानमा पिसिएको दलित र त्यसभित्रको विश्वकर्मा समुदायका एक प्रतिनिधि पात्र हुन्, नारायणप्रसाद चँदारा। करिब साढे चार दशकअघिको नेपाली समाज। त्यस बेलाको दलितप्रतिको दृष्टिकोण र विभेद पाइला पाइलामा सहनुपर्ने।

झन् त्यसैमाथि आफ्नो जमिन नहुनु। पुर्खादेखि गर्दै आएको काठका भाँडावर्तन बनाउने पेशाबाट गुजारा चलाउनु बाध्यता थियो। बुवा आमाका ४/४ छोराछोरी गरी अाठ सन्तान। तीमध्ये चार जना सानैमा खसे।

‘बुवा काठका समान बनाएर बेच्न इलाम बजारदेखि भारतको सिक्किमसम्म पुग्नु हुन्थ्यो,’ उनले बाल्यकाल सम्झिए, ‘आमा–दिदीहरु मजदुरी गर्थे। तर, सन्तानलाई पढाउनु पर्छ भन्ने चेतना बुबामा थियो । त्यसैले मैले साँखेजुङको शारदा प्राविबाट अक्षराम्भ गरेँ। संयोग के रह्यो भने कक्षा १ र ८ बाहेक म सधैं कक्षामा प्रथम। त्यसैले मैले नि:शुल्क पढ्न पाएँ।’

परिवारको आर्थिक अवस्था कमजोर। पाठ्यपुस्तक र शैक्षिक सामाग्री किन्ने ल्याकत पनि थिएन। ‘केही साथीहरुले कापी कलम दिएर सहयोग गर्थे,’ उनले भने, ‘पहिलो विद्यार्थी भएका कारण विद्यालयले शुल्क लिँदैन थियो, त्यसले गर्दा मात्र अध्ययन सम्भव भयो।’ 

 विभेदको रुप फेरियो, अवस्था फेरिएन

उनको अनुभवमा नेपाली राजनीति, शैक्षिक परिवर्तनसँगै दलीय समुदायप्रतिको विभेद फेरिएको छ। तर दलित समुदाले भोग्नु पर्ने अवस्था फेरिएको छैन। ‘धन्न अहिले पो यतिको छ त। पहिले त आम्मै, पाइलैपिच्छे नि,’ उनले भने, ‘मन्दिरमा पूजा गर्न नपाइने।’

मन्दिरमा टीका पनि लगाउन नपाइने। पुराण–महायज्ञको प्रसादसम्म नपाइने। धारामा पानी खान नपाइने, मान्छेलाई मान्छेको रुपमा व्यवहार गर्ने वातावरण थिएन त्यो बेला। उनलाई अहिले पनि विभेद कायमै छ जस्तो लाग्छ। 

‘धेरै पुरानो कुरा त के गर्नु म गाविस सचिव भएर काम गर्दा एक जना गाविस अध्यक्षको घरमा प्रवेश पनि पाइन,’ उनले भने, ‘अरुमा कस्तो भयो होला, आफै अनुमान गर्नुहोस् न।’ अहिले कानुनी रुपमा विभेद अन्त्य भए पनि कानुनको कार्यान्वयन हुन नसक्दा हेलाको पात्र हुनु परेको उनी सुनाउँछन्।

ठेंकी बेचेर रामायण

उनको बुवा दिलबहादुरको तीक्ष्ण दिमाग। कुनै दिन विद्यालय गएर नपढे पनि अक्षर चिनेका थिए। गाउँमा अरुले महाभारत र रामायण पढेको देखेर उनलाई पनि त्यसप्रति आकर्षण जागेको थियो। तर उनलाई गाउँका कसैले पुस्तक दिएनन्।

त्यसैले आफैले बनाएका ठेंकी बेच्न सिक्किम गएका बेला नारायणका बुवाले उतैबाट दुई रुपैयाँमा महाभारतको किताब किनेर ल्याए। ‘बुवाले घरमा सधैं  त्यो पाठ गर्दा मलाई पनि त्यस्तै लेख्न र पढ्न रहर लाग्थ्यो,’ लेखनप्रतिको रुची प्रष्टाउँदै उनले भने, ‘मलाई पनि भाका हालेर रामायण र महाभारत वाचन गर्न मन लाग्ने क्या, अनि म पनि यस्तै कसरी लेख्न सक्छु होला भन्ने लाग्थ्यो, त्यही हुटहुटीले अहिले यतिको भइयो।’

केही कविता लेखेर आफ्नै कापीका पानामा कैद गर्दै आएका उनले २०४३ मा जिल्ला स्तरीय प्रतियोगितामा भाग लिए। तर नतिजा सोच्दै नसोचेको आयो। ‘मेरा गुरु प्रथम हुनु भयो, म दोस्रो। त्यसपछि त झनै हौसला बढ्यो,’ तीन दशकअघिको पहिलो सफलता सुनाउँदै उनले भने, ‘त्यसपछि निरन्तर लेख्दै गएँ, तर जागिरे भएपछि अलि कम भयो।’

अबको लक्ष्य

तत्कालीन मेची अञ्चलका विभिन्न ठाउँमा पुगेका, बिताएका क्षणहरु समेटिएको यात्रा निवन्ध संग्रह उनको पछिल्लो कृति हो। यसमा उनले २०५० देखि २०७३ सम्म लेखेका यात्राका अनुभवहरुलाई समेटेका छन्। 

यसअघि उनले नेपालमा जातपात र छुवाछुत (इतिहास, २०६१), सांस्कृतिक रुपान्तरण (सामाजशास्त्र, २०६७), दलित समुदायको वस्तुगत विवरणबारे तीन पुस्तक, सम्झनाका तरेलीमा : कल्पना बराइली (स्मृतिग्रन्थ, २०७०) प्रकाशन गरेका थिए।

तर ती सबै साहित्यभन्दा टाढाका विषयमा लेखिएका थिए। तर यस पटक साहित्यिक कृति प्रकाशन गरेकाले यसबाट उनी लेखक, साहित्यकारको पहिचान पनि पाउने आशामा छन्। हुन त अझै उनको जागिर अवधि १० वर्ष छ। तीन सन्तान र श्रीमती पहाडमै छन्। 

‘जीविकाको लागि पनि जागिर त खानै पर्‍यो। तर ढिलो फक्रिंदै गरेको मेरो लेखन कार्यलाई निरन्तरता दिने नै छु,’ उनले भने, ‘गुरुहरुप्रति समर्पित हुँदै एउटा कृति लेख्ने तयारीमा छु। त्यो गुरु दक्षिणाको रुपमा आउने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.