'चि मुसी चि'को प्रतिक्रियाले लक्ष्य निर्धारण

|

काठमाडौं : 'डिआइडी सिजन ४'को टप १० मा पर्न सफल सुनिल क्षेत्रीले नेपाली फिल्ममा डेब्यु गरेका छन्। उनी अभिनित पहिलो फिल्म 'चि मुसी चि' यही शुक्रबार अर्थात साउन ११ गतेबाट प्रदर्शनमा आउँदै छ।

फिल्मको ट्रेलर तथा गीत रिलिज भइसकेको छ। गीत तथा ट्रेलर हेरर उनको चर्चा पनि निकै हुन थालेको छ। चर्चा सकारात्मक तथा नकरात्मक दुवै किसिमको छ। उनले आफ्नो लुक्सलाई लिएर नराम्रो प्रतिकृया पाइरहेका छन् भने नृत्य र अभिनयलाई हेरेर सम्भावना भएको कलाकार भएको प्रतिकृया पनि पाइरहेका छन्।

फिल्म खेल्ने ठूलो रहर

सुनिललाई सानैदेखि नृत्यमा बढी रुचि थियो। नृत्यसँगै फिल्ममा पनि उनको रोजाइ थियो। सानैदेखि नाच्ने सुनिल डिआइडी सिजन-४ को टप १० मा पनि पर्न सफल भए। नेपालमा उचित अवसर नभएका कारण आफू इन्डियामा गएर नृत्य प्रतियोगितामा भग लिएको उनी बताउँछन्।

सुनिलले डिआइडीपश्चात् बलिउड फिल्ममा पनि काम गरेका छन्। उनले शाहरुख खानको फिल्म 'ह्याप्पी न्यु इयर'मा पनि काम गरेका हुन्। 'मैले बलिउडका धेरै कलाकारको पछाडि कोरस नाचेको छु', उनी भन्छन्, 'मैले सलमान, शाहरुख, टाइगर श्राफको पछाडि पनि नाच्न पाएको छु।'

फिल्मको पर्दामा मुख्य भूमिकामा देखिने रहर सुनिलमा थियो नै। तर, उनी आफैँमा विश्वास थिएन कि मैले लिड रोल पाउँछु। भन्छन्, 'म जस्तो भिलेन लुक्स र बोल्ड स्वर भएको मान्छेले मुख्य भूमिकामा अभिनय गर्न पाउँछु भन्ने लागेको थिएन तर रहर भने थियो नै', उनले भने।

बलिउड छोडेर नेपाल अनि 'नेपाली ठिटोज'

सुनिलले ८ वर्ष बलिउडमा काम गरेका छन्। बलिउडमा उनले काम पनि पाइरहेका थिए। कोरसमा नाच्ने, स्टेज शो यस्तै यस्तैबाट उनले पैसा पनि कामइरहेका थिए। तर २०१७ मा भएको एक अवार्डमा उनी कोरसमा नाच्नुपर्ने थियो। उनले उक्त नाचका लागि धेरै दुःख खेप्नुपर्‍यो। 'घाम घाममा कहिले कसको पछाडि नाचेको छ कहिले कसको', उनी भन्छन्, 'जुन दुःख मैले इन्डियामा रहेर काम गरेँ, त्यो मिहिनेत नेपालमा गर्‍यो भने त केही हुन्छ नि त भनेर नेपाल फर्किएको हुँ।'

सुनिल नेपाल आएर 'नेपाली ठिटोज्' भन्ने डान्स ग्रुप खोले, जुन ग्रुपबाट उनीहरूले धेरै म्युजिक भिडियोमा अभिनय तथा निर्माण पनि गरे। सुनिल भन्छन्, 'नेपालमा नै केही गर्छु भनेर फर्किएपछि मैले डान्स ग्रुप खोलेँ र त्यसबाट म्युजिक भिडियो तथा कभर डान्सहरू पनि गरेँ।'

नेपाली ठिटोज् बनेर उनले धेरै फ्यान पनि कमाइसकेका छन्। उनको नृत्यले पनि निकै प्रशंसा पाइरहेको पनि छ। उनी भन्छन्, 'हाम्रो ग्रुपको नाच र काम हेरेर नै अहिलेसम्म म्युजिक भिडियोमा काम पाइरहेको पनि छु।'

'चि मुसी चि'को अफर

'चि मुसी चि'का लागि कलाकारको खोजी भइरहेको थियो। फिल्ममा क्युट नभएर बोल्ड पारको फेस चाहिएको थियो, जो डान्समा पोख्त होस्। निर्देशक दिनेश श्रेष्ठको नजरमा सुनिल परे। दिनेशले सुनिललाई आफ्नो फिल्म खेलाउने निधो गरे।

फिल्मको अफर सुनिल भएसम्म पुग्यो। 'उहाँहरूले फिल्मको अफर गर्नुभयो', सुनिल भन्छन्, 'सुरुमा त चि मुसी चि भन्नेबित्तिकै सानोको खेल याद आएको थियो। पछि स्कृप्ट पढेपछि एकदमै राम्रो लाग्यो।' निर्देशक दिनेशले खोजेको हरेक गुण सुनिलमा थियो अनि सुनिलले पनि राम्रो स्कृप्ट पाए। सुनिल र दिनेशको कुरा मिल्यो। फिल्म खेल्न तयार भए सुनिल।

फिल्मबाट आशावादी सुनिल

आफ्नो डेब्यु फिल्मलाई लिएर निकै आशावादी छन्, सुनिल। उनी भन्छन्, 'मेरो पहिलो फिल्म हो। यसमा धेरै मिहिनेत गरिएको छु। त्यसैले फिल्म सफल हुनेमा आशावादी छु।' फिल्मको स्कृप्ट पनि एकदमै राम्रो भएको, निर्देशकले पनि निकै मिहिनेत गरेको र कलाकारले पनि निकै मिहिनेत गरेको कारण पनि फिल्म राम्रो बनेको दावी गर्छन् सुनिल।

आफ्नो पहिलो फिल्म सफल होस् भन्ने सम्पूर्ण कलाकारको चाहना हुन्छ। त्यो चाहना उनमा पनि छ। यसै फिल्मबाट नै आफ्नो करियर कता जाने निधो गर्ने उनी बताउँछन्। 'पहिला फिल्मको प्रतिकृया बुझ्छु। यदि दर्शकले मेरो नृत्यसँगै अभिनय मनपराइदिनु भयो भने फिल्ममा काम गर्छु', उनी थप्छन्, 'नत्र म अभिनय गर्नतिर लाग्दिनँ।'

रहर करियोग्राफीतिर

सुनिल आफ्नो नाम करियोग्राफरबाट चिनिओस भन्ने चाहान्छन्। उनी भन्छन्, 'अहिले मलाई फिल्मको कलाकार वा हिरो भनेर भन्दा पनि करियोग्राफरको रूपमा चिनिन मन छ।' सुनिलले फिल्म डेब्यु फिल्म चि मुसी चि र अमेरिका ब्वाइजमा पनि करियोग्राफर बनेर काम गरेका छन्। 'मैले फिल्म अमेरिका ब्वाइजमा र मेरै फिल्म चि मुसी चिमा करियोग्राफर भएर काम गरिसकेको छु', उनी भन्छन्, 'फिल्मबाहेक त भिडियोमा कत्ति गरियो गरियो।' अहिले आफ्नो सोच र लक्ष्य पनि करियोग्रफीमा भएको सुनिलले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.