|

डडेल्धुरा : नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले राणा, पन्चायत र राजा सिध्याउने कांग्रेस सकियो भन्नु बेकार भएको टिप्पणी गरेका छन्। मंगलबार नेपाल प्रेस यूनियन डडेल्धुरा शाखाले डडेल्धुरा सदरमुकममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भने ‘राणा, पञ्चायत र राजा सिध्याएर माओवादीलाई समेत जंगलबाट सत्तामा पुर्‍याएको कांग्रेसलाई अहिले सकिदैछ भनेर भन्नु बहुमतको दम्भ हो।’ 

नेता सिंहले ओली सरकार राज्य आतंक सिर्जना गरी सर्वसाधारण र विपक्षीलाई तर्साउने खेलमा लागेको आरोपसमेत लगाएका छन्। प्रदेश ७ का पहाडी जिल्लाको भ्रमणका क्रममा डडेल्धुरा आइपुगेका नेता सिंहले आफ्नो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए।

उनले भने ‘कांग्रेस सधैं जनताको पक्षमा बोल्छ, तर कम्युनिष्टको सरकार आइसकेपछि जतनाले उपभोग गर्ने हरेक वस्तुमा कर वृद्धि भयो।’ उनले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको बताएका छन्।

‘सार्वजनीक स्थानलाई निषेधित क्षेत्र घोषण गर्नु के हो?' उनले प्रश्न गरे। देशका सबै आन्दोलन तथा विरोध प्रदर्शनका कार्यक्रम भएको माइतीघरलाई निषेधित क्षेत्र घोषण गर्नु अधिनायकवादको संकेत भएको उनको दाबी छ।

पत्रकार सम्मलेनमा बोल्दै उनले नागरिकका माग लिएर सत्याग्रहमा बसेका वरिष्ठ डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि आफ्नो पार्टीले दबाब दिँदै आएको दाबी गरे। उनले डाक्टर केसीका जायज मागहरू तत्काल पूरा गर्दै केसीको जीवनरक्षा हुनुपर्नेमा जोड दिए।

सिंहले विभाजित कम्युनिस्टलाई पनि कांग्रेसले नै एकजुट बनाएको बताए। ‘विभाजित तथा कमजोर अवस्थामा रहेको कम्युनिस्टलाई २०४६ सालमा स्वः गणेशमान सिंहले नै एकजुट गराएका थिए’ उनले भने ‘तर अहिले तिनै सत्ताधारी कम्युनिस्टबाटै राजनीतिक अस्थिरता बनाउने काम हुँदैछ।’

चिकित्सक, प्राध्यापक, विश्वविद्यालयका उपकुलपति जस्ता पदीय मर्यादा र जिम्मेवारी बोकेका व्यक्तिहरूलाई अपहरण शैलीमा पक्राउ गर्ने सरकारका गतिविधिले मुलुक कम्युनिस्ट अधिनायकवादतिर लैजाने प्रयास भइरहेको उनको आरोप थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.