|

रामेछाप : जिल्लाको सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप बजार जोड्ने १७ किलोमिटर सडक खण्ड कालोपत्रे भएको ५ महिनामै फुटेर चिराचिरा भएको छ। एसियाली विकास बैंकको आर्थिक सहायतामा सन २०१७ को फेब्रुअरी महिनासम्म सम्पन्न गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले सो सडक कालोपत्रेको जिम्मा लिएको थियो। 

सम्झौताको समय भन्दा एकवर्ष ढिला गरी सम्पन्न गरिएको सो सडक पाँच महिना नवित्दै फुटेर चिराचिरा भएपछि यातायात सञ्चालन गर्न समेत जोखिम भएको छ।मन्थलीदेखि रामेछापसम्म १७ किलोमिटरको बीचमा दर्जन भन्दा बढी ठाउँमा सडक भासिनुका साथै चिरा परेको छ भने अधिकांश ठाउँमा सडकमाथिबाट पहिरो झरेर सडक पुरिएको छ। सडक कालोपत्रे गर्ने क्रममा भित्तो काटेर थुपारिएको माटोमाथि नै कालोपत्रे गरिएको र कालोपत्रे राखेर आवश्यकता अनुसारको कम्प्रेसन नदिएको कारण सडक भासिएको सोही सडकका सुपरभाइजर ध्रुव कार्कीले बताए। कार्कीले भने, ‘सो क्षेत्रको जमिन पनि केही कम्जोर रहेको र कालोपत्रे गर्दा जति कम्प्रेशन दिन पर्ने हो। त्यति कम्प्रेशन नदिएका कारण सडक भासिएको हो।’ 

सडकमा कालोपत्रे राखिसेकपछि भाइब्रेट मेसिनले पेल्नुपर्ने भए पनि आवश्यकताअनुसार नपेलेको स्थानीय हरिकुमार बुढाथोकीको भनाई छ। सडक निर्माण भइरहँदा ठेकेदारले लापरवाही गरेपछि सडक निर्माणमा निगरानी राख्नको लागि स्थानीयले नागरिक निगरानी समिति समेत बनाएका थिए। निर्माणमा ठेकेदारको लापरवाहीलाई नागरिक निगरानी समितिले समेत बेवास्ता गर्दा सडक बिग्रिएको स्थानीय हरिप्रसाद घिमिरेको आरोप छ। सडक निर्माणको क्रममा ठेकेदारले लापरवाही गरेको कुरा पटक-पटक एडिविलाई जानकारी गराउँदा पनि वास्ता नगरेको रामेछाप नगरपालिका-८ का वडा सदस्य सन्तोषकुमार तामाङले गुनासो गरे।

जनप्रतिनिधिको हैसियतले आफूले सम्बन्धित निकायमा पटक-पटक कुरा उठाए पनि सुनुवाई नभएको तामाङको भनाई छ।  मन्थली-रामेछाप सडक १४ करोड ६५ लाख रुपैयाँमा कालोपत्रे गरिएको हो। सो सडक निर्मण भइरहेको बेलामा पनि काम गुणस्तरीय नभएको भनी स्थानीय उपभोक्ताले गुनासो गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.