|

काठमाडौं : वरिष्ठ जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती स्वास्थ्य क्षेत्रमा प्रसिद्ध नाम हो। ६० वर्षीया डा. उप्रेतीले विशेषत: पोषणबारे धेरैलाई सचेत गराइसकेकी छन्। उनले खानेपिन र पोषणसम्बन्धी पुस्तकहरू समेत निकालेकी छन्। पोषणसम्बन्धी जनचेतनाका लागि नेपालका धेरै ग्रामीण क्षेत्र र विद्यालयसम्म पुगेर जानकारी गराउँदै अाएकी छन्। स्वस्थ रहन विशेष गरी बजारिया खानेकुरा (जंकफुड)को प्रयोग कम गर्नुपर्ने उनको जोड छ।

समयसँगै आमनेपालीको दैनिक खानामा पनि परिवर्तन भइरहेको छ। जसका कारण नपालीहरु मोटोपन, मधुमेह, प्रजनन् स्वास्थ्यमा असर पुगेको डा. उप्रेतीको भनाइ छ। सबैलाई खानेकुरा र त्यसबाट पाइने पोषणबारे सचेत गराउँदै अाएकी डा. उप्रेतीको दैनिक जीवनशैली कसरी चलेको छ भन्नेबारे थाहाखबरकर्मी सविना खनालले गरेको कुराकानीका अाधारमा तयार पारिएको सामग्री प्रस्तुत छ।

परम्परागत खानामा रुची

बजारीया खानेकुराभन्दा परम्परागत, मौलिक खाना म धरै खाने गर्छु। जंकफुड त मेरो घरमा विरलै आउँछ। घरबाहिर खानेकुरा खानै परे पनि बजारीया खानेकुरा खाँदिन। मैले घरबाहिर धेरै खाने भनेको लेमन टी हो, जुन जहाँ पनि सजिलै पाउन सकिन्छ।

प्राय: म बिहान साढे ५ बजेसम्ममा उठिसकेकी हुन्छु। उठ्ने बित्तिकै लेमन टी र घरमै बनाएर राखेको आलस र भाङको एक चम्सा सातु, पुदिना, तुलसीको पात, गुलाफको पात खान्छु। यसपछि योग गर्छु। सूर्य नमस्कार, हलासनजस्ता योगका १५ वटा जति आसन दैनिक गर्ने गर्छु। करिब डेढ घन्टासम्म योग गरेपछि सवा ७ बजे मेरो ब्रेक फास्ट खाने समय हुन्छ।

बेक्रफास्टमा बासी भात

योग गरिसकेपछि मलाई निकै भोक लाग्छ। यसले गर्दा हरेक बिहान ब्रेकफास्ट अनिवार्य रूपमा खाने बानी छ। ब्रेकफास्टमा प्राय: बासी भात भुटेर खाने गर्छु। बासी भात नभएको बेला गहुँको बासी रोटी तथा दही-चिउरा खान्छु। यसका साथै थोरै भिजाएको चना तथा भिजाएको मेथी अनिवार्य खान्छु।

१२ बजे बिहानको खाना

अहिले प्रत्यक्ष रूपमा कुनै पनि संस्थामा जागिरको रूपमा काम गर्ने गरेको छैन। तर विभिन्न संस्थामा आवद्ध भएर पोषणसम्बन्धी कार्यक्रमहरूमा सहभागी हुने गर्छु। त्यसको अलावा पुस्तक तथा लेख लेख्ने गर्छु। बाहिर कार्यक्रमहरूमा जानु छ भने म ९ बजे घरबाट निस्किसकेकी हुन्छु। नभए  ब्रेकफास्ट खाएपछि पढ्ने काम हुन्छ। दिउँसो १२ बजे बिहानको खाना खान्छु। खानामा मोही, टुसा उमारेको गेडागुडी, तोफु र सागसब्जी कहिल्यै टुट्दैन। मैले माछामासु खान छोडेको २२ वर्ष भइसक्यो।

घरबाहिर पनि घरकै खानेकुरा

दिउँसो घरबाहिर जाँदा बाहिरको खाजा कहिल्यै खाँदिनँ। कार्यक्रमहरूमा दिएको खाजाको प्याकेट त्यहीँ छोड्छु। धेरै भोक लाग्यो भने दही-चिउरा पाइने ठाउँमा गएर दही-चिरा खान्छु। लामो समयसम्म घरबाहिर जानुपरे आफैँले खाने कुरा लिएर जान्छु। चिउरा, गहुँको रोटी, चना लिएर जान्छु र दही किनेर दहीसँग खान्छु। बाहिर जाँदा पनि म होटलभन्दा मानिसहरूकै घरमा बस्छु र घरमै बनाएको सादा खाना, उसिनेको आलु, मोही खान्छु।

बेलुकीको खाना खाँदिन

म बेलुकीको खाना खाँदिन। तर लेमन टी, कागती पानीमा हालेर सातु, दही-चिउरा, उसिनेको आलु खाने गर्छु। बिहान योग गर्न नमिलेको दिन बेलुकी गर्छु। घरमा हुँदा प्राय: बेलुकी एकछिन पढ्ने लेख्ने गर्छु। साढे ८-९ बजे सुतिसकेकी हुन्छु।

अनुहारमा सधैँ तोरीको तेल

म खाने कुरा मात्र होइन, शरीरमा लाउने बजारमा पाइने क्रिमहरू पनि लगाउनु हुँदैन भन्छु। बजारमा पाइने विभिन्न किसिमका क्रिमहरूमा हुने केमिकलहरूले हाम्रो शरीरलाई झनै असर गर्छन्। त्यसैले म यस्ता क्रिमहरूभन्दा अनुहारमा तोरी तथा नरिवल तेल दैनिक लगाउँछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.