|

दमक (झापा) : झापाको गौरादह नगरपालिकाको परिचयनै यहाँका दहहरू हुन्। धेरै दहहरूको भएकाले यस क्षेत्रको नाम गौरादह रहन गएको भनाइ छ। तर, यस क्षेत्रको परिचय बोकेको दह अर्थात् पोखरीहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।

स्थानीय तहको निर्वाचनका बेला सबै राजनीतिक दलहरूले गौरादहका ऐतिहासिक पोखरी संरक्षण र व्यवस्थापनको नारा उचालेका थिए। तर, स्थानीय सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि झापाको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको गौरादह नगरपालिका–१ स्थित गौरादहमा रहेका ऐतिहासिक पोखरी संरक्षणको काम अघि बढ्न सेकेको छैन।

गत आर्थिक वर्ष नगरपालिकाले पोखरी सरक्षणका लागि एक करेडा रुपैयाँ विनियोजन गरेको छ। तर, काम अघि नबढ्दा उक्त रकम खर्च हुन सकेन। पोखरी व्यवस्थापन तथा पर्यटकीय स्थल निर्माण समितिका अध्यक्ष समेत रहेका वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्कीका अनुसार पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थलसहितका फूलबारी निर्माण गर्ने, डुंगा चलाउने, बालबाटिका, जातीय संग्रहालय र वनभोज स्थल बनाइने गुरुयोजनामा उल्लेख गरिए पनि कुनै काम भएन।

जस लिन होडबाजी

आर्थिक वर्ष २०७०/०७१ मा सर्वदलीय भेलाबाट गौरादहका ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीय स्थल निर्माण समिति हेमन्त कार्कीको अध्यक्षतामा गठन भएको थियो। समितिले तीन करोड ८५ लाख १०० रुपैयाँ बजेटको गुरुयोजना तयार गरिएको थियो। उक्त गुरु योजना स्थानीय मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश समेत गरिएका अध्यक्ष कार्की बताए। योजनाअनुसार २५ लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयबाट प्राप्त भएको थियो। 

तर आफूलाई जानकारी नदिई नगरपालिकाको संयन्त्रले यादवराज सेढाइको अध्यक्षतामा अर्को समिति निर्माण भएको कार्कीले गुनासो गरे। सेढाइले पोखरी क्षेत्रमा रहेको अतिक्रमण हटाएर आर्थिक वर्ष २०७२/०७३ मा आफ्नो नेतृत्वमा दुई चरणमा पोखरी संरक्षणको काम गरेको बताए। पहिलो चरणमा ७२ मिटर र ५३ मिटर घेराबार १८ लाख रुपैयाँ र दोस्रो चरणमा ३८ लाख ७४ हजार रुपैयाँमा ३४० मिटर घेराबार गरेको उनको भनाइ छ। तर, वडा कार्यालयले सेढाइलाई हटाएर अर्को समिति निर्माण गरेको छ। यस कार्यालाई नियम विपरीत रहेको सेढाइको दावी छ। 

नगरपालिकाका प्रवक्ता समेत रहेको वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारी पोखरीको व्यवस्थापन र संरक्षणमा जनभावना अनुसार काम गरिरहेको दावी गर्छन्। पोखरीको पूर्ण व्यवस्थापनमा एक करोड रुपैयाँले पनि नपुग्ने समाज विकास समितिका संयोजक मणिन्द्र कार्कीले बताए। 

सहमतिमानै काम हुन्छ : प्रमुख साह

पोखरी संरक्षण र व्यवस्थापनमा राजनीतिक सहमति नभएकाले नै काम नभएको नगर प्रमुख रोहितकुमार साह बताउँछन्। तर, काम हुने सम्भावना भने यथावत रहेको उनको भनाइ छ। साहले भने, ‘यसका लागि राजनीतिक सहमति जुटाउन पहल गरिरहेको छु।’

साहले पोखरी संरक्षण र पर्यटन प्रवर्द्धन आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताएका छन्। यहाँका ऐतिहासिक पोखरीहरुको प्रवर्द्धनका लागि प्रदेश सरकारसँग साझेदारीमा परियोजना संचालनको लक्ष्य रहेको उनको दावी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.