८३ प्रतिशत पर्यटकद्वारा सौराहाको बाटो प्रयोग

|

चितवन : चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको पहिलो रोजाइमा सौराहा पर्ने गरेको छ। नेपालकै तेस्रो पर्यटकिय गन्तव्य र विश्वमा समेत परिचित भएकाले वन्यजन्तु अवलोकनका लागि आएका पर्यटकहरू सौराहा हुँदै निकुञ्ज प्रवेश गर्ने गरेका छन्।

गएको एक वर्षमा निकुञ्ज घुम्ने कुल पर्यटक मध्ये ८३.३७ प्रतिशत पर्यटक सौराहा हुँदै जानुले पनि तथ्य प्रष्टिन्छ। निकुञ्ज प्रवेशका लागि विभिन्न नौवटा नाका छ। त्यसमध्ये निकुञ्जको पूर्वी सेक्टरका रूपमा परिचित सौराहा प्रवेशद्वारबाट अधिकांश पर्यटक निकुञ्ज प्रवेश गरी घुम्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए।

दुर्लभ एकसिंगे गैंडाको प्राकृतिक वासस्थानका हिसाबले विश्वमै दोस्रो महत्त्वपूर्ण संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज हो। निकुञ्ज घुम्न आएका अधिकांश पर्यटक सौराहा टेकेर जानुमा मुख्यगरी यहाँको आरामदायी होटल सहतिका व्यवस्थित पर्यटकीय गतिविधि नै हो।

चितवन निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ मा निकुञ्ज घुम्ने कुल एक लाख ५२ हजार ६७१ पर्यटक मध्ये एक लाख २७ हजार २९५ पर्यटक सौराहा हुँदै निकुञ्ज घुमेका छन्। यो कुल पर्यटक मध्ये ८३.३७ प्रतिशत हो।

अन्य सातवटा नाका प्रयोग गरेर जम्मा २५ हजार ३७३ पर्यटकले निकुञ्ज घुमेको तथ्यंक रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्। निकुञ्ज प्रवेशका लागि सौराहासहित पश्चिम चितवनको घटगाई, निकुञ्जको मुख्य कार्यालय कसरा, देवनगर, माडीस्थित वनकट्ठा, पश्चिम मेघौलीको भिम्ले, नवलपरासीको अमलटारी तथा लौखानी र कुवौली प्रवेशद्वार छन्।

निकुञ्जले दिएको तथ्यंकअनुसार गएको एक वर्षमा सौराहा नाकाबाट एक लाख २७ हजार २९५, घटगाई प्रवेशद्वारबाट २१२, कसरा र देवनगर प्रवेशद्वारबाट ११ हजार ९११, वनकट्ठा प्रवेशद्वारबाट एक हजार ३४, भिम्ले पोष्टबाट ८ हजार २६५, लौखानीबाट ५००, अमलटारीबाट दुई हजार ८६४ र कुबौली प्रवेशद्वारबाट  १२१ जना पर्यटकले निकुञ्ज प्रवेश गरी घुमेका छन्।

यसरी घुम्ने पर्यटकमा सबैभन्दा बढी तेस्रो मुलुकबाट आएका छन्। तेस्रो मुलुकबाट ९८ हजार ९२५ पर्यटकले निकुञ्ज घुमेका छन्। यस्तै सार्क मुलुकबाट आएका १९ हजार ६९६ र ३४ हजार ६५० नेपाली पर्यटकले निकुञ्ज घुमेको सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अर्यालले बताए। जसमा ७० हजार ८८१ जना महिला र ८१ हजार ७९० जना पुरुष पर्यटक आएका छन्। ति पर्यटकबाट निकुञ्जमा कुल रु २४ करोड ८३ लाख राजस्व संकलन भएको छ।

सौराहा आकर्षक पर्यटकिय स्थलको रूपमा परिचित भएको र सबै सेवा सुविधा पूर्ण भएकाले पर्यटकहरू सौराहा हुँदै निकुञ्ज घुम्ने गरेको क्षेत्रीय होटल संघ सौराहा चितवनका महासचिव राममणि खनाल बताउँछन्। उनका अनुसार सौराहामा हात्ती, जीप, डुंगा सफारीको व्यवस्था छ।

पथप्रदर्शकहरूले पर्यटकलाई पैदलै पनि जंगलवार्क गराएर बाघ गैंडाहरू देखाउन निकुञ्जमा लैजान्छन्। सौराहामा आदिवासि थारू समुदायको मौलिक रहनसहन, कला र संस्कृति समेत देख्न पाइन्छ। मनोरम दृष्यावलोकन तथा सौराहादेखि कसरा हुँदै निकुञ्ज पश्चिम टाईगर टप्ससम्म पर्यटकहरू जीप सफारीमा रमाउन पाउने भएकाले पर्यटकको पहिलो रोजाई सौराहा हुने गरेको एकजना पर्यटन व्यवसायी तथा चरा विज्ञ टीका गिरीले उल्लेख गरे। सौराहा निकुञ्ज स्थापनासँगसँगै पर्यटक विकास भएको क्षेत्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.