|

काठमाडौं : सर्लाही जिल्लाको राजघाट भन्ने सानो गाउँको एउटा सामान्य किसानको छोरो, जसलाई बच्चैदेखि नेपाल सेनामा जागिर खाने रहर जाग्छ। देश र जनतालाई सेवा गर्ने धोको कसैको उक्साहट होइन, त्यो त आफ्नै अन्तरआत्माबाट आउने हो। उसले २०५६ सालतिर नेपाली सेनामा जागिर खान्छ। घरमा छोरो नेपाली सेनामा भर्ती भएको खुसीमा आमाबाले गाउँभरिकालाई जम्मा गरेर भोज खुवाउँछन्। बाबुआमालाई लाग्छ, अब उनीहरूका दु:खका दिन गए। हातले कोदालो र शरीरले झरी वर्षा र तातो घाम सहनुपर्दैन।

देशमा जनयुद्धको ज्वारभाटा सल्किँदै थियो। इटहरीबाट सिपाहीमा भर्ना भएको ऊ भक्तपुरको नयाँ गोरख गणमा सिपाहीको कोटा भर्न पुग्यो। विस्तारै ऊ काभ्रे, रुकुम, रोल्पा पुग्छ। देशमा जनयुद्धको राप बढ्दै जान्छ। युद्धमा सामेल हुन्छ। कसोकसो हरेक मुठभेडमा उसलाई केही भएको हुँदैन। सरकार ऊलगायतको टिमलाई नगरकोटमा सुरक्षारथ तैनाथ गर्न उर्दी जारी गर्छ। सैनिकहरूको तत्कालीन माओवादी छापामारहरूसँग मुठभेड हुन्छ २०५९ मंसिर १३ मा। त्यसको भोलिपल्ट अघिल्लो दिनको मुठभेडका क्रममा क्षत विक्षत भएको भौतिक संरचना मर्मत गर्दै जाँदा करेन्ट लागेर उसका दुवै हात गुम्छन्। बाआमाको सपनामा केही वर्षमा नै तुसारो लाग्छ। देशको सेवा गर्छु भनेर युद्धको मैदानमा पुगेको एउटा छोरोले दुवै हात गुमाउँछ र सुरु हुन्छ कहालीलाग्दो जीवन संघर्ष। 

यो  कथा लामो सघर्षपछि संगीत क्षेत्रमा पाएको सफलताको हो। यो जनयुद्धताका २१ वर्षको उमेरमा दुवै हात गुमाएका बहालवाला नेपाली सेनाका एक जवानको कथा हो। सारमा यो कथा टीका बम्जनको जिन्दगीको हो।

मुस्कुराइरहने कालो वर्णको त्यो अनुहार देख्दा लाग्छ, उसलाई भगवानले खुसीबाहेक केही दिएको छैन। बम्जनले वर्तमान दिनचर्याको कुरा सुरु गर्नुअघि उनको जिन्दगीमा घटेको जिन्दगीकै नमीठो घटना सम्झिए। बच्चामा सबैले सोध्ने प्रश्न थियो, 'भविष्यमा के हुन्छस्?' बम्जनको एउटै जवाफ हुन्थ्यो, 'सेना।' उनी भन्छन्, 'मलाई सेना बन्न बच्चैदेखि रहर थियो। मलाई त्यो सैनिक पोसाकमा खै किन यति भाँती लगाव भयो।'

स्कुल जीवन छोडेर ११ कक्षा पढ्ने बेला उनी नेपाली सेनामा भर्ती भए। भर्ती भएर पहिलोपल्ट सैनिक पोसाक लगाउँदाको त्यो दिन सम्झँदै उनी भन्छन्, 'सुरुवाती दिनमा मलाई यो पोसाक छाड्न मन नै लाग्दैनथ्यो। त्यसकै सिरानी हालेर सुत्ने रहर लाग्थ्यो।' जनयुद्धको गरमागर्मीले हरेक नेपालीको मनमा अब के हुने हो भन्ने मात्र चिन्ता हुन्थ्यो। बन्दुकको ट्रिगर चलाउँदा उनी सोच्थे, कसैलाई मार्न नपरोस्। जो मरे पनि आखिर नेपाल आमाकै काख रित्तिने हो। हाम्रा दाजुभाइ नै मर्ने हुन्। हाम्रा सानासाना बाबुनानीहरू टुहुरा हुने हुन्। हाम्रा चेलीहरूको सिउँदो पुछिने हो। 'तर युद्धको सौन्दर्य कि मर्नु नै हो कि मार्नु नै हो रहेछ', उनी भन्छन्। यही कारण उनी कयौँ मुठभेडमा सहभागी बने। एउटा पोसाकधारी सेनाको अन्तरआत्मामा सधैँ एकै प्रकार कुरो खेलिरहन्थ्यो, 'कति दिनसम्म चल्छ भाइभाइ लडेर? कहाँ पुग्छौँ हामी? दुश्मनी बढाउनुको लक्ष्य के हो?' यस्तै कुराहरू मनमा खेलाउँदै युद्धको धर्मअनुसार बन्दुकको ट्रिगर दबाउँथे उनी- भटटटट।

सेनामा जागिर खाएको तीन वर्षपछि पुसको एक साँझ इन्टेलिजेन्स ब्युरोबाट खबर आउँछ- 'केही अनिष्ट हुँदै छ, सतर्क रहनू।' बम्जनलगायत सेनाहरू सतर्क रहेर नगरकोटको सुरक्षामा खटिएका थिए। एकाएक बम र गोलीको आवाज आउन थाल्छ। सुरु हुन्छ दोहोरो फायरिङ। कुनै मानवीय क्षति नभए पनि भौतिक संरचना ध्वस्त हुन्छन्। ध्वस्त भौतिक संरचना जस्तै छियाछिया मन बोकेर बम्जनलगायतका सेनाहरू संरचना मर्मत गर्नतिर लाग्छन्। त्यही समयमा करेन्ट लागेर उनी बेहोस बन्छन्। आफूलाई  हस्पिटलमा पाउँछन्।

उनी हस्पिटलको दिन सम्झँदै भन्छन्, 'लाग्थ्यो, म मरिसकेको छु, म अर्कै लोकमा छु तर मरेको रहेनछु। मेरो एउटा हात काटिएको रहेछ, अर्को हात काट्ने क्रममा रहेछन् डाक्टरहरू', उनी भन्छन्, 'मर्न तयार भएर युद्धको मैदानमा हिँडेको मलाई आफ्ना हातहरू काट्दा त्यति दु:ख लागेन जति दु:ख अब आफ्नो परिवारले पाउने दु:ख पीडा सम्झेर लाग्यो।'

अस्पतालको शैय्यामा आफ्नो अबको जिन्दगी सम्झँदा भक्कानो छुट्न थाल्यो उनको। परिवारका सदस्यमा परेको पीडाको त्यो हुण्डरी उनले देख्न सकेनन्। जिन्दगीदेखि विरक्ती सुरु भयो। सबै ठाउँमा अँध्यारो मात्र। उनलाई लाग्यो, यस्तो जुनी बाँच्नुभन्दा मर्नु उचित छ। तर मर्नु त्यति सजिलो पनि छैन। मर्ने कुरा उनको बसको कुरा थिएन। मर्नका लागि अनेक बहाना खोजे पनि कसैगरी उनले मृत्युवरण गर्न सकेनन्।

जिउन सिकाउने हात

अस्पतालको शैय्यामा बसेर आफ्नो लाचार जिन्दगी देख्दा उनलाई लाग्थ्यो, बरु मर्न पाए पनि हुने। उनले मर्नका लागि प्रयास नगरेका होइनन् तर मर्न त्यति सजिलो भएन। त्यस बखत उनले साहित्यकार झमक घिमिरेको जिन्दगी पढे। शारीरिक अपांगता भएका सुदर्शन थापाको जिन्दगी पढे। उनीहरूको साहस र आफूप्रति विश्वासले उनलाई थप राहत महसुस गरायो। झमक घिमिरेले खुट्टाले लेखेको थाहा पाएपछि उनले आफ्नो मुखमा कलम समातेर आफ्नो नाम लेख्न थाले। हरेक दिनको असफलताका बाबजुद पनि उनले लेख्न छाडेनन्। दश दिनको दिनमा कापीको पानामा आफ्नो नाम लेख्न सफल भए। उनी त्यो दिन सम्झन्छन्, 'म त्यति धेरै आफ्ना हात गुमाउँदाको दिन पनि रोएको थिइनँ होला, जति यस पटक रोएँ। मलाई रुँदा पनि त्यसबेला खुबै आनन्द आएको थियो किनकि त्यो खुसीको आँसु थियो।'

बच्चैदेखि गीत संगीतमा रुचि थियो उनको। विस्तारै आफ्ना मनमा आएका उतारचढावका एक एक पत्र मुखको सहायतामा कापीमा लेख्न थाले। दु:ख कहन पाइयो भने विस्तारै मन हलुका हुँदै जाने रहेछ भन्ने उनलाई लाग्यो। आत्मामा ऊर्जा थपियो। हात गुम्यो त के भो र! सपना जिउँदा छन्। मनभित्र गुम्सिएका अनेकौँ दु:ख, पीर, अभाव र खुसीका पल बाँकी नै छन्।

टीकाका गीतहरू 

अस्पतालबाट निस्केपछि उनले संगीत सिके। दीपज्योति कला केन्द्र, सरस्वती कला केन्द्रमा केही वर्ष सिकेपछि उनी गन्धर्व संगीत विद्यालयमा चन्दनकुमार श्रेष्ठको शरणमा पुगे। उनी भन्छन्, 'बाँच्नु त थियो नै, त्यसमाथि मलाई अरूको पीरको भारी भएर बाँच्नु थिएन। यस कारण मैले सांगीतिक यात्रामा आफ्ना पाइला अगाडि बढाएँ।'

उनले पहिलो एल्बम 'कस्तो भाग्य' ल्याएका थिए, जहाँ आठवटा गीत थिए। यसमा बम्जनको एकल शब्द, चन्द्रकुमार दोङको संगीत र नोङ्बु शेर्पाको एरेन्जमा गायक गायिका ईश्वर अमात्य, जगदीश समाल, कर्णदास, त्रिलोक रानालगायतको स्वर रहेको छ। उक्त एल्बम २०६० सालमा निस्किएको हो। दर्शककको मायाले उनलाई थप सांगीतिक लाइनमा आउन प्रेरित गर्‍यो। २०६२/०६३ मा उनले आफ्नै शब्द र संगीतमा दोस्रो एल्बम 'माया' बजारमा ल्याए। उक्त एल्बमभित्र रहेको  'बार तिम्ले बार काँडे तारले बार' बोलको अन्जु पन्तको स्वरमा रहेको गीत अत्यधिक मात्रामा श्रोताले मनपराइदिए। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। आजका मितिसम्म आउँदा उनका लोकदोहोरी, पुर्वेली, पश्चिमेली, तामाङ सेलो, चलचित्रका गीत, पप, शास्त्रीय, देउडालगायत ७०० गीत आइसकेका छन्।

सृष्टि नै बम्जनको सृष्टिकर्ता

एउटा सफल व्यक्तिको पछाडि कयौँ हातहरूको साथ, सहयोग, आड र आशीर्वाद रहेको हुन्छ तर उनीहरू सधैँ पर्दा पछाडि नै हुन्छन्। उनीहरूको कहिल्यै चर्चा हुँदैन तर असली हिरो उनै हुन्, जो पर्दा पछाडि आफ्नो कर्ममा रमाउँछन्। बम्जनको सफलताको पछाडि पनि कयौँ हातहरू छन्। उनी रुँदा हाँस्न सिकाउने उनकी श्रीमती (सृष्टि तामाङ) उनको पहिलो अभिभावक बनिन्। उनको जिन्दगीमा सफलताले जुन उचाइ नापेको छ, त्यसको मुख्य श्रेय उनकी श्रीमतीलाई दिन्छन् उनी।बम्जन भन्छन्, 'म त जिन्दगीदेखि हारेको मान्छे तर यस हारको दलदलबाट उठाउने सृष्टि मेरी श्रीमती मात्र होइन, मेरो जीवनकी सृष्टिकर्ता हुन्। उनले कहिल्यै मबाट अपेक्षा राखिनन्, सधैँ मेरा पाइलाहरूमा मुस्कानसहित साथ मात्र दिइन्।'  

काठमाडौंको सडकमा टेम्पो चढ्दा तिर्ने भाडा हुँदैनथ्यो, न त लगाउने राम्रा कपडा। पैदल हिँड्दा तुना फाटेका चप्पल लगाउँदाको साक्षी हुन् उनकी श्रीमती। यो शहरमा भोकभोकै हिँडेका दिनमा आत्मग्लानिले विक्षिप्त मन सम्हालिदिने पनि उनकी श्रीमती नै थिइन्। संगीत सिक्न गुरुलाई चढाउने भेटी होस् वा सिक्न चाहिने हार्मोनियम किन्न, श्रीमतीले हाँसीहाँसी हार बेचिदिइन्, जसको फलस्वरूप बम्जनको हारको शृंखला बन्द भयो। यस्तै, उनको सफलताको पछाडि अर्को हात नेपाली सेनाको छ। 'नेपाली सेनाको यो साथको भारा तिर्न त म यो जुनीमा सक्दिनँ, अर्को जुनी सग्ला हातले नेपाली सेना भएर देशको सेवा गर्नेछु।' उनले बोल्दै गर्दा उनको आँखाको डिल भरियो। उनले थपिहाले, 'आँखामा धुलो परेछ।'

विश्व कीर्तिमानमा उनको नाम

हार्मोनियमको नोट थिच्दा बगेको रगत र मनको कुनै एक कुनामा परेको नमीठो चोट उनको जिन्दगीको सबैभन्दा ठूलो पाठशाला बन्यो। समय, परिस्थिति र अभावसँग लड्दैलड्दै उनी आज हरेक युवाका लागि उदाहरण बनेका छन्। संगीत सिर्जना गर्ने क्रममा उनले यस्‍ता सफलताका स्वादहरू चाखे, जुन कुरा उनी स्वयंले कहिल्यै न आँकलन गर्न सक्थे, न कल्पना नै। तर सफलताको मुख्य जड हिम्मत नहार्नु रहेछ भन्ने उनले बुझे। उनले आजसम्म बुझेको पाठ नै यही हो।

उनले संगीत क्षेत्रबाट तीनवटा विश्व कीर्तिमान कायम गरेका छन्। मुखको सहरामा सबैभन्दा धेरै गीत लेख्ने, संगीत गर्ने र कम्पोज गर्ने व्यक्तिको रेकर्ड उनकै नाममा सूचीकृत छ- त्यो पनि एकै दिन २०६९ सालमा। 'सबै समयको कुरा रहेछ। कहिले जिन्दगी काँडा नै काँडाको थुप्रो लाग्छ, कहिलेकाहीँ फूलको', उनले लामो सास फेर्दै कुराको बिट मारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.