फरार अभियुक्त पनि बने राज्यमन्त्री!

|

जनकपुरधाम : प्रदेश २ मा तीन राज्यमन्त्री थपिएको छ। मुख्यमन्त्री लालबाबु राउतले बुधबार तीन राज्यमन्त्रीलाई शपथ गराएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो। तेस्रोपटक भएको मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय जनता पार्टी नेपालले सिफारिस गरेका ३ जनालाई राज्यमन्त्री पदमा शपथ खुवाइएको हो।

फोरम नेपालको नेतृत्वमा बनेको सरकारको सत्ता गठबन्धन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को तर्फबाट राज्यमन्त्री पदमा भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झा, सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्मा र उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश मण्डलले पद तथा गोपनियताको शपथ लिएका हुन्।

अभिराम शर्मा मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा भएको प्रहरी सहायक निरीक्षक थमन विक हत्या काण्डमा विवादमा परेका थिए। उनको नाम प्रहरीको फरार अभियुक्त सूचीमा छ। मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका प्रहरी हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गरेको अपराधमा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो।  

भौतिक पूर्वाधार राज्यमन्त्री शपथ डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन्। यसैगरी सुरेश मण्डल राजपाका केन्द्रीय सदस्य हुन्।

यसअघि गत फाल्गुन ३ गते संघीय समाजवादी फोरमको तर्फबाट मुख्यमन्त्रीमा लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्रीमा विजय यादव र राजपाबाटबाट भौतिक पूर्वाधार मन्त्रीमा जितेन्द्र सोनलले शपथ लिएका थिए। फागुन १६ गते प्रदेश २ को मन्त्रिमण्डल दोस्रोपटक विस्तारमा संघीय समाजवादी फोरमबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमा शैलेन्द्र साहले शपथ लिएका थिए।

यसैगरी राजपाबाट सामाजिक विकास मन्त्रीमा नवलकिशोर साह र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा रामनरेश राय र फोरमबाटै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा योगेन्द्र राय यादव र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा उषा यादवले शपथ लिएकी थिइन्।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नेपालीमा शपथ खुवाउँदा डिम्पल झाले हिन्दी र अभिराम शर्मा र सुरेश मण्डलले मैथिली भाषामा पद तथा गोपिनयताको शपथग्रहण गरेका थिए। सो अवसरमा प्रदेश प्रमुख रत्नेश्वसर लाल कायस्थ, सभामुख सरोज कुमार यादव, मन्त्रीद्वय विजय यादव र जितेन्द्र सोनल, रामनरेश सिंहका साथै विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.