बाबुबाजेको पेसा गर्न पाएकोमा सन्तुष्टि
बाबुबाजेको पेसा गर्न पाएकोमा सन्तुष्टि
गोरखा : चर्चित लोकदोहोरी गायक पशुपति शर्माको एउटा लोकप्रिय गीत छ,
‘मलाई अमेरिका यै,
मलाई जापान पनि यै,
मलाई बेलायत नि यै…
नेपाली पाखा पखेराहरूमा पछिल्लो समय निकै गुन्जने गीत हो यो। विदेशी भूमिमा होइन नेपाली भूमिमै केही गर्न सकिन्छ भन्ने सन्देश गीतले दिएजस्तै उदाहरणीय पात्र बनेका छन् गोरखाका ४८ वर्षका नेत्रबहादुर विश्वकर्मा।
शुलिकोट गाउँपालिकास्थित घुन्चोक सौरपानीका नेत्रबहादुर बिहानदेखि साँझसम्म आरनमा हुन्छन्। फलाम र तामा गालेर विभिन्न भाँडावर्तनको आकार दिनु उनको मुख्य काम हो। आफ्ना बाउ बाजेले गरेको पेसा सम्हालेकोमा उनलाई कत्ति पछुतो छैन।
‘आरन चलाएरै खान लाउन पुगेकै छ’ नेत्रबहादुर भन्छन्, ‘केटाकेटी पढाउन, अरू खर्चपर्च पनि यहीँबाट आउने आम्दानीले पुग्छ।’
नेत्रबहादुरलाई उनका अन्य तीन भाइ मंगलबहादुर, टीकाराम र दीपकले सघाउने गरेका छन्। महिनामा ५०/६० हजार रुपैयाँ कमाई गरेर दाजु भाइलाई दिएर आफूले पनि ३० हजार रुपैयाँको हाराहारी कमाइ गर्ने उनी बताउँछन्। १३ वर्षको हुँदादेखि निरन्तर आरनमा काम गरिरहेका उनी यसैमा खुसी छन्।
अहिले तामाको भाँडाको माग कम भए पनि उनकोमा धेरै तामाकै काम हुने गरेको छ। ‘तामाको भाँडा माग गर्नेहरू पहिलेजस्तो धेरै छैनन्’ उनी भन्छन् ‘तर, हाम्रोमा अरूको तुलनामा तामाकै काम धेरै हुन्छ।’
गाग्री, ताई, ताउली, कुँडेलगायतका तामाको भाँडा उनको आरनमा बन्ने गरेको छ। तामाको भाँडा बिक्री गर्न उनीहरू गोरखाका विभिन्न गाउँहरू, भच्चेक, घ्याच्चोक, सिम्जुङ, मुच्चोक हुँदै लम्जुङको दूधपोखरी गाउँपालिकाका विभिन्न गाउँहरूमा पनि पुग्ने गरेको सुनाए। पहिले सामान्य टहरोमा आरन चलाएका नेत्रबहादुर अहिले फलामले बनेको, जस्तापाताले छाएको ट्रस्ट सहयोगमा पाएका छन्।
‘पहिले स्याउलाले छाएको कटेरोमा आरन चलाउँदै आएका थियौँ। अहिले त गज्जब भएको छ नी। आगलागी हुने डर पनि छैन। काम गर्न पनि सजिलो भएको छ। काम गर्न ठाउँ नै सजिलो भएपछि आम्दानी पनि बढ्यो।’
उनलाई आरन राख्ने ट्रस्ट बनाउन गोरेटो गोरखा र अक्सफामले सहयोग गरेको हो। ट्रस्ट बनाउने डेढ लाख रुपैयाँसँगै ब्यवसाय व्यवस्थापनका पनि तालिम दिइएको गोरेटो गोरखाका कार्यकारी निर्देशक पवनरमण खनालले जानकारी दिए।
पहिले बालीमा काम गर्ने नेत्रबहादुर अहिले ज्यालामा काम गर्छन्। ‘पहिले वालीमा काम गर्थ्यौं। त्यसो गर्दा कहिलेकाहीँ काम गर्यो गाली खाँदै बाली भर्नुपर्ने त्यै भएर अहिले बाली छोड्दै छौँ। करिब १०० घर बालीमा काम गर्थ्यौं अहिले १० घर जति मात्रै छन् र सबै ज्यालामै गर्छौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।