विचार

राजनीतिमा उत्तरदायित्व र नैतिकता
SHARES

साउन १०, २०७५

    भरखरै नेपालका कानुनमन्त्री शेरबहादुर तामाङले वितण्डाका कारण, उनले बोलेको वाक्य मैले पनि पढेको छु, मन्त्री पदबाट राजीनामा दिए। नैतिकताका यस्ता मापदण्ड खोज्न हामीले विदेश धाइरहनु पनि पर्दैन। नेपालमै सिंहदरबार आगलागी भएपछि कीर्तिनिधि विष्टले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उतिबेला राजा वीरेन्द्रले ‘तिम्रो गल्तीले आगो लागेको होइन’ भन्दा पनि नैतिकताका कारण आफू पदमा बसिरहन नहुने तर्क दिएका थिए। दशरथ रंगशालाको भागदौडको जिम्मेवारी लिँदै त्यतिबेलाका मन्त्री केशरबहादुर विष्टले पनि राजीनामा दिएका थिए। बहुदलीय व्यवस्थामा पनि सचिव नियुक्तिमा प्रधानमन्त्रीसँग राय बाझेको हुनाले बलदेव मजगैयाँले जलस्रोत मन्त्रीबाट राजीनामा दिएका थिए।

    यो वैयक्तिक नैतिकताको उदाहरण कुनै राजनीतिसँग जोडिँदैन। यो व्यक्तिसँग जोडिने कुरा हो। पंचायतका मन्त्री केशरबहादुर विष्ट एउटा व्यक्ति हुन्। त्यही पंचायतको डोको बोकेका कमल थापा मन्त्रीको गाडीमा संसद छिरे, आफ्नै सरकारका विपक्षमा मतदान गरे र त्यही गाडीमा निवास फर्किए, आफैँलाई ढाल्ने प्रधानमन्त्रीको मन्त्री भए। बलदेव मजगैयाँको पार्टी पनि नेपाली कांग्रेस हो। त्यही नेपाली कांग्रेसका सभापतिले पछिल्लो चुनावको अकल्पनीय पराजय भएपछि ‘म राजीनामा दिन्नँ’ भनेर लाजमर्दो धम्की दिए।

    गएको साउन ७ गते नेपाली कांग्रेसका दुई नेताको प्रतिक्रिया पढ्न पाइयो। सभापति शेरबहादुर देउवाले भनेछन्– ‘वीपीले कम्युनिस्टसँग संगत नगर्नु, धोखेबाज हुन्छन् भन्नुभएको थियो।’ उता, शेखर कोइरालाले भनेछन्– ‘ओलीजी वीपीको मार्गमा आइदिए राम्रो हुन्थ्यो।’ यी दुईमध्ये को ठीक? आखिर वीपी कोइराला भन्ने मानिस को थिए? किन उनका दुई शिष्यबीच उनको सिंगो व्यक्तित्व विभाजित भयो। किनभने दुवैले वीपी कोइरालाको समग्र व्यक्तित्व चिनेका रहेनछन्। शेखर कोइरालाले वीपी कोइरालाको दर्शनको कुरा गरे। व्यक्तिगत हिसाबमा वीपी समाजवादी हुन्। राष्ट्रवादी पनि हुन्। शेरबहादुरले वीपीको बाह्य चरित्र बुझे। किनभने उनी सधैँ कम्युनिस्ट फोबियाबाट ग्रस्त रहे।

    नेपालमा यस्तो अर्धबुझाइ भएका सयौँ नेता छन्। कार्ल मार्क्सको समाजवाद अधिनायकवादी छ। सबैभन्दा पहिले वीपी कोइरालाबाट भनिएको बुझाइ हो यो। वीपीले लेखेका छन्– ‘समाजवादमा अधिनायकत्व थपिदियो भने त्यो साम्यवाद हुन्छ। साम्यवादबाट अधिनायकत्व झिकिदिए त्यो समाजवाद हुन्छ।’ यो बुझाइ आफैँमा गलत छ तर म त्यो बहसमा अहिले प्रवेश गर्दिनँ। किनभने नेपाली कांग्रेसका अध्ययनशील नेता प्रदीप गिरिले भनेका छन्– ‘मार्क्स कहिल्यै अधिनायकत्वको पक्षमा थिएनन्।’ 

    तर दुःखको कुरो, आफूलाई कार्ल मार्क्सको अनुयायी मान्ने ९० प्रतिशत नेताहरूसँग ‘कार्ल मार्क्स आजीवन स्वतन्त्रताका पक्षधर रहे, उनले कहिल्यै अधिनायकत्वको समर्थन गरेनन्’ भन्ने सत्यको जानकारी छैन। किनभने उनीहरूले स्टालिनको लेनिनवादका आधारहरू पढेर मार्क्सवाद बुझेका हुन् तर लेनिवादका आधारहरू मार्क्सवादको छेउमा पनि उभिँदैनन्।

    प्रत्येक अनसनपछि डा. केसी खुइलिएका मात्र छन्। पटक पटकको अनसनले उनको योग्यता, क्षमता र डाक्टर हुनुको बोध नभएको विषयलाई नांगेझार मात्र पारेको छ। पहिले उनको योग्यताका बारेमा, छात्रवृत्तिमा पढेर त्यसको करार पालन नगरेको विषयमा कहिल्यै कुरो उठेको थिएन।

    यस्तो सही तर गंभीर विषयको अध्ययन गर्न नेपालका कुनै ठूला नेता चाहँदैनन्। त्यसैले नेपालमा सत्य मरेको छ। इमान मरेको छ। 

    यही कुरो गोविन्द केसीकोे अनसनमा पनि लागू हुन्छ। डाक्टर हुनेवित्तिकै सबै मानिस महान् हुँदैनन्। यो सत्यलाई स्वीकार गर्न नसक्ने एउटा विशाल पंक्ति नेपालमा छ। डाक्टर केसीलाई अहिले शेरबहादुर मार्काका कांग्रेसजनले देवत्वकरण गर्न खोजिरहेका छन्। यथार्थमा गोविन्द केसी एक जना सामान्य मानिस हुन्। उनको पछाडि माफिया छन् कि छैनन्, म जान्दिनँ तर उनको शिकार गरेर आफ्नो राजनीतिको दुनो सोझ्याउने कांग्रेस भने डंगुर छन्। उनले छात्रवृत्तिमा पढे कि प्राइभेट कलेजमा पढे, त्यो म जान्दिनँ तर उनले असल डाक्टर हुने कोर्स र असल नागरिक बन्ने सिद्धान्तचाहिँ पढेका रहेनछन्। किनभने असल डाक्टर अस्पतालको बेडमा आमरण अनसन बस्दैन। असल नागरिकले संसदभन्दा माथि मेरै कुरो हुनुपर्छ कहिल्यै भन्दैन।

    डाक्टर केसीको प्रतिरक्षा गर्नेहरूको तर्क पनि सुनेको छु मैले। त्यसको कुनै अर्थ छैन। उनी जत्तिकै सेवाभावमा कहिले एक्लै, कहिले एउटा ठूलो टिमसहित दुःखी गरिब जनताको सेवामा जाने आधा दर्जन डाक्टर मैले भेटेको छु। त्यसैले आमरण अनसनको पुष्टिमा उनका अनुयायीहरूले यस्तो बेइमान तर्क नगरून्। डाक्टर केसी अनसन गर्दागर्दै मरे भने त्यसैबाट सत्ता पल्टाउन सकिन्छ भन्ने शेरबहादुर मार्काका कांग्रेसहरूले सपना नदेखून्। प्रत्येक अनसनपछि डा. केसी खुइलिएका मात्र छन्। पटक पटकको अनसनले उनको योग्यता, क्षमता र डाक्टर हुनुको बोध नभएको विषयलाई नांगेझार मात्र पारेको छ। पहिले उनको योग्यताका बारेमा, छात्रवृत्तिमा पढेर त्यसको करार पालन नगरेको विषयमा कहिल्यै कुरो उठेको थिएन।

    अहिले त उनको हाडजोर्नी विभागको बिजोक अवस्थासमेत फेसबुकमा देखियो। पछिल्लो अनसनमा उनले आफ्नो पेसाका डाक्टर र नर्सबाट समेत खेदाइ खेप्नुपरेको छ। विराटनगरमा केसीको अनसनका कारण एक जना बालकको मृत्यु भएको फोटो फेसबुकमा सार्वजनिक भएको छ। नैतिक चरित्र भएको भए डा. केसीले त्यो बालकको मृत शरीर देख्नेवित्तिकै अनसन तोडेर बालकका आमाबालाई समवेदना दिनुपथ्र्यो। त्यो गलत भए उनका कम्प्युटर मित्रहरूले फोटो फेसबुकमा देखिनेवित्तिकै खण्डन गर्नुपर्थ्यो।

    डाक्टर भनेको सेवा हो। नेपालमा कति मेडिकल कलेज चाहिन्छ भन्ने जिम्मा गाउँगाउँमा गएर उपचार गर्ने डाक्टरको काम होेइन। त्यसको व्यवस्थापन गर्ने जिम्मा सरकारको हो। स्वास्थ्य र शिक्षा मन्त्रालयको हो। आमरण अनसनबाट कहिल्यै समस्याको समाधान हुँदैन। अहिले राजनीतिमा त त्यसको महत्त्व घटिसक्यो भने कुनै पनि व्यावसायिक पेसामा आमरण अनसनले कुनै परिणाम दिँदैन।

    आफ्नो पेसाप्रति इमान्दार हुन नसकेको मान्छे कसैप्रति पनि इमान्दार हुन सक्दैन। म आठ पटक अपरेसन बेडमा सुतेको मानिस हुँ। टाउकाको ब्रेन ट्युमरदेखि फुट्न आँटेको एपेन्डिक्सको अपरेसनको पीडा मलाई थाहा छ। पित्त थैली झिकेर फालेको पर्सिपल्टसम्म म बौलाहा जस्तो कुरा गरिरहन्थेँ रे! सायद अब मेरो शरीरमा फाल्न सकिने कुनै अंग बाँकिरहेका छैनन्। झण्डै दश जना डाक्टरहरूको सहयोगले म अहिलेसम्म बाँचिरहेको छु। त्यसैले म गोविन्द केसीलाई भन्छु– नौटंकी छाडेर आफ्नो पेसाप्रति इमान्दार हुनुहोस्।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]