४२ आन्दोलनकारी पक्राउ

|

चितवन : चितवनको भरतपुर महानगरपालिकामा बुधबार प्रहरी र तीनपांग्रे सवारीका चालकबीच भएको झडपमा परी सुरक्षाकर्मीसहित १९ जना घाइते भएका छन्।

भरतपुर महानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपांग्रे सवारी चलाउन रोक लगाउने निर्णय गरेसँगै आन्दोलनमा उत्रिएका व्यवसायी र चालक तथा प्रहरी बीच बुधबार केन्द्रीय बस टर्मिनल अगाडि पूर्वपश्चिम राजमार्गमा झडप भएको थियो।

सो झडपमा परी प्रहरी निरीक्षक घजेन्द्र कार्कीसहित १५ जना सुरक्षाकर्मी र चारजना आन्दोलनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आन्दोलन उत्छृंखल हुन थालेपछि प्रहरीले १० राउण्ड हवाई फायर र करिव १०० साउण्ड अश्रु ग्याँस प्रहार गर्नुपरेको चितवनका प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले जानकारी दिए। उनका अनुसार जिल्ला प्रशासन कर्यालय नजिकै रहेको प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि त्यहाँ सेन्ट्रीमा रहेको प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्।

यसरी गोली लागेर घाइते हुनेमा नवलपुर गैंडाकोट-४ बस्ने ३० वर्षीय महेन्द्र सुनार रहेको प्रहरीले जनाएको छ। घुँडामुनी गोली लागेका उनको अहिले भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको चितवनका प्रहरी नावय उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। अन्य आन्दोलनकारी र प्रहरीको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

तीन पाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको चितवन प्रहरीले जनाएको छ। झडपका क्रममा आन्दोलनकारीहरूले भरतपुर १० का दिलीप न्यौपानेको ना १६ प ९४०७ नम्बरको मोटरसाइकल जलाएका छन् भने पार्किङ गरिराखेको बा १६ च १९३८ नम्बरको गाडी र ना १ ज ४९७५ नम्बरको म्याजिक भ्यानसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ।

सो क्रममा प्रहरी वीट र प्रहरी चौकीमा समेत क्षति पुगेको जनाइएको छ। दिउँसो १२ बजेतिर तीनपाङ्ग्रे सवारीका चालकले सडकमा इरिक्सा राखेर चक्का जाम गरेका थिए। गत साउन ५ गतेको निर्णयअनुसार भरतपुर महानगरले भरतपुरको मुख्य सडकमा तीनपाँग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै चालक आन्दोलित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.