|

एकै नजरमा माया बस्यो है, लुकीछिपी हेरिदिनाले

त्यो आँखाले ज्यूँदै मार्‍यो है, ओठ टोकी हाँसिदिनाले।

यो गीत २०४० को दशकको निकै चर्चित गीत हो। यो गीत नसुन्ने सायदै होलान्। यसका गायक र संगीतकारका बारेमा जो कोहीले सहजै भन्न सक्छन्। यस गीतका गायक उमेश पाण्डे र संगीतकार शम्भुजीत बाँस्कोटा तर गीतकारका बारेमा भने कमैलाई थाहा छ। यसका गीतकार हुन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता सुनिलबहादुर थापा।

नेपाली संगीतिक क्षेत्रमा गीतकारहरूको पहिचान साह्रै कम हुन्छ। कुनै गीतकारले गरेको राम्रो रचनाबाट गायक दिन दुई गुणा, रात चौगुणा भनेझैँ चम्किन्छन् तर गीतकार भने जहाँको त्यहीँ हुन्छन्। त्यस्तै भयो थापाका हकमा पनि। उनको यो गीतले राम्रै चर्चा पायो तर संगीतिक क्षेत्रमा भने गीतकार थापा गुमनाम जस्तै भए। ‘नेपाली संगीतिक क्षेत्रमा म मात्र होइन, अपवादबाहेक सबै गीतकार गुमनाम छन्’, उनले भने, ‘जसले गीत बनायो, ऊ सधैँ गुमनाम हुन्छ। संगीतकार र गायक गायिकाचाहिँ चम्किन्छन्।'

थापाले यो गीत २०३३\०३४ ताका रचना गरेका हुन्, जुनबेला उनी क्याम्पस पढ्दै थिए। यो गीतमा माया, प्रेमको बयान गरिएको छ। कुनै युवतीप्रति युवाको आकर्षणलाई गीतमा समावेश गरिएको छ। तर गीतमा भनेजस्तो प्रेममा परेर भने थापाले यो गीत लेखेका होइनन्। ‘त्यसबेला माया प्रेमका गीत खुबै चल्थे’, उनले भने, ‘त्यस कारण पनि यो गीत मैले लेखेको थिएँ। मान्छेहरू बिछोडका गीतले वाक्क भएर होला, यो गीत धेरैले मनपराए।’

तर यो गीत २०३८ सालमा मात्र रेकर्ड भयो। त्यसबेला रेडियो नेपालमा गीत रेकर्ड गरिन्थ्यो। राम्रा गीतले रेडियोमा राम्रै स्थान पाएका थिए। यसले पनि खुबै स्थान पाएको थियो। त्यस बेला एक मात्र सरकारी रेडियो रेडियो नेपाल मात्र थियो। एफएमहरू खुलेका थसएनन्। रेडियो नेपालबाट सर्वाधिक बज्ने गीतमा थापाको यो गीत परी नै रहन्थ्यो।

उनले लेखेको यो गीत मात्र होइन, उनले अन्य पाँचवटा गीत पनि लेखेका छन् तर अरू गीतले खासै चर्चा पाएनन्। उनले लेखेका दुईवटा गीतहरू भने धेरै चर्चित भए। तीमध्येको अर्को गीत हो:

सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ

परिवर्तन भयौ के कारण तिमी यही नै मेरो सोधाइ छ।

थापाको शब्दमा रहेको यो गीत गायक प्रकाश श्रेष्ठले गाएका हुन् भने शम्भुजीत बाँस्कोटाले नै संगीत गरेका हुन्।

उनी गीत लेख्दा एकै पटक लेख्दैनन्। गीतको एक हरफ लेखिसकेपछि यसलाई समय लगाएर थप्दै जान्छन्। गीत लेख्नका लागि थापालाई कुनै समय पनि चाहिँदैन। जतिबेला पनि फुर्न सक्छ। ‘गीत लेख्न खास समय नै त चाहिँदैन, कहिलेकाहीँ गाडीमा हिँड्दाहिँड्दै पनि फुर्छ, कहिले खाँदै गर्दा फुर्छ’, थापाले थाहाखबरसँग भने, ‘त्यसपछि त्यसको हरफलाई म टिप्छु र फेरि मुड भएको बेला क्रमश: हरफहरू थप्दै पूरा गर्छु। शब्दलाई मिलाउँदै जान्छु। मैले लेखेका सबै गीतहरू यसरी नै बनेका हुन्।’

राजनीतिमा लागेका व्यक्तिले धेरै राष्ट्रिय भावनाका गीत लेख्ने गर्छन् तर उनका गीतमा भने माया, प्रेमका भावहरू भेटिन्छन्। आफू युवा अवस्थामा हुँदा लेखेका गीत भएका कारण पनि माया र प्रेम मात्र झल्किएको थापा बताउँछन्। उनी गीत मात्र रचना गर्दैनन्, कथा पनि लेख्छन्। यस्तै, पेन्टिङमा पनि उनको राम्रो दख्खल छ।

साहित्य क्षेत्रमा लामो ‘ग्याप’

थापा राजनीतिक क्षेत्रमा आफ्नै संघर्षले स्थापित नेता होइनन्। उनी आफ्ना बुबा सूर्यबहादुर थापाका कारण राजनीतिमा छैट्टै स्थापित हुन सकेका नेता हुन्। उनका बुबा सूर्यबहादुर विभिन्न समयमा गरी पाँच पटकसम्म प्रधानमन्त्री बनेका थिए। बुबाकै प्रभावका कारण २०७० को दोस्रो संविधानसभको निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका थिए सुनिल।

उनले लामो समयसम्म शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयुक्तको कार्यालयमा काम गरे। सन् १९८८ बाट २०१३ सम्म उनले उक्त कार्यलयबाट भारत, अस्ट्रेलिया, श्रीलंका, सुडान, पाकिस्तानलगायतका देशमा काम गरे।

उनी २०१३ बाट नेपाली राजनीतिमा प्रवेश गरेका हुन्। त्यसपछि उनी उद्योगमन्त्रीसमेत बने।

अब राजनीतिक अवस्था केही सहज बनेको छ। उनलाई पनि केही सहजता महसुस भएको छ। अब उनी पनि साहित्य लेखनलाई समय छुट्याउने तरखरमा छन्। ‘अब समय केही सहज छ। लामो समय ग्याप गरेको साहित्यलाई अब सुरु गर्छु। त्यसका लागि लयमा फर्कन मलाई समय त लागि नै हाल्छ।’

युवा अवस्थामा गीत संगीतप्रति रुचि राख्ने थापाले अहिले सांगीतिक क्षेत्रमा ‘ग्याप’ गरेका छन्। सन् १९८८ मा युएनएचसिआरमा जागिर खान थालेदेखि उनी सांगीतिक तथा साहित्य क्षेत्रबाट टाढा छन् तर उनी नेपाली संगीतलाई सधैँ माया गरिरहन्छन्। ‘युएनएचसिआरमा काम गर्दा लामो समयसम्म लेख्ने समय भएन। २४सै घण्टा काममा खटिनुपर्थ्यो’, उनले भने, ‘त्यसपछि राजनीतिमा फर्किएँ। त्यसयता संविधान निर्माणमा केन्द्रित भइयो। मन्त्री पनि भइयो। त्यसकारण रचना गर्ने मौका पाइएन।’

थापाको नजरमा अब राजनीतिक अवस्था केही सहज बनेको छ। उनलाई पनि केही सहजता महसुस भएको छ। अब उनी पनि साहित्य लेखनलाई समय छुट्याउने तरखरमा छन्। ‘अब समय केही सहज छ। लामो समय ग्याप गरेको साहित्यलाई अब सुरु गर्छु। त्यसका लागि लयमा फर्कन मलाई समय त लागि नै हाल्छ।’

धेरैले भन्ने शब्द हो, साहित्यमा लागेका धेरैको मन कोमल हुन्छ। उनीहरू कठोर हुनै सक्दैनन्। साहित्य क्षेत्रसँगै राजनीति गर्ने र राजनीतिमा मात्र लागेका बीच आकाश जमिनको फरक हुन्छ तर यसमा थापाको बुझाइ अलिक फरक छ। ‘राजनीतिमा लागेकाले पनि जनताको मतको कदर गर्नुपर्छ। उनीहरूलाई पनि भोलि जनताकै मत चाहिने हो’, उनले भने, ‘त्यसकारण साहित्यमा लागेका र नलागेका नेताबीच म त खासै फरक देख्दिनँ।’

‘संगीत तनावको औषधि हो’

संगीत बुझेका सबैले भन्ने शब्द हो, संगीतमा जादू हुन्छ। संगीतले मानव जीवनलाई परिवर्तन गर्न सहयोग गर्छ। संगीतको कुनै भाषा, जात र धर्म हुँदैन। थापाको नजरमा पनि संगीत यही हो। संगीतले मान्छेको जीवनलाई आनन्दित तुल्याउँछ। उनी लामो समय विदेशमा बस्दा पनि नेपाली गीत सुन्ने गर्थे रे! ‘म विदेशमा हुँदा यहाँबाट क्यासेटमा गीत लिएर जान्थेँ अनि गाडीमा पनि त्यही सुन्थेँ’, उनले भने। उनी संगीतलाई औषधिको रूपमा लिन्छन्। ‘संगीत एउटा औषधि हो’, उनले भने, ‘मान्छेलाई तनाव भयो भने संगीत सुनेपछि तनाव कम हुन्छ।’

उनी गीत रचना आफ्नो सन्तुष्टिका लागि गर्छन्। गीत लेखेरै जीविका चलाउनुपर्ने नभएका कारण आफ्नै सन्तुष्टिका लागि रचना गर्छन् उनी। ‘कसैलाई जबर्जस्ती रचना गर भनेर हुँदैन। गीत रचना गर्न मुड चाहिन्छ’, उनले भने, ‘त्यो मुडले मान्छेलाई सन्तुष्टि दिन्छ। त्यही सन्तुष्टिका लागि पनि म गीत लेख्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.