|

कञ्चनपुर : पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र भम्केपानी (भल्का) मा थारु संग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ। 

काठ र माटोको प्रयोग गरी नगरपालीकाको वडा कार्यालयले छ लाख बढीको लगानीमा संग्रहालय भवन निर्माण गरेको हो। भवन निर्माणका लागि वडा कार्यालयले दुई लाख र स्थानीय बासिन्दाले चार लाख बढीको श्रमदान गरेका छन्। भवन संगै पर्यटकीय क्षेत्रमा दुई वटा पक्की शौचालय समेत निर्माण गरिएका छन्।

‘संग्रहालय भवन निर्माण भएकाले थारु समुदायका संस्कृति झल्कीने परम्परागत पहिरन, गहना, रहनसहनसँग सम्बन्धित बस्तु, कृषिमा प्रयोग हुने परम्परागत सामग्रीलगायत छन्।  अर्को वर्ष देखि पर्यटकका लागि संग्रहालय खुला गर्ने योजना रहेको वडा अध्यक्ष बहादुर महराले जानकारी दिए।

संग्रहालयमा राख्ने बस्तुको जोरजम्मा गर्नका लागि तीन लाख बजेट विनियोजन गरिएको छ। संग्रहालय क्षेत्रमा वाटर पार्क निर्माण गर्ने, सौर्य बत्तिको व्यवस्था गर्ने र फ्रि वाईफाईको व्यवस्था गर्ने योजना बनाइएको छ। पर्यटकीय क्षेत्र सम्म पुग्ने ग्राभेल सडकको निर्माण कार्य पुरा गरिएको छ।

 सडकको स्तरोन्नती नहुदा यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नु परेको थियो वडा अध्यक्ष महराले भने, ‘पर्यटकीय क्षेत्र सम्म पुग्ने सडक निर्माणलाई पहिलो वर्षमै प्राथमिकतामा राखे पछि आन्तरिक पर्यटक आवागमनमा निकै वृद्धि भएको छ।’ हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ। कुण्डमा रहेको पानी आफै माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानिय बासिन्दा बताउँछन्। 

पहिले कुण्डमा रहेको पानी दुई फुट माथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अबस्थामा पुर्‍याएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारै तिरबाट ढुङ्गाको पर्खाल लगाएपछि पानी उफ्रिने क्रममा कमी आएको छ। कुण्डमा रहेको पानी अनौठो तरिकाले उफ्रिने गरेको हेर्नका लागि यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ। दैनिक औषतमा ५० जना बढी आन्तरिक पर्यटक यस क्षेत्रको अवलोकनका लागि पुग्ने गरेका छन्।  पिकनिकका लागि पानीको प्रयाप्तता र यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन्। माघे संक्रान्तिका बेला यस क्षेत्रमा ठुलो मेला लाग्ने गर्दछ।
मेलामा आउनेहरुले कुण्डमा नुहाएमा सबै पाप कर्म नास हुने र चर्मरोग हटेर जाने विश्वासका साथ यहाँ पुग्ने गरेको छन। यस क्षेत्र प्रति थारु समुदायको अगाध श्रद्धा रहेकाले उनीहरुले सोमबारे औंसी, माघेसंक्रान्ति बेला यस क्षेत्रमा पुगि पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन्। पौराणीक काल देखि यस क्षेत्रले धार्मिक मान्यता पाउदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.