१५ महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

|

जाजरकोट : जाजरकोट–जुम्ला सडकको छेडा–कचालीखण्डको मोर्कखोलामा पुल निर्माण सुरु भएको छ वर्ष बित्यो। तर, निर्माण व्यवसायीको चरम लापरबाहीका कारण १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि छ वर्ष बितिसक्दा जग मात्र ठडिएको छ।

पुल निर्माणको ठेक्का सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौंको फर्ममार्फत जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले लिएका हुन्। १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको थियो। 

सम्झौताअनुसार तोकिएको मितिमा निर्माण सम्पन्न नहुँदा तीन पटक म्याद थप भएको छ। निर्माणको जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई जिम्मा लगाउँदा निर्माण अलपत्र परेको स्थानीयको भनाइ छ। 

पुल नहुँदा स्थानीयहरू जोखिम मोलेर खोलाबाटै वारपार गर्दै आएका छन्। बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या छ। जिल्लाको पश्चिम सिमा, जुँगाथापाचौर, साल्मा, दसेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत तत्कालीन १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ। खोलामा पानीको बहाव बढ्दा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ढुवानीमा बाधा पुगेको सिमा–९ स्यापीका पूर्णसमीर महताराले बताए।

सडक बने पुल नहुदा पानीको सहत बढेसँगै थलह बजारसम्मको २५ किलोमिटर सडकमा यातायात चल्न सकेको छैन। पटकपटक ताकेता गर्दा पनि निर्माण कार्यले गति नलिएको स्थानीयको गुनासो छ।

२५ मिटर लम्बाइ र ४ मिटर चौडाइ भएको उक्त पुल निर्माणका लागि एक करोड ४३ लाख लागतमा निर्माण गर्ने स्टिमेट तयार छ। निर्माणका लागि हालसम्म ६० लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। तर, पेस्की रकम बराबरको कामसमेत हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.