|

काठमाडौं : केही साताअघिसम्म नेपाली कांग्रेसभित्रको गुटगत विवादले उग्र रूप लिएको थियो। कांग्रेसभित्रको गुटगत विवादलाई सामान्य रूपमै पनि लिइने गरिन्छ तर यस पटक भने पार्टिभित्रको आन्तरिक विवादले पार्टी सिकिस्त बनेको थियो। 

पार्टी सभापति र वरिष्ठ नेताप्रतिको असन्तुष्टिका कारण पार्टी नेताहरू प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुनरसिंह केसी, डा. शेखर कोइरालाले नयाँ गुटको अभ्यास नै गरेका थिए। तर पार्टीभित्रको गुटगत विवादको चर्चा पछिल्लो समय क्रमश: घट्दै गएको छ। पछिल्लो समय कांग्रेसलाई एक बनाउन सरकार महत्त्वपूर्ण सेतु बनिरहेको देखिएको छ। सरकारका पछिल्ला गतिविधिले कांग्रेसलाई एक बनाउन सहयोग नै गरेका छन्। 

पार्टीभित्रको विवादलाई थाँती राख्दै पार्टीका नेता र कार्यकर्तालाई सडकमा उतार्ने पार्टीले निर्णय गरेसँगै कांग्रेसभित्रको विवाद अहिले क्रमश: कम चर्चामा आउन थालेको छ। सरकारले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले गरेको निर्णय उल्टाएको, निषेधाज्ञा जारी गरेको, चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याउने नामम तत्कालीन सरकाले ल्याएको विधेयक तोडमोड गरेको भन्दै कांग्रेस असन्तुष्ट थियो।

अझ डा. गोविन्द केसी अनसन बसेपछि त कांग्रेस सडकमै उत्रियो। केसीको जीवनरक्षाको माग गर्दै कांग्रेस सडकमा उत्रिएको थियो। सुरुका समयमा सडकमा उत्रिँदा पनि पार्टीभित्र आन्तरिक विवाद प्रस्टै देखिँन्थ्यो। आफू निकटका नेताको निर्देशनमा विरोध गर्ने र सबै उपस्थित नहुने परिपाटी कांग्रेसभित्र देखिन्थ्यो तर पछिल्लो समय भने कांग्रेसका सबै कार्यकर्ता एक भएर सरकारको विरोध गरिरहेका छन्। 

पार्टीको आन्तरिक झगडाले सरकारको गलत कामको विरोध गर्न नसकिने ठहर गर्दै कांग्रेसका नेताहरू सरकारविरुद्ध सशक्त रूपमा सडकमा आएको बताउने गरेका छन्। कतिपयले सरकारले कांग्रेसलाई एक बनाएको तर्क गर्ने गरेका छन्। ‘सरकारले कांग्रेसलाई एक बनाएकै हो’, कांग्रेस नेता गोपालमान श्रेष्ठ भन्छन्, ‘सरकारको गतिविधिले हामीलाई एक हुन बाध्य बनाएको छ। यस्तै हिसाबले अब पार्टीलाई एक बनाउन समय लाग्दैन।’ 

कांग्रेसका नेताहरू अहिले सरकारविरुद्धको आन्दोलनमा एक हुनुको विकल्प नरहेको भन्दै एकअर्काप्रतिको सहकार्यमा अघि बढेका छन्। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो समय सरकारको गतिविधिका कारण नजिक भएको चर्चा पनि चल्ने गरेको छ। ‘अहिलेको सरकारविरुद्ध कांग्रेस एक हुनुको विकल्प छैन’, श्रेष्ठले भने, ‘पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ।’ 

कतिपय नेताहरू अहिले पार्टीभित्र झगडा गर्ने समय होइन भन्दै पार्टीलाई एक बनाउने पहलमा पनि लागेको चर्चा चल्ने गरेको छ। अहिले पार्टीलाई एक बनाएर गुटको अन्त्य गर्ने उचित समय भएको नेता श्रेष्ठले बताए। उनले भने, ‘अहिले पार्टीभित्रको झगडामा फस्ने समय होइन। अहिले त कम्युनिस्टसँग लड्ने समय हो तर एकताको नाममा बदमासलाई प्रोत्साहित गर्न भने हुँदैन।’

तर सरकारको विरोध गर्ने बहानामा पार्टीभित्र विवाद भने असरल्ल छरिएको छ। केही समयअघिसम्म विभाग गठनका विषयहरू पनि चर्चामा थिए। गठन प्रक्रिया तत्काल थालिने भनिएको थियो तर अहिले ती विषय हराएका छन्। यस्तै, अहिलेसम्म विधान मस्यौदा समिति गठन गरिसक्नुपर्ने हो तर अहिलेसम्म प्रक्रिया सुरु हुनसकेको छैन। विधान मस्यौदा समिति तत्काल गठन हुन नसकेका कारण भदौमा बस्ने भनिएको महासमिति बैठक पनि सर्ने संभावना छ। ‘पार्टीभित्रको समस्या र आन्तरिक विवाद कायमै छ तर हामी अहिले सरकारका गलत कामका विरुद्ध एक भएका छौँ’, नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्रका आन्तरिक विवाद क्रमश: व्यवस्थापन गर्दै लैजानुपर्छ।’

अहिले नै आन्दोलन गर्ने समय भइनसकेको उनी बताउँछन्। ‘यो सरकारविरुद्ध अहिले नै आन्दोलन गर्ने समय भइसकेको छैन’, उनले भने, ‘यो सरकारको दम्भलाई जनता माझ अझै नंग्याउनुपर्छ अनि मात्र हामी आन्दोलनमा उत्रिनुपर्छ। तर डा. केसीको जीवनरक्षाका लागि अहिले हामी आन्दोलनमा उत्रिएका छौँ।’

पार्टीभित्रका कतिपय नेताहरू कांग्रेसभित्र निको हुन निकै गाह्रो पर्ने क्यानसर रोग लागेको प्रतिक्रिया दिने गरेका छन्। लोकतान्त्रिक पार्टी निश्चित समयमा समूहमा विभाजित हुनु सामान्य भए पनि पछिल्लो समय यो विवादले निकै उग्र रूप लिएको बताउने गरिएको छ। ‘कांग्रेसभित्र निको बनाउन गह्रो पर्ने गरिको क्यान्सर रोग लागेको छ’, नेता श्रेष्ठले भने, ‘यसलाई अप्रेसन गरेर फाल्नुपर्छ।’

कांग्रेसले अब रचनात्मक प्रतिपक्षको भूमिका खेलेर जनताको मन जित्न सक्नुपर्ने उनी बताउँछन्।  सरकारको अधिनायकवादी चरित्रलाई जनता माझ नंग्याएरै छाड्ने नेता नवीन्द्रराज जोशी बताउँछन्। ‘हामी सरकारको यो अधिनायकवादी चरित्रलाई जनता माझ नंग्याएरै छाड्छौँ’, उनले भने, ‘त्यसका लागि हामी एक हुनै पर्छ।’ 

यही बेला नेतृत्वले सबैलाई समेटेर अघि बढ्न सके पार्टी एक हुने उनले बताए। ‘यही बेला सबैलाई समेटेर अघि बढ्न सके हामी एक हुन सक्छौँ’, उनले भने, ‘सरकारले राम्रो काम गर्ने संभावना छैन। त्यसका विरुद्ध पार्टी सभापतिले व्यवस्थापन गर्दै पार्टीलाई एक बनाउनुपर्छ।’

तर जोशी भने सरकारको गतिविधिले पार्टीलाई एक बनाउन सहयोग गरेको भन्ने विषय स्वीकार गर्न चाहँदैनन्। ‘सरकारको गतिविधिले हामीलाई एक बनाएको भनिहाल्न मिल्दैन’, उनले भने, ‘सरकारले नागरिक र कांग्रेसलाई जोडिने मौका भने दिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.