|

दमक (झापा) : झापा र मोरङकाे समाजका अंग झै बनेका भुटानी शरणार्थी शिविरमा बढेको शून्यताले शरणार्थीलाई मात्र न्यास्राे लागेको छैन।स्थानीयवासीलाई  पनि उतिकै प्रभाव पारेको छ।

शरणार्थीको तेस्राे देश पुनर्स्थापनापछि शिविरको जन घनत्व पातलिएको छ। त्यसै पनि कृषि उपजको खपत मात्रा घटेको छ भने रोजगारीका लागि बस्तीसम्म पुग्नेको संख्या पनि नगन्य छ। शिविरमा रहेकाहरूका कतिपय आफन्त पुनर्स्थापित भई सकेका कारण उनीहरूले गर्जो टार्न बेला बेला उतैबाट खर्च पठाउने गरेका छन्।त्यसकारण पनि रेमिट्यान्स पाउने शरणार्थीलाई मजदुरी नगरी खानै नपाइने बाध्यता कम हुँदै गएको छ। तर यो सवै परिवारमा नभएको बताउँछन्, भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर सचिव टीकाराम रसाइली। ‘बस्तीतिर मजदुरी गर्न जाने क्रम घट्नुको मुख्य कारण त संख्या नै कम हुनु हो मुख्य कारण’ उनले भने, ‘रेमिट्यान्स सवै परिवारमा आउँदैन नि। नभएकालाई त बाँच्न पनि कठिन छ।’

शिबिरमा आएर भूटानी शरणार्थीहरू बस्न थालेसँगै उनीहरू बिस्तारै कामको खोजीमा नजिकैको बस्तीतिर धाउने गर्थे। बस्तीमा गएर मेलापात तथा घर निर्माण लगायतका काममा सहयोग पुर्‍याउने गर्थे उनीहरू। तर अहिले त्यो शून्य जस्तै बनेको इलाम चुलाचुलीकी तारादेबी राईको अनुभव छ। बस्तीमा अहिले खेताला पाउन नै समस्या, पाइहाले पनि महँगाे ज्याला। पहिला शरणार्थीको श्रम र बिभिन्न दैनिक उपभोग्य वस्तु फलफूल, सागसब्जी लगायत अन्न सट्टापट्टा पनि हुन्थ्यो। तर अचेल त्यो अवस्था नरहेको उनले सुनाइन्। 

कृषि मजदुर पाउन कठिन

भुटानी शरणार्थीको बाक्लो बसोबास भइन्जेल शिविर आसपासमा कृषि मजदुर पाउन गाह्रो थिएन। शरणार्थीहरू नजिकैका बस्तीदेखि इलामको चुलाचुली, झापाकै लखनपुर, तोपगाछी, गौरादहसम्म पनि पुग्थे। दमकको निर्माण क्षेत्रमा पनि उनीहरूको ठूलो सहभागिता थियो। तर सधैँ रोपाई सक्ने बेला हुँदासम्म पनि किसान भने खेताला कै अभाव झेलिरहेका छन्। 

दमक-३ का किसान होमराज पोखरेललाई यस्तो समस्या भएको ४/५ वर्ष भयो। भुटानी शरणार्थीको तेस्राे मुलुक पुनर्स्थापनाले शिविरमा मात्र होइन, स्थानीय क्षेत्रको आर्थिक गतिविधिमा नै प्रभाव पारेको छ। ‘पहिला शरणार्थीहरू हुँदा त उहाँहरूसँगै खेतीवाला र खेतालाको मात्र सम्बन्ध थिएन। कतिपयमा त एकै परिवार जस्तै सम्बन्ध थियो’ पोखरेलले भने, ‘भर अभर साथ सहयोग पाइन्थ्यो। हामी पनि गर्थ्याै। उहाँहरूबाट पनि पाइन्थ्यो। शिविर रित्तिएको अनुभव अहिले आएर हुँदैछ।’

शरणार्थीको तेस्राे देश पुनर्स्थापनाले श्रम क्षेत्रमा मात्र प्रभाव पारेको छैन। किसानका कृषि उपज पनि बेच्न समस्या हुन थालेको छ। शिविरमा शरणार्थीका बाक्लो बसोबास भएका बेला नजिकैका बस्ति सम्मै पुगेर उनीहरूले सिजनको फलफूल र तरकारी किन्ने गर्थे। बारीबाटै तुलफूल बिक्थ्यो। तर अचेल बजार नपु¥याई धर छैन। भूटानी शरणार्थी शिबिर दमक बेलडाँगीबाट नजिकै रहेको ईलामको चुलाचुलीका रेबन्त राई भन्छन्, ‘बारीमा सागपात र सिजनमा थोर बहुत फलफूल हुन्छ। अलिकति कसरी बजार सम्म पुर्‍याउँनु,फेरि यो वर्षामास रतुवा तर्न सक्ने/नसक्ने भरै हुँदैन।’

शरणार्थीको तेस्राे मुलुक पुनर्स्थापना नभइन्जेल कृषि तथा निर्माण मजदुरी गर्न पुगेका शरणार्थीले पनि २/४ मुठा साग, आलु, फर्सी किन्थे। तर अचेल बजारसम्म पुर्‍याउन धेरै नहुने र बारीमा फलेको किन्न कोही नजाने भएकाले त्यसै खेर जाने गरेको उनले सुनाए। 

बजार खोज्न सुझाव

शरणार्थी आसपासका बस्तीमा शरणार्थी पातालिएकै कारण कृषि उपजको बिक्रीमा समस्या भएको प्रति दमक उद्योग वाणिज्य संघ पनि जानकार छ। तर संघले परम्पारगत रुपमा सीमित नरही व्यवसायिकतातर्फ लाग्न आग्रह गरेको छ। यसका लागि संघले पनि सहयोग गर्ने जनाएको छ। संघका अध्यक्ष राजेन्द्र ढकालले भने,‘थोरै थोरै परिमाण त संकलन गर्न पनि गाह्रो हुन्छ। यदि व्यवसायिक रुपमा खेती गर्ने हो भने बजारीकरणका लागि स्थानीय सरकारसँग समेत समन्वय गरी बजारको व्यवस्था मिलाउन सकिन्छ।’ 

शरणार्थीको तेस्राे देश पुनर्स्थापनाले शिविरमा रहेका शरणार्थीको खर्च गर्ने शैलीमा पनि परिवर्तन ल्याएको छ। पुनर्स्थापनाको प्रकिया सुरु हुनु अघि चाडपर्व आउँदा वा केही मिठोमसिनो खाउँभन्दा दाताको सहयोगले पुग्दैन थियो। त्यसैले शरणार्थीहरू मजदुरी गर्न बाध्य थिए। मजदुरी गरेको रकम तरकारी, मासु तथा लुगाफाटोमा खर्च हुन्थ्यो। तर तेस्राे देश पुनर्स्थापनापछि प्राप्त हुने रेमिट्यान्सको उपयोग त्यति मै सीमित छैन। रेमिट्यान्सको रकम गरगहना, रमाइलो तथा मनोरञ्जनका क्षेत्रमा पनि खर्च हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.