|

काठमाडौं : आमरण अनशनरत वरिष्ठ डाक्टर गोविन्द केसीले वार्ता टोलीले तयार पारेको ड्राफ्टको एक नम्बर बुँदामै असहमति जनाएपछि आडकिएको गाँठो फुकाउन जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन्। बिहीबार दिनभरजसो भएका अनौपचारिक र औपचारिक वार्तापछि तयार भएको सातबुँदे सहमतिको ड्राफ्टको पहिलो बुँदामै डा केसी अस्वीकृति जनाएका थिए।

दसवर्ष काठमाडौं उपत्यकामा अस्पताल खोल्न नपाउने माग राख्दै पटकपटक अनशन बस्दै आएका डा केसीको मागविपरीत सरकारी पक्षले सोही बुँदा हटाएपछि उनले अस्वीकृति जनाएका हुन्। डा केसीले ड्राफ्ट अस्वीकार गरे लगत्तै पुन: प्रधानमन्त्री ओलीले डा केसीका प्रतिनिधिलार्इ प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन्।

यता डा केसीले व्यापारी पोस्ने कानुन ल्याउन नदिने अडान कायमै राखेका छन्। केसीले आफ्ना वार्ता टोलीका सदस्यलार्इ भने, 'म मृत्युको शैय्यामा छु। यो व्यापारी पोस्ने ऐन ल्याउन कुनै पनि हालतमा दिनन।'

नेकपाका उपनेता सुवास चन्द्र नेवाङ र प्रधानमन्त्री स्वयंको सक्रियतामा बिहीबार दिनभर जसो सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच वार्ता भएको थियो। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको वार्ता टोलीले सहमति नजिक पुगेको र अन्तिम निर्णय डा केसीको रहन भन्दै डा केसीलार्इ तयार पारेको ड्राफ्ट देखाउन अनशनस्थलत टिचिङ पुगेको थियो।

डा केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनशनरत छन्। लामो अनशनका कारण उनको स्वास्थ्यावस्था नाजुक बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। उनले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन पसेको १५औँ पटक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.