|

धनगढी : प्रदेश ७ मा ‘छाँया संसद’ का रूपमा रहेको विषयगत समिति नेतृत्वविहीन अवस्थामा छ। विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समितिको पटक पटको निर्वाचन स्थगित भएपछि नेतृत्व चयन हुन नसकेको हो। 

प्रदेश सभा संचालनको ६ महिना पुग्नै लाग्दासम्म पनि समितिको नेतृत्व चयन हुन सकेको छैन। सभापतिका लागि तीन पटकसम्म आह्वान गरिएको निर्वाचन स्थगित भएपछि निर्वाचन मिति समेत अन्योलमा परेको छ। 

सक्रिय सभामुख 

सभापतिका लागि दाबी गर्नेहरूको संख्या बढी भएका कारण नेतृत्व चयन हुन नसकेको हो। प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले भने यस विषयमा प्रदेश सभा सदस्यहरूसँग छलफल भइरहेको बताए। ‘संसद संचालन भएलगत्तै यस विषयमा एजेण्डा आउँछ। हामी छलफलमै छौं। केही दिनमा समितिलाई नेतृत्व दिन्छौं’ सभामुख थापाले भने। २०७४ साल माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो।

ज्येष्ट सदस्यको भरमा बैठक

प्रदेशसभा संचालनको ६ महिना पुग्नै लाग्दा समेत प्रदेश सातका विषयगत समितिहरूको सभापति नहुँदा समितिको बैठक ज्येष्ठ सदस्यको भरमा चलिरहेको छ।विधायन तथा प्रदेश मामिला समिति ज्येष्ठ सदस्य कृष्णराज सुवेदीको अध्यक्षतामा बैठक बस्ने गरेको छ। अर्थ विकास तथा प्राकृतिक समिति जेष्ठ सदस्य देवराज पाठकको अध्यक्षतामा बैठक बसिरहेको छ। सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य बलबहादुर सोडारी हुन्। सामाजिक विकास समितिको जेष्ठ सदस्य दिब्यश्वरी शाह हुन्। उनी अनुपस्थित भएपछि अहिले मानबहादुर सुनारको अध्यक्षतामा बैठक बस्ने गरेको छ। 

विधायन तथा प्रदेश मामिला समिति जेष्ठ सदस्य कृष्णराज सुबेदीले अहिले धमाधम काम भइरहेको र नेतृत्वका लागि रस्काकस्सी नभएको बताए। ‘सभापतिबाट हुने काम हामीबाट पनि भएकै छ। धमाधम विधेयकमाथि दफावार छलफल गरेकै छौं,’ सुबेदीले भने, ‘हामीमा बिबाद छैन। केही दिनमा सभापतिको निर्वाचन पनि हुन्छ।’ 

तीन पटकसम्म स्थगित 

प्रदेश सभा सचिवालयले पहिलो पटक जेठ १० गते मनोनय दर्ता गर्ने, जेठ १३ र १४ गते निर्वाचन गर्ने तयारी थालेको थियो। १३ गते विधायन तथा प्रदेश मामिला समिति र सामाजिक विकास समितिको निर्वाचन गर्ने र जेठ १४ गते अर्थ विकास तथा प्राकृतिक समिति र सार्वजनिक लेखा समितिको निर्वाचन तय भएको थियो। तर अन्तिम समयमा सूचना टाँसेर निर्वाचन स्थगन गरियो। ‘त्यस बेला पनि आवश्यक तयारी नपुगेको भन्दै स्थागन भएको हो ’ सभामुख थापाले बताए। 

प्रदेशसभाले दोस्रो पटक जेठ २१ गते मनोनयन दर्ता गरी २२ र २३ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। अन्तिम समयमा दोस्रो पटक पनि निर्वाचन स्थगन भएको थियो। तेस्रो पटक जेठ ३० गते मनोनय र ३१ गते निर्वाचन मिति घोषणा गरिएको थियो। त्यो पनि निर्वाचन हुन सकेन। आन्तरिक तयारी नभएका कारण नेतृत्व चयन हुन नसकेको प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए।

अब निर्वाचन अन्योलमा

समितिको नेतृत्वका लागि निर्वाचन तेस्रो पटक पनि स्थगन भएपछि अर्काे निर्वाचन कहिले हुने भन्नेबारे अन्योलता रहेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए। ‘एकै महिनामा तीन पटकसम्म निर्वाचन स्थगित भयो। अब कहिले हुन्छ भन्नेबारे अन्योलता रहेको छ’ शर्माले भने।

हामी तयार छौं : कांग्रेस

प्रतिपक्षको भागमा पर्ने सार्वजनिक लेखा समितिका लागि नेपाली कांग्रेस तयार रहेको नेपाली काग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए। ‘हामीले हाम्रो भागमा परेको समितिमा कसलाई नेतृत्व दिने भन्नेबारे निर्णय गरिसकेका छौं। सत्तापक्षबाट ढिलाई भइरहेको छ’ संसदीय दलका नेता रावलले भने। सत्तारुढ दल भित्रको बिबादले समिति निर्वाचनमा ढिलाइ भइरहेको उनले आरोप लगाए। 

राजपामा दलको नेता नै छैन 

प्रदेश सातको प्रतिपक्ष राष्ट्रिय जनता पार्टीले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन। दुई जना मात्रै सदस्य रहेको राजपामा दुबै जनाले दलको नेताको लागि दाबी गरेपछि नेतृत्व चयन हुन नसकेको हो। राजपाबाट प्रदेश सातमा मालामतिकुमारी राना र कृष्ण चौधरी रहेका छन्। चौधरी प्रत्यक्ष निर्वाचित हुन् भने राना समानुपातिकमार्फत आएकी हुन्। दुबैबीच सहमति नहुँदा दलको नेता छनोटमा ढिलाइ भएको हो।

दलको नेता मात्रै होइन प्रमुख सचेतक पनि छनोट भएको छैन। ‘दुई जनाबीच सहमति नभएपछि जिल्ला कमिटीले केन्द्रमा पठाएको छ। केन्द्रले केही दिनमै दलको नेताबारे निर्णय गर्छ’ रानाले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.