|

रामेछाप : जिल्लाको लिखु तामाकोशी गाउँपालिका-६ खिम्तीमा नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रको भवन हस्तान्तरणको तयारी भइरहँदा पहिरो गएको छ। नवनिर्मित स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न नभइ भवन अगाडिको  ४८ मिटर मध्ये २७ मिटर पर्खाल पहिराेले तानिसकेकाे छ।   

निर्माण व्यवसायीले भवन निर्माण कार्य सम्पन्न गरी शहरी विकास तथा भवन डिभिजन कार्यालय रामेछापलाई बुझाएपछि स्वास्थ्य केन्द्रलाई भवन हस्तान्तरण गर्ने तयारी भइरहेको थियो। नवनिर्मित भवनको आगनमा पहिरो गएपछि भवन समेत जोखिममा परेको छ। २०५९ सालबाट सुरु भएको भवन निर्माण कार्य २०७४ चैत्रमा सम्पन्न भएको थियो। 

खिम्तीमा आएको २०७० सालको विनाशकारी बाढी पहिरो र २०७२ सालको भूकम्पको कारण समयमै भवन निर्माण हुन नसक्दा पटक-पटक म्याद थप गरी २०७४ चैत्रमा भवन निर्माण कार्य सम्पन्न भएको थियो। भवन निर्माण विभागको ३ करोड २९ लाख आर्थिक लगानीमा धुकुछी सुनकोसी जेभी प्रालिले निर्माण गरेको सो भवन गत वैशाखमा शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई सम्पन्न भएको विवरण बुझाइएको निर्माण व्यवसायी केशव महतले बताए। 

पहिरो गइरहने र पानीको मूल फुट्ने जमिनमा भवन निर्माण गरिएको कारण पहिरो गएको स्थानीय बलबहादुर थापाको भनाई छ। ‘यहाँ कमेरो माटो छ। पहिला पहिला पनि पहिरो गइरहन्थ्यो बनाउने नहुने ठाउँमा भवन बनाए। अहिले यस्तो भयो’ थापाले भने। २०७२ सालको भूकम्पले स्वास्थ्य सेवा सञ्चालन गर्न नमिल्ने गरी भवनमा क्षति पुर्‍याएपछि खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र भने एउटा कोठाबाट कष्ठपूर्ण रुपमा सञ्चालन हुँदै आएको छ। भूकम्पपछि पालमुनि स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य केन्द्र केही समय यता दुईकोठे भवनबाट सञ्चालन हुँदै आए पनि ओपिडी, सेवा, ड्रेसिङ गर्ने र प्रशासनिक काम समेत एउटै कोठाबाट सञ्चालन गर्नु पर्दा मिरामीलाई सेवा प्रवाह गर्न निकै कठिन भएको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीकी अहेव गंगा रिमालले बताइन्। 

दुईवटा कोठा मध्ये एउटा कोठालाई प्रसूती कक्ष बनाइएको छ भने अन्य सबै सेवाहरू एउटौ कोठाबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ। विरामी आउँदा बेडको समेट व्यवस्था छैन। बेडको नाममा एउटा खाट जस्तो बेड छ। दिनमा ठिकै हुन्छ। रातको समय विरामी आउँदा त उपचार सेवा दिनै नसक्ने अवस्था छ’ अहेव रिमालले भनिन्। ल्याव सेवा नवनिर्मित भवनबाट सञ्चालन गरिँदै आएकोमा पहिरो गएपछि विरामी डराएर नयाँ भवनमा जान नमानेपछि स्वास्थ्य सेवा प्रवाह गर्न झन कठिन भएको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.