|

बागलुङ : गत आर्थिक वर्षमा जिल्ला सबै स्थानिय तहहरुले प्राथमीकताका साथ निर्माण गरेका कच्चि सडकहरु वर्षा सुरु भएसँगै काम नलाग्ने भएका छन्। 

वर्षाका कारण कतै सडक हिलाम्मे भएकाले पैदल यात्रीलाई समेत सास्ती छ भने कतै खसेका पहिरोका कारण सडकहरु अवरुद्ध बनेका छन्। करोडौं खर्चेर बनाइएका सडकको माटो एक दुईदिनको वर्षालेनै नदि र खोलाहरुमा मिसीएको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए।

‘सडक सञ्जालले नछोएका गाउँहरूलाई प्राथमिकतामा राखेर हामीले सडकको लागि बजेटको व्यवस्था गरेका थियौं’ पौडेलले भने, ‘काम त गरियो तर सबै विकासको काम बाढीले बगायो।’ जिल्ला भर रहेका दश स्थानीय तहले गत आर्थिक वर्षमा झण्डै ५० करोड रुपैयाँ सडकमा खर्चेका थिए। स्तरउन्नति र नयाँ ट्र्याक खोल्ने काममा बजेट खर्च भएको जिल्लाको निसीखोला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुशील पनेरुले बताए। 

पूर्वाधारलाई प्राथमिकतामा राखेर बिनियोज भएको बजेटको ५० देखी ७५ प्रतिशत सम्मको बजेट सडक निर्माणमा खर्चेको उनको भनाइ छ। ‘जिल्लाका सबै तहमा सरदरमा सडकमा नै बजेट बढी खर्च भएको छ’ पनेरुले भने ‘सिँचाइ भवन र सडकलाई पूर्वाधारमा राखेर बनाइएको बजेटको आधा भाग सडकले ओगटेको छ।’

गत आवमा मात्रै जिल्लाको बागलुङ नगरपालिकाले ७ करोड, जैमिनी नगरपालिकाले ७ करोड, बडिगाड गाउँपालिकाले ६ करोड ९५ लाख, काठेखोला गाउँपालिकाले ३ करोड ३५ लाख रुपैयाँ बजेट सडकको लागि बिनियोजन गरेका थिए। त्यस्तै गल्कोट नगरपालिकाले ५ करोड १२ लाख बरेङ गाउँपालिकाले ३ करोड ५० लाख, निसीखोला गाउँपालिकाले २ करोड ७५ लाख, तमानखोला गाउँपालिकाले ३ करोड, ढोरपाटन नगरपालिकाले २ कारोड ६७ लाख र ताराखोला गाउँपालिकाले २ करोड ५० लाख बिनियोजन गरेका थिए। 

‘सडकमा बिनियोजन भएको बजेट भन्दा बढीनै खर्च भएको छ’ बागलुङ नगरपालिका-४ का अध्यक्ष ध्रुवबहादुर केसीले भने, ‘सबै पुर्वाधार बनाउनुभन्दा पहिले सडकको आवश्यकता हुने भएकाले ठूलो खर्च सडकमा गरिएको हो।’

हिउँदमा बनाइएका सडक वर्षातमा माटो बगेर प्रयोग गर्न नमिल्ने भएका कारण कतिपय स्थानीय तहले मर्मतको लागिसमेत खर्च गरिसकेका छन्। ‘हाम्रो नगरमा बनेका बटामध्ये १५ प्रतिशत बाटाहरु पुन निर्माण नगरी नहुने भएका छन्’ गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने, ‘झण्डै १३ करोड रुपैयाँ मर्मतमा खर्च गरिसकेका छौं।’ बाटोको दिगोपनको लागि तार जाली लगाउने योजना अघि सारेको गैरेले बताए।

‘विकासको पहिला सर्त सडक नै हो’ उनले भने, ‘दिगो चल्ने सडक बनाएर मात्रै बाँकी विकासका काममा सहज हुन्छ।’ हिउँदमा बनेका सडक वर्षातमा नचले पनि संरचना बिग्रिने गरेर नभत्किएको दाबी स्थानीय तहको छ। ‘पानीले अलिअलि बगाएको छ यो कुरा सत्य हो’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने ‘ट्रयाक खुलेका ठाउँमा अब काम गर्दा सामान्य खर्चले पुग्ने भएकाले सबै बग्यो नभनौँ।’

हिउँदका पहिनामा तार जाली लगाउने र पानीको निकास खोज्ने हो भने सडक जोगाउन सकिने उनको निष्कर्ष छ।  गत वर्ष पूर्वाधार विकासमा ठूलो रकम खर्चेका स्थानीय तहले यो वर्ष पनि पूर्वाधारलाई नै प्राथमिकतामा राखेका छन्। ‘बिनातयारी नगरपालिका घोषणा गरिएको छ, आवश्यक पूर्वाधार केही छैनन्’ जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सुवेदीले भने ‘यो वर्षको बजेटको आधा हिस्सा पूर्वाधार निर्माणले नै ओगटेको छ।’

स्थानीय सर्वसाधारणको माग र चाहना पनि पूर्वाधारमा बढी भएकाले बजेट पूर्वाधार केन्द्रित भएको जनप्रतिनिधिहरू बताउँछन्। ‘हामीले कैयौँपटक योजनाको छनोटको लागि जनताका माझमा पुगेका छौँ’ काठेखोला गाउँपालिका-७ का वडाअध्यक्ष प्रेम लामिछानेले भने, ‘जनस्तरबाट छनोट भएका योजनाको प्राथमिकतामा पूर्वाधार नै पर्ने गरेका छन्।’ सडकमा गरिएको लगानी पानीले बगाएपछि स्थानीय तहहरूले सडक बचाउने योजना बनाउन थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.