भयवह बन्दै सवारी दुर्घटना र आत्महत्या

|

भद्रपुर, (झापा) : बढ्दो जनघनत्व, त्यसमाथि भारतको बंगाल तथा विहार राज्यसँगको खुला सिमानाका कारण झापा जिल्लामा आपराधिक क्रियाकलापका घटना वार्षिक रूपमा बढ्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाको चौवार्षिक अपराधिक क्रियाकलापको तथ्यांकअनुसार विभिन्न अपराधका घटना वृद्धि भए पनि प्रहरीको सक्रियताले दर्ता भएका मुद्दासमेत धमाधम फर्छ्यौट हुन थालेको पाइएको छ।

विशेषगरी आत्महत्या, जबरजस्ती करणी, कर्तव्य ज्यान, भवितव्य ज्यान, लागुऔषध, चोरी, सवारी ज्यान, मानव बेचविखन, सार्वजनिक मुद्दाका घटनाहरू बढी दर्ता हुने गरेको तथ्यांकमा उल्लेख छ।

कर्तव्य ज्यानमा १३ मुद्दा, ज्यान मार्ने उद्योगमा २३ मुद्दा, चोरीमा ५२ मुद्दा, लागुऔषधमा १२६ मुद्दा, सार्वजनिकमा ६७५ मुद्दा, मानव बेचविखनमा २७ मुद्दा, बहुविवाहमा २५ मुद्दा, ठगीमा २० मुद्दा, जुवामा ९ मुद्दा र अपहरण शरीर बन्धक तथा सरकारी छाप किर्तेमा ६ मुद्दा दर्ता भएको जनाइएको छ। 

प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७१/७२ मा विभिन्न ५३ वटा मुद्दा शीर्षकमा एक हजार २०७ वटा मुद्दा दर्ता भएकोमा एक हजार १९६ मुद्दा फर्छ्यौट भएको छ। त्यसैगरी आव ०७२/७३ मा एक हजार १९७ मुद्दा दर्ता भएकोमा एक हजार १३४ मुद्दा फर्छ्यौट भएको छ। आव ०७३/७४ मा १ हजार ४ सय मुद्दा दर्ता भएकोमा ९ सय ८५ मुद्दा फर्छ्यौट भएको छ। ०७४/७५ मा एक हजार ६८७ मुद्दा दर्ता भएकोमा एक हजार २०९ मुद्दा फर्छ्यौट भएको छ।

चौवार्षिक तथ्यांकअनुसार आव ०७३/७४ र ०७४/७५ मा आत्महत्या र भवितव्य घटनामा ज्यान गएका व्यक्तिको मुद्दा फर्छ्यौट हुन दुई वर्ष लाग्ने गरेकाले यस्ता मुद्दा क्रमगत रूपमा फर्छ्यौट भई जाने प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) विष्णुकुमार केसीले जानकारी दिए।

चार वर्षमा ३६४ वटा बलात्कारका घटना दर्ता

झापामा जबरजस्ती करणी (बलात्कार)का घटनावार्षिक रूपमा वृद्धि हुन थालेको प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०७४/७५ मा १३३ मुद्दा करणी (बलात्कार) मा दर्ता भएको छ। आर्थिक वर्षमा ०७४/७५ जबरजस्ती करणीमा ९९ वटा मुद्दा दर्ता भएकोमा आठवटा मुद्दा फर्छ्यौट हुन बाँकी छ। जबरजस्ती करणी उद्योगमा ३४ वटा मुद्दा दर्ता भएकोमा तीन वटा फर्छ्यौट हुन बाँकी छ। आव ०७३/७४ मा जबरजस्ती करणीमा ५७ र जबरजस्ती करणी उद्योगमा १७ वटा मुद्दा फर्छ्यौट भएको छ। ०७२।७३ मा जबरजस्ती करणीमा ५३ र जबरजस्ती करणी उद्योगमा १९ वटा मुद्दा फर्छ्यौट भएको छ। त्यस्तै ०७१।७२ मा जबरजस्ती करणीमा ४७ र जबरजस्ती करणी उद्योगमा ३८ वटा मुद्दा फर्छ्यौट भएको छ ।

बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालको क्रेट र अश्लिल भिडियोका कारण झापामा बलात्कारका घटनामा वृद्धि हुने थालेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक केसीले बताए। ‘प्रहरीमा भर्खरका युवतीहरूले बलात्कारका घटना दर्ता गर्छन’, उनले भने, ‘कुनै प्रेम सम्बन्धपछिका बलात्कारसँग जोडिएका घटना हुन्छ, भने कुनै घटना आपसी सम्बन्ध पछिका हुन्छ, ‘तर’ अधिकांश घटना समझदारीमा हुने गरेको प्रहरी अनुसन्धानको क्रममा भेटियो।’ ‘यस्ता प्रकारका घटना रोकथामका लागि युवा तथा युवती आफै सजक भए मात्र रोकिन्छ,' उनले थपे।

आत्महत्याका घटनामा वृद्धि

घरयाशी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले झापामा आत्महत्याको घटना वृद्धि हुने थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत आर्थिक वर्ष ०७४/७५ मा २४७ जनाले आत्महत्या गरेको प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ। जसमध्ये २११ जना भुण्डिएर, २५ जना बिष सेवन र एक जनाले आगो लगाएर आत्महत्या गरेको प्रहरी उपरीक्षक केसीले बताए।

आर्थिक वर्षमा ०७३/७४ मा १९७ जना भुण्डिएर, ३१ जना बिष सेवन, आगो र औजारबाट एक/एक जनाले आत्महत्या गरेका थिए। ०७२/७३ मा १९३ जन भुण्डिएर, ४२ जना बिष सेवन, आगोबाट तीन र औजारबाट एकजनाले आत्महत्या गरेका थिए।

त्यस्तै ०७१/७२ मा १८३ जना भुण्डिएर, ५५ जना बिष सेवन र तीन जना आगो लगाएर आत्महत्या गरेका थिए। झापामा आत्महत्याको घटनावार्षिक रूपमा बढ्न थालेपछि यसको रोकथामका लागि तत्कालीन अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पिताम्बर अधिकारीले जिल्लाभरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि आत्महत्या घटना अझै पनि रोकथाम हुन सकेको छैन।

सवारी दुर्घटना परी ३४२ जनाको मृत्यु

बढ्दो सवारीसाधनको चाप र साघुरो सडकका कारण झापामा वार्षिक रूपमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको संख्यामा वृद्धि हुने थालेको छ। गत चार वर्षको अवधिमा झापाका विभिन्न स्थानमा सवारी दुर्घटना परी ३४२ जनाको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ। आर्थिक वर्ष आव ०७४/७५ मा विभिन्न सवारी दुर्घटना परी १०९ जनाको मृत्यु भएको छ। आव ०७३/७४ मा ८३, आव ०७२/७३ मा ७५ र आव ०७१/७२ मा ७३ जनाको मृत्यु भएको छ, भने चार वर्षको अवधिमा सवारी भवितव्यमा परी १६ जनाको समेत मृत्यु भएको छ।

वार्षिक तथ्यांक केल्याउँदा वर्षैपच्छिे सवारी दुर्घटना परी मृतकको संख्या वद्धि हुर्दै गएको देखिन्छ। झापामा दुर्घटना बढ्न थालेपछि प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले संयुक्त रूपमा दिनहु सवारी चेकजाँचलाई तीव्रता दिएको छ। सवारीसाधनको गति मापन गर्न प्रहरीले राजमार्ग र सहायक राजमार्गमा राडर गनको प्रयोग गरी चेकजाँच थालिएको प्रहरी उपरीक्षक केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.