|

ताप्लेजुङ : जिल्लाको पूर्वी क्षेत्रको एक व्यस्त सडकको रूपमा रहेको दाहालगाउँ-सिनाम-खाम्दिम्बे-याम्फुदिन सडकको स्तरोन्नति गरिएपछि यातायात सञ्चालनमा सहज भएको छ। पाथीभरा याङ्वरक गाउँपालिकाको थुम्बेदिनस्थित काबेली पुलदेखि सिरिजङ्घा गाउँपालिकाको सिनाम-डाँडागाउँ हुँदै खाम्दिम्बे-सिदुवाखोलासम्म सकडको स्तरोन्नति गरेपछि हाल यातायात सञ्चालनमा सहज भएको हो। 

एक दशकभन्दा अघिदेखि पाँचथरको थर्पू हुँदै ट्रयाक खुलाइएको दाहालगाउँ-सिनाम-तेल्लोक-याम्फुदिन-हेल्लोक सकडको भर्खरै काबेली पुलदेखि आम्बेगुदिनको सिदुवाखोलासम्म करिव साढे १२ किलोमिटर सकड स्तरोन्नति गरिएपछि यातायात सञ्चालनमा सहज भएको हो। सडक स्तरोन्नतिसँगै आम्बेगुदिनको हप्पुखोला, खाम्दिेम्बे बजार र सिनाम डाँडागाउँबाट पाँचथर, इलाम हुँदै झापाको बिर्तामोडसम्म सञ्चालन हुने यात्रु तथा मालबाहक सवारी साधन सञ्चालनमा सहज भएको बताइएको छ। यस्तै तेल्लोक, हप्पुखोला, सिनाम डाँडागाउँ, पञ्चमी, थुम्बेदिन हुँदै सदरमुकाम फुङ्लिङसम्म सञ्चालन हुँदै आएका स्थानीय यातायात सेवामा पनि सहज भएको छ। 

सडकको स्तरोन्नति गर्नुअघि अत्यन्तै जोखिम मोलेर सवारी साधन चलाउँदै आउनु परेकोमा सडक स्तरोन्नति गरेपछि जोखिम पनि कम हुँदै गएको र सवारी साधन चलाउनलाई पनि सजिलो भएको चालक गोपाल बिष्टले बताए। चालक बिष्टका अनुसार वर्षादको समयमा सडक हिलाम्मे भई ठाउँ-गाउँमा गाडी फस्ने, गाडीको पत्ती भाँचिने, अन्य इन्जिनहरु बिग्रिने लगायतका सास्ती खेप्दै आउनुपरेको थियो। अहिले उक्त सडकको स्तरोन्नति भएपछि यातायात सञ्चालनमा सहज भएको र सदरमुकाम फुङ्लिङदेखि खाम्दिम्बे बजार पुग्नलाई झण्डै चार घण्टा समय लाग्ने गरेकामा अहिले अढाइ घण्टामै पुग्न सकिने भएको बिष्टले बताए। 

सडक सहज भएपछि पत्ती भाँचिदा र इन्जिन बिग्रिएर पुनः मर्मत गर्दा लाग्ने खर्च जोगिएको पनि उनले बताए। त्यस्तै सिदिङ्बा ४ साब्लाखुका लक्ष्मी लिम्बुले सडकको स्तरोन्नति भएपछि हिलाम्मे सडकका कारण गाडी फसेर गाडीबाट ओर्लदै र चढ्दै त, कहिले गाडी ठेल्दै र तान्दै यात्रा गर्नुपर्ने बाध्यता तत्कालका लागि हटेको बताए। लिम्बुले स्तरोन्नति गर्नुअघि सडकको हालतका कारण कुनै काम लिएर गाउँबाट बिहानै गाडी चढे पनि ठाउँ ठाउँमा फसेर समयमै गन्तव्यमा नपुग्दा कामै बिग्रने गरेको स्मरण पनि सुनाए। हाल सडकको स्तरोन्नति गरेपछि स्थानीयलाई ठूलो राहत पुगेको उनको भनाइ छ। उक्त सडक खण्डको १२.४ किलोमिटर सडक स्तरोन्नतिको कार्य सेवालुङ निर्माण सेवा प्रालिले गरेको हो।

उन्नति परियोजनाको करिव सात करोड रुपैयाँ बजेटको लागतमा २०७३ साल भदौबाट स्तरोन्नतिको कार्य सुरु गरी २०७५ असार तेस्रो साताभित्र सम्पन्न गरिएको निर्माण कम्पनी सेवालुङ निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक जसबहादुर लिम्बुले बताए। नाली, कल्भर्ड, ग्याविन, ग्राभेलसहित ५.२५ मिटर चौडाइको सडक स्तरोन्नतिको कार्य गरेको लिम्बुले जानकारी दिए। उक्त सडकको स्तरोन्नति गरिएसँगै जिल्लाको पूर्वी क्षेत्र साविक चाक्सिबोटे, थुम्बेदिन, सिनाम, आम्बेगुदिन, तेल्लोक, सिकैँचा, मामाङ्खे, याम्फुदिन, खेबाङ, सुरुम्खिम, मेहेले लगायत दर्जन बढी गाउँका स्थानीयबासी लाभान्वित बनेका छन्। 

सेवालुङ निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक लिम्बुले भने, ‘अब स्तरोन्नति गरिएको सडकको तत्काल कालोपत्रे (पिच) गरेमा दीर्घकालका लागि यातायात सञ्चालनमा सहज हुने थियो।’ सडक कालेपत्रेका लागि स्थानीय सरकारका रुपमा रहेको सेवा प्रभावित क्षेत्रका स्थानीय तहहरूले बजेट बिनियोजन गरे पनि पुग्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.