|

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा एकै साथ सातवटा ठूला खानेपानी आयोजना निर्माण कार्यहरू अगाडि बढाइएका छन्। नगरपालिकाका बासिन्दालाई शुद्ध पेयजल उपलव्ध गराउनका लागि खानेपानीका आयोजनाहरू अगाडि बढाइएका हुन्।

नगरपालिकाको १ मा हात्तीथला खानेपानी तथा सरसफाई आयोजना १२ करोड ४० लाख, वडा २ मा झरना खानेपानी तथा सरसफाई आयोजना नौ करोड ९९ लाख, वडा ३ मा दैजी खानेपानी तथा सरसफाई आयोजनाको १३ करोड ५३ लाख, वडा ४ को धरमपुर खानेपानी तथा सरसफाई आयोजनाको पाँच करोड र वडा ६,७ र ८ मा सुडा टाउन खानेपानी तथा सरसफाई समिति ३३ करोडमा निर्माण भैरहेका छन्। यसैगरी वडा ९ मा बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना छ करोड र वडा १० मा  नवदुर्गा खानेपानी तथा सरसफाई आयोजना ५९ लाखमा निर्माणको कार्य अगाडि बढाएको छ। 

चालु आवमा निर्माण कार्य सञ्चालन हुने गरी नौवटा खानेपानी आयोजनाको सर्वेको कार्य पूरा गरिएको छ। सर्वे गरिएका खानेपानी आयोजनामा  शिवलिङ्गा खानेपानी तथा सरसफाई आयोजना, बेदकोट खानेपानी तथा सरसफाई आयोजना, पोलखरी खानेपानी तथा सरसफाई आयोजना, सिसैया खानेपानी आयोजना, बसन्तपुर खानेपानी तथा सरसफाई आयोजना, शिव खानेपानी तथा आयोजना, लिप्ना खानेपानी तथा सरसफाई आयोजना, कैनपानी खानेपानी तथा सरसफाई आयोजना र ओझाखाली खानेपानी तथा सरसफाई आयोजना रहेको नगर प्रमुख अशोककुमार चन्दले बताए। निर्माण कार्य प्रारम्भ भएका खानेपानी आयोजनाबाट दश हजार बढी बासिन्दा लाभान्वित हुने छन्।

खानेपानी आयोजनाबाट झण्डै २३ लाख २५ हजार लिटर शुद्ध पेयजल नगरपालिकाका बासिन्दालाई उपलव्ध हुने नगर प्रमुख चन्दको भनाई रहेको छ। ‘पुराना खानेपानी आयोजनाको मर्मत संभारको कार्य समेत गरेका छौं’ चन्दले भने, ‘लाइन र धारा विस्तारको कार्य समेत पूरा गरिएको छ। साथै सर्वसाधारणको सरसफाइमा टेवा पुर्‍याउनका लागि ८७ वटा शौचालय निर्माण पनि गरिएका छन्।त्यसमध्ये २२ वटा शौचालयमा जडान गरिएका गोबर ग्याँस अनुदानका हुन्।’ 

अति गरिब तथा विपन्न परिवारका लागि खानेपानीका ७२ वटा हेन्डपम्प पनि वितरण गरिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.