|

दैलेख : दैलेखका चार नगरपालिका र सात गाउँपालिकामध्ये १० वटा स्थानीय तहमा बैंक पुगे पनि सरकारी कारोबार भने सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकबाट हुँदै आएको छ। नारायण र दुल्लु नगरपालिकामा मात्र राष्ट्रिय वाणिज्य बैंकले सेवा दिँदै आएको छ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका कारण सदरमुकाम बाहिर वाणिज्य बैंकको पहिलो शाखा खुलेको प्रबन्धक कृष्णराज जोशीले बताए। यहाँका अन्य स्थानीय तहमा बैंकका शाखा खुले पनि उपभोक्ताहरू सदरमुकाम जानैपर्ने बाध्यता हटेको छैन्। सरकारी लगानीको बैंकबाट मात्र कारोबार गरिने भएकाले स्थानीयवासी सदरमुकाम पुग्न बाध्य भएका हुन्।

सानो सरकारी रकम लिन पनि सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ। गाउँमा बैंक खुले पनि सदरमुकाम पुग्नैपर्ने बाध्यताका कारण सरकारी काम खर्चिलो बनेको स्थानीयको गुनासो छ।

अहिले नारायण नगरपालिका, दुल्लु नगरपालिका, आठवीस नगरपालिकामा बैंकको शाखा विस्तार भइसकेको छ। जिल्लाका गुरासँ, डुङ्गेश्वर, भगवतीमाई, नौमूले र भैरवी गाउँपालिकामा पनि बैंकको शाखा विस्तार भइसकेको छ भने चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाल एसविआई बैंकको शाखा विस्तार भए पनि कारोबार भने सुरु भएको छैन्। चामुण्डाविन्द्रासैनी नगरपालिकाका अनुसार बैंक स्थापनाका लागि घर व्यवस्थापन र सिनिसिङका सम्पूर्ण काम भई खाता खोल्न सुरु भए पनि पूर्ण रूपमा कारोबार सुरु भएको छैन्।

जिल्लाको ठाटीकाँध गाउँपालिकामा एनसिसि बैंक जाने भनिए पनि अहिलेसम्म बैंकिङ कारोबार सुरु भएको छैन्। ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीका अनुसार बैंकका लागि घर निर्माणसँगै फिनिसिंगका कामहरू तीव्र भइरहेकोले अबको एक हप्ताभित्र बैंक संचालनमा आउनेछ। यस्तै महाबु गाउँपालिका एनएमवी बैंकको शाखा विस्तार गर्ने भनिए पनि अहिलेसम्म बैंकको शाखा स्थापना हुन सकेको छैन्।

जिल्लाको दुल्लु नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंकले यस अघि देखिनै सेवा दिदै आएको छ। आठवीस नगरपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक डाब शाखाले सेवा दिँदै आएको भए पनि नगरपालिकाको केन्द्रको रुपमा रहेको राकमकर्णालीमा भने बैंकको शाखा विस्तार भएको छैन्। नेपाल इन्भेस्टमेन्ट बैंक डाब शाखालाई राकमकर्णालीमा शाखा विस्तार गर्न आग्रह गरेको भए पनि बैंकले शाखा विस्तार गर्न आनाकानी गरेको आठवीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले बताइन्।

पछिल्लो समय नेपाल इन्भेस्टमेन्ट बैंकले राकमकर्णालीमा शाखा विस्तार गर्न लचक देखिए पनि सांग्रीला बैंकले शाखा विस्तार गर्ने प्रवल सम्भावाना रहेको उपप्रमुख बोहोराको भनाई छ। आठबिस नगरपालिकास्थित नेपाल इन्भेस्टमेन्ट बैंकले दैलेख र अछामका बासिन्दालाई सेवा दिँदै आएको जनाएको छ।

जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकामा भने राष्ट्रिय बाणिज्य बैंक, मेघा बैंक, सिद्धार्थ बैंक, प्रभु बैंकलगायतका एक दर्जन बढी बैंकहरू मार्फत बैंकिङ कारोबार हुँदै आएको छ। यस्तै नौमूले गाउँपालिकमा एनएमवि बैंक, भैरवी गाउँपालिकमा सिभिल बैंक, भगवतीमाई गाउँपालिकामा प्रभु बैंक, डुङ्गेश्वर गाउँपालिकामा सानिमा बैंक र गुरासँ गाउँपालिकामा प्रभु बैंकमार्फत कारोबार सुरु भइसकेको छ।

अछामको बैंकिङ कारोबार दैलेखबाट

आठबिस नगरपालिकास्थित नेपाल इन्भेस्टमेन्ट बैंकले दैलेख र अछामका बासिन्दालाई सेवा दिँदै आएको जनाएको छ। आठबिस नगरपालिकाको डाबस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा कारोबारका लागि आएकी अछाम तुर्माखाद ३ की ७० वर्षीया देवी बुढाले बैंकिङ कारोबार गर्न डाब आउनु परेको गुनासो सुनाइन्।

सदरमुकाम मंगलसेन जान दुई दिन लाग्ने भएपछि उनी कारोबारका लागि तीन घण्टा हिँडेर डाब आइपुगेको बताइन्। उनी मात्र होइन अछामको तुर्माखाद क्षेत्रका बासिन्दालाई बैंकिङ कारोबारका लागि दैलेखको डाब आउन पर्ने बाध्यता छ। तुर्माखादका जयबहादुर बीसीले कारोबारका लागि घण्टौं हिँडेर डाब आइपुगेको गुनासो गरे।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले मुआब्जा वितरण गर्दा अछामका बासिन्दा तीन दिनसम्म हिँडेर खाता खोल्न डाब आइपुगेका थिए। चेक पाएपछि अछाममै चेक साट्न असहज भएपछि फेरि डाबमै पुग्नुपर्ने बाध्यता छ। नेपाल इन्भेस्टमेन्ट बैंक डाब शाखाले दैनिक ५० भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ। स्थानीयस्तरमै बैंक नहुँदा डाब आउनुपर्ने बाध्यता रहेको अछाम तुर्माखादका सूर्यबहादुर थापाले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.