|
प्रतीकात्मक फोटो

लहान : सप्तरीको कञ्चनरुप नगरपालिकाका काकाले भतिजीलाई एक महिनादेखि पटक पटक बलात्कार गर्दै आएको खुलेको छ। २५ वर्षीय उनले सात वर्षीया भतिजीलाई फकाएर र धम्क्याएर एक महिनादेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ। 

बालिकाकी बाबुआमा गाउँ नजिकैको कञ्चनपुर बजारमा व्यापार गर्न गएको मौका छोपेर उनले घरमै बालिकालाई बलात्कार गर्ने गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

बिरामी भएपछि खुल्यो पोल

पटक–पटकको बलात्कारका कारण बालिका सिकिस्त बिरामी परेपछि उक्त घटनाको पोल खुलेको हो। घरमा आमाले सोधखोज गर्दा बालिकाले घटनाको विषयमा सुनाएकी थिइन्। पीडित बालिकाका अनुसार पछिल्लो पटक मंगलबार पनि उनले जबरजस्ती गरेका थिए। 

त्यसलगत्तै पीडित बालिकालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार र स्वास्थ्य परीक्षण गरी शुक्रबार घर ल्याइएको छ। प्रहरीले बलात्कार आरोपी फरार रहेकाले खोजी भइरहेको जनाएको छ। 

पीडित बालिकाको बयान र आमाबाबुको उजुरीका आधारमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

महिनामा चार बलात्कार

जिल्लाका विभिन्न ठाउँमा महिला तथा बालबालिकामाथि बलात्कार र बलात्कार प्रयासका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका अनुसार २०७४ पुस १७ देखि २०७५ असार ७ गतेसम्मको छ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा गरी २४ वटा बलात्कारका घटना भएका थिए। इन्सेकको तथ्याङ्क अनुसार उक्त अवधिमा बालिका बलात्कार २१ र महिला बलात्कारका तीन गरी २४ वटा घटना घटेका छन्।

त्यस अवधिमा भएका २१ वटा बलात्कारका घटनामा दुई वर्षका समेत गरी २२ बालिका पीडित छन्। बलात्कारको घटनामा पाँच वर्षका बालकदेखि ६५ वर्षका वृद्ध गरी २८ जना संलग्न रहेको पाइएको इन्सेकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.