|

काठमाडौं : नेपाली फुटबल जगतका एक महान् हस्ती हुन् राजुकाजी शाक्य। धरानको एक सामान्य परिवारमा जन्मिएका शाक्यको खेलप्रतिको लगाव सानैदेखि थियो। उनी खेलमा सानो छँदा फुटबलभन्दा टेबलटेनिसका उत्कृष्ट खेलाडी थिए। स्कुलस्तरीय प्रतियोगिताहरूमा टेबलटेनिसबाट उनले थुप्रै पुरस्कार जितेका छन्।

तर, उनको फुटबलप्रतिको आकर्षण भने गजबको थियो। सानो हुँदा उनी कहिले फाटेका कपडाको बल बनाएर फुटलको शौख पूरा गर्थे त कहिले भोगटेको बल भनाएर फुटबल खेल्ने गर्थे। फुटबलप्रतिको त्यही लगावले उनी नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी मात्रै भएर चिनिएनन्। राष्ट्रिय फुटबल टिमका कप्तान हुँदै एक सफल प्रशिक्षक र व्यवस्थापकसमेत हुन पगे।

उनले जीवनका सम्पूर्ण ऊर्जाहरू नेपाली फुटबलखेलकै लागि खपत गरेका छन्। ‘सानैदेखिको फुटबलप्रतिको लगावकै कारण म यो ठाउँसम्म पुगेको हुँ। नेपाली फुटबल जगतमा दशक लामो गरेको योगदानका क्रममा जीवनमा धेरै उतारचढाव आएका छन्। तर, म फुटबलबाट कहिल्यै टाढा हुन सकिनँ’, उनले भने।

उनकै कप्तानीमा नेपाली फुटलबल टिमले धेरै सफलता हात पारेको छ। सन १९९३ मा बंलादेशमा भएको साफ गेममा नेपालले एक मात्र स्वर्ण पदक जित्दा उनी राष्ट्रिय टिमका कप्तान थिए। यसअघि १९८४ मा साफ गेममै नेपाली फुटबलले पहिलो स्वर्ण पदक जित्दा उनी राष्ट्रिय टीमका खेलाडी थिए।

यस्तै, उनी खेलाडी हुँदा र कप्तान हुँदा अन्य थुप्रै प्रतियोगितामा सफलता हात पारेका छन्। उनी फुटबल खेल मैदानबाट बिदा भए पनि फुटबलबाट भने कहिल्यै बाहिएनन्। सन् २०१६ मा भारतको आसाममा भएको १२औँ साग गेममा नेपालले फुटबलमा उपाधि जित्दा उनी नेपाली फुटबल टिमका कोचका रूपमा थिए।

शाक्यको फुटबल यात्रा

५७ वर्षअघि पुर्वी नेपालको धरानमा जन्मिएका शाक्यको फुटबलप्रतिको शौख सानै देखिको थियो। तर, व्यवसायिक फुटबलको अवसर भने उनलाई जनकपुर चुरोट कारखानाले दिएको हो।

२०३४ सालमा जनकपुर चुरोट कारखानाले पहिलोपटक फुटबल टिम बनाउँदा उनी जागिरेका रूपमा खेलाडी भएका थिए। खाना बस्नबाहेक खेलाडीहरूलाई जनकपुर चुरोटकारखानाले मासिक पाँच रुपैयाँ तलब दिन्थ्यो। परिवारको सहमति बिनै फुटबल खेल्न जाँदा उनले थुप्रैपटक परिवारको कारबाही भोग्नु परेको थियो।

बेलायती सेनाका जागिरे बुबाको सपना छोराले राम्रो पढोस् भन्ने थियो। नपढे परिवारको सुन व्यवसायलाई अगाडि बढाओस् भन्ने परिवारको चाहना थियो। तर, उनलाई फुटबलप्रतिको मोहले न सुनका गरगहना बनाउन आयो न पढाइ गर्न मन लाग्यो। फुटबलकै कारण बरु धरान छाडेर जनकपुरजस्तो गर्मी सहरमा आएर बसेँ। उनी भन्छन्, ‘फुटबल भनेर घर छोडियो जनकपुरमा गर्मी त्यस्‍तै थियो। त्यसमा ओढ्ने ओछ्याउने राम्रो थिएन। लामखुट्टे टोकाइ त्यस्तै दु:ख त फुटबल खेलको लागि कति गरियो गरियो भनेर साध्य छैन्, बुबा आमाले फुटलल नखेल भनेर कति पिट्थे’, उनले पुराना दिन सम्झँदै भने।

नेपाली राष्ट्रिय टिममा भने उनले २०३८ सालबाट प्रवेश गरेका हुन्। नेपालको फुटबल इतिहासमै सबैभन्दा लामो समयसम्म राष्ट्रिय टिममा रहेर खेलेका उनले १६ वर्षपछि २०५४ सालबाट राष्ट्रिय टिमबाट विश्राम लिएका हुन्। त्यसयता भने उनी कहिले टिम कोच र प्रशिक्षककै भूमिकामा सक्रिय हुने गरेका छन्। उनमा अझैसम्म पनि नेपाली फुटबलको लागि केही योगदान गर्ने हुटहुटी मरेको छैन। उनले भने 'एउटा अन्तर्राष्ट्रिय स्तरकाे फुटबल एकेडेमी सन्चालन गरि बिदेशी खेलाडीहरुसँग अभ्यास खेल खेलाउने इच्छा छ'। 

जागिर गुम्दाको क्षण

राजुकाजी शाक्यले फुटबल करिअर सुरु गर्दा परिवारको साथ थिएन। ०३४ सालबाट जब जनकपुर चुरोटकारखानाले टिम बनायो। अनि उनले खेले बापत महिनाको पाँच रुपैयाँ कमाउने भए। त्यतिखेरको पाँच रुपैयाँ पनि उनलाई ठूलो लागेको थियो।

जनकपुर चुरोटकारखानामा करिब चार वर्षको अनवरत मिहिनेतबाट उनी ०३८ सालमा नेपालको राष्ट्रिय फुटबल टिममा प्रवेश गरेका हुन्। ०३८ सालबाट प्रवेश गरेका शाक्यले ०४८ सालमा नेपाली राष्ट्रिय टिमका कप्तानको जिम्मेवारी पाए। त्यतिन्जेल उनी जनकपुर चुरोटकारखानाको टिम छाडेर रोयल नेपाल एयरलाइन्स कर्पोरेसन (आरएनएसी ) को जागिरे भएर फुटबल खेल्न थालिसकेका थिए।

राष्ट्रिय टिमको कप्तान, आरएनएसीको जागिरे हुँदै फुटबल खेलिरहेका शाक्यले सन् १९९३ मा बंगालादेशमा भएको साग गेममा नेपाललाई स्वर्ण पदक दिलाए। त्यही नेपालको एकमात्र स्वर्ण पदक थियो। तर, देशलाई स्वर्ण पदक दिलाएको खुसी नसकिँदै उनलाई आरएनएसीको जागिरबाट हात धुनुपर्‍यो।

‘देशको लागि फुटबल खेलेर स्वर्णपदक जित्दा जागिरबाट हटाइयो किन हटाइयो त्यो त थाहा भएन। यो मेरो जीवनको सबैभन्दा दु:खद क्षण थियो। देशको नाम राख्दा जागिर गुमेको थियो,’ उनले थपे, ‘यस्ता थुप्रै क्षणहरू छन् मेरा खेल जीवनका यी जति कोट्याउन खोजे त्यति मन भारी भएर आउछ,’ उनले भने, 'साग गेममा देशलाई स्वर्ण पदक जिताउने अन्य खेलाडीले धेरै सम्मान पाएका छन्। मैले देशलाई जिताएको स्वर्ण पदकको गणना भएन त्यो किन हो थाहा छैन्,'उनले दु:खेसो सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.