|

लमजुङ : ‘तालमा रहेको इन्द्रकमलको गेडाको माला गलामा लगाउँथ्यौं। अझै पनि मेरो घरमा हुनुपर्छ है इन्द्रकमलको गेडा!’ फुलेको कपाल झरेर बाँकी रहेको सेतो कपालसहित टाउको हल्लाउँदै ७८ वर्षीय खम्बसिङ धितालले बताए, ‘इन्द्रकमलको डाँठ मीठो हुन्थ्यो। डाँठ चपाउनका लागि बुढापाकादेखि हामी केटाकेटीहरू हारा लुच्छी गर्थ्याैं।’ 

अहिले इन्द्रकमल फूलको कुरा गर्दा जनमानसमा लोक गीतको याद आउँछ। इन्द्रकमलको याद दिलाउने धार्मिक र पर्यटकीय स्थल हो बेसीशहर नगरपालिका २ को तालफाँट। ‘पहिले ठूलो ताल थियो। २००७ सालको बाढी र पहिरोले ताल पुरियो।’ स्थानीय ज्येष्ठ नागरिक खम्बसिङ धितालले बताए। धितालका अनुसार अहिलेको भन्दा १७ गुणा बढी क्षेत्रफलमा ताल थियो। यहाँको खेत तालबाट नै सिंचाई गरिने हुँदा यो वस्तीको नाम तालफाँट नामाकरण भएको ताल संरक्षण समाजका अध्यक्ष बुद्धिबहादुर धितालले बताए।

तालको संरचना हराउँदै जान थालेपछि स्थानीय क्लव लेक भ्यू ग्रीन सोसाइटीले साविककाे गाउँशहर गाविस ६ र ७ का स्थानीयलाई भेला गरी ताल संरक्षण गर्न ताल संरक्षण समाजको गठन गरिएको समाजका अध्यक्ष धितालले जानकारी दिए। अध्यक्ष धितालका अनुसार अहिले तालको पुनर्संरचना ३ रोपनी जग्गामा भएको छ। ‘खडेरी हाल्दा २०७३ सालमा असार २५ गतेसम्म यहाँका खेतमा रोपाइँ भएन। तालमा अवस्थित बराहको पूजा गरेपछि वर्षा भयो र स्थानीयले खेतमा रोपाइँ सुरु गरे।’ तालफाँटका स्थानीयवासी नवीन धितालले बताए। खडेरी परेपछि स्थानीयले पहिलेदेखि नै तालबराहीलाई धुमधामसँग वैदिक विधि अनुसार पूजा गरेर खुशी पार्दथे। यो क्रम अहिले पनि जारी छ।

ताल संरक्षण समितिको नेतृत्वमा ताल बराह मन्दिरको पुनःसंरचनाका लागि ९९ लाख रुपैयाँ लागत तयार गरिएको र अहिले मन्दिरको यो अवस्थासम्म आइपुग्न ५५ लाख खर्च भइसकेको समितिका सदस्य अंकुर धितालले जानकारी दिए। मन्दिरको पुनःसंरचनाको पहिलो चरणमा समितिले चन्दा संकलन र सहयोगबाट ५ लाख जम्मा गरेका थिए। अहिले नगरपालिका, सरकारी तथा गैरसरकारी संस्थाहरूबाट पनि रकम आउने क्रम चलेको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाका पूर्व अध्यक्ष एवं तालफाँटका स्थानीय कृष्ण केसीले तालबराह मन्दिर जिल्लाको गौरव भए पनि यो क्षेत्र ओझेलमा परेको बताए।

मन्दिरको गतिलो पुनर्संरचनाको विषयमा नगरपालिका र वडा कार्यालयले पनि हरेक वर्ष बजेट बिनियोजना गरेको वडा अध्यक्ष गणेशबहादुर कँडेलले बताए। ताल बराहको संरक्षणका लागि गत ६ वर्षदेखि निरन्तर खटिरहेको र धार्मिक आस्था बृद्धि गर्नका लागि टेवा पुग्ने तालफाँटका स्थानीय एवं लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले जानकारी दिए।

हुन त लमजुङ जिल्ला धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको संगम भएको जिल्ला भनेर पनि चिनिन्छ । कालिका मन्दिर, दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, कर्पुरेश्वर महादेव मन्दिरलगायत दर्जनौं धार्मिक स्थलमध्ये लमजुङ सदरमुकाम नजिकमा रहेको ताल बराह मन्दिर चर्चामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.