|

कञ्चनपुर : बालिकाको हत्यारालार्इ पत्ता लगाउन माग गर्दै स्थानीयले महिन्द्रनगर बजार बन्द गरेका छन्। भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको शव शुक्रबार उखुवारीमा भेटिएको थियो। शव फेला परेपछि हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले शनिबार महेन्द्रनगर बजार बन्द गरेका हुन्।

शुक्रवार बालिकाको शव नगरपालिका-१८ निम्बुखेडास्थीत उखुबारीमा फेला परेपछि स्थानीय बासिन्दाले शुक्रबार देखिनै महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गर्दै आएका छन्। बजार क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बासिन्दाले नारा जुलुससँगै टायर बालेर विरोध गरिरहेका छन्।

विरोध प्रर्दशनमा सहभागी रहेका सुरज पन्तलगायत दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए। संकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिने र छाडने कार्य भइरहे पनि हालसम्म हत्यारा पत्ता लाग्न नसकेको उनले बताए। ‘हत्याराको खोजीका लागि प्रहरीको टोलीलाई खटाइ सकेका छौँ’ उनले भने, 'बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।'

उनले बालिकाका हत्यारालाई पत्ता लगाउन माग गर्दै पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा समेत स्थानिय बासिन्दाले अवरोध गरेको बताए। उनका अनसार शुक्रबार हत्यारा पत्ता लगाउनु पर्ने माग गर्दै गरेको प्रदर्शनमा स्थानीय आक्रोशित भएपछि झडप हुँदा दुईजना प्रहरी र एकजना प्रदर्शनकारी घाइते भएका थिए।

बालिकाको हत्याको यहाँका राजनीतिक दल, मानवअधिकारवादी, नागरिक समाज र जनप्रतिनिधहरूले भर्त्सना गरेका छन्। दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.