|

कञ्चनपुर : जिल्लाको वेदकोट धार्मिक पर्यकीय क्षेत्रमा भौतिक संरचनाको व्यवस्था हुन थालेपछि पर्यटकको रोजाइमा पर्न थालेको छ। पर्यटकीय क्षेत्रको संरक्षण र भौतिक निर्माणले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको हाे। 

पर्यटकीय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटकीय क्षेत्रबारे जानकारी दिन सूचना केन्द्र, प्रवेशद्वार, पिकनिक स्पट निर्माण र दृश्यावलोकनका लागि भ्यू टावरको निर्माण गरिएपछि एकान्तमा रम्न चाहनेका लागि वेदकोट क्षेत्र गतिलो गन्तव्य बन्न थालेको छ। धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा परिचित रहेको वेदकोट क्षेत्रको विकासका लागि दीर्घकालीन योजनाहरू अगाडि बढ्न थालेपछि पर्यटक बढ्न थालेका छन् शिक्षक थिरेन्द्रचन्द्र भट्टले भने, ‘जनप्रतिनिधि आएपछि पर्यटकीय क्षेत्रले फड्काे मार्न थालेको छ।’

पर्यटकलाई विश्राम गर्नका लागि आवास र ताल संरक्षणका लागि कार्यक्रम अगाडि बढाइनु पर्ने उनले बताए।  वेदकोट क्षेत्रमा रहेका प्राचीन धार्मिक संरचनाहरूको संरक्षण संवर्द्धन र ताललाई जोगाउनका लागि खहरे खोला नियन्त्रण गर्न दीर्घकालीन योजनाको आवश्यकता रहेको उनको भनाई रहेको छ। उनका अनुसार बर्षेनी खहरे खोलाहरूले बगाएर ल्याउने माटो, बालुवा र ढुंगाका कारण वेदकोट क्षेत्रमा रहेको ताल पुरिने क्रम जारी रहेको छ। तालको पूर्वतर्फ रहेको बुढा बैजनाथ मन्दिरको नजिकै भएर वर्षातमा बग्ने खहरे खोला र उत्तरतर्फबाट आउने खहरे खोलाका कारण ताल पुरिन थालेको उनले बताए। ताललाई बचाउनका लागि केही कार्यहरूअगाडि बढे पनि पर्याप्त नरहेको उनले बताए। 

चुरे क्षेत्रको विनासका कारण प्रतिवर्ष तालको उत्तर तर्फका पहाडहरूमा पहिरो जाने र सो पहिरो खहरे खोला हुँदै तालमा पुग्ने भएकाले ताल संकटमा पर्दै गएको छ। ११ मिटर गहिराई भएको ताल छ वर्षदेखि खहरे खोलाहरूले ताल पुर्ने क्रम जारी राखेपछि तालको गहिराइमा तीन मिटर बढीले कमी आएको छ। ताल पुरिँदै जान थालेपछि तालमा रहेका कछुवा, गोही, माछा र सर्प लगायतका जलचरहरूको अस्तित्व समेत लोप हुने संघारमा पुगेको छ।

एक हजार ४७२ मिटर क्षेत्रफलमा फैलिएको ताल खुम्चिँदै जान थालेपछि यहाँका स्थानीय चिन्तित भएका छन्। प्राकृतिक रुपमा समेत यो क्षेत्र मनोरम रहेको छ। परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरूले यस क्षेत्रमा आएर बेदधुनी जगाएकाले यस क्षेत्रको नाम वेदकोट रहन गएको जनश्रुति रहेको छ। यो क्षेत्र प्राचीनकालमा ऋषिमुनीहरूको तपोभूमिका रुपमा समेत परिचित छ।

वेदकोट भ्रमण वर्ष 

वेदकोट नगरपालिकाले वेदकोट भ्रमण वर्ष २०७५ घोषणा गरेको छ। वेदकोटका रमणीय पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउनका लागि नगरपालिकाले कार्य अगाडि बढाएको छ। पर्यटकीय रुपमा आकर्षणका केन्द्रका रुपमा रहेका प्राकृतिक, पुरातात्विक र धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि  एक करोड रकम विनियोजन गरेको नगरप्रमुख अशाेककुमार चन्दले बताए। पर्यटकीय प्रचार संभावना रहेका क्षेत्रको विकास लागि बजेटको व्यवस्था भइसकेकाले द्रूत गतिमा कार्य अगाडि बढाइएको उनले बताए।

वेदकोटमा पर्यटकीय क्षेत्रका रुपमा वेदकोट ताल, शिबलिंगेश्वर धाम, सिद्धसरोवर, भम्केश्वर मन्दिर, बन्दा ताल लगायत रहेका छन्। पर्यटकहरूलाई पर्यटकीय क्षेत्रकाबारे जानकारी उपलव्ध गराउनका सूचना केन्द्र समेत सञ्चालनमा ल्याएको छ। वेदकोट धार्मिक क्षेत्रमा वेदकोट तालको सरसफाई, टेवा पर्खाल निर्माण, सार्वजनिक शाैचालय र धाराको व्यवस्था गरिएको छ।  

सबै भन्दा बढी पर्यटकको चाप रहेको शिवलिंगेश्वरमा प्रवेशद्वार र पर्यटकका लागि सेल्फी प्वाइन्ट निर्माण गर्ने कार्य पूरा भएको छ। यस क्षेत्रमा धर्मशाला, मन्दिर निर्माण,पार्क शाैचालय, खानेपानी, टिकट घर, चौकीदारको व्यवस्था र पिकनिक स्पट निर्माणका लागि कार्य अगाडी बढाइएकाे छ। वेदकोट ताल लिंगा जोड्नका लागि समेत जैविकमार्ग बनाउन कार्य अगाडि बढाउनका लागि वातावरणीय प्रभावका कार्य अगाडि बढाइएको छ। भम्केश्वर मन्दिरको छेउमा भव्य मन्दिर बनाउने कार्यसँगै बन्दा ताल सँगै जोडिएको चुनेपानीमा तीर्थयात्री बस्न घर निर्माणको कार्य यस वर्ष नै पूरा हुने नगरप्रमुख चन्दले बताए। 

लिपना वेदकोट र शिबलिंगेश्वर धाम जोड्न केबुलकार 

लिपना, वेदकोट र शिबलिंगेश्वर धाम जोड्नका लागि केबुलकारको व्यवस्था गर्न नगरपालिकाले नीजि क्षेत्रलाई सहभागी गराउने महत्वकांक्षाी योजना अघि सारेको छ। यसका लागि नीजि क्षेत्रको सहयोगमा संभाव्यता अध्ययनको कार्य गरिएको छ। ‘पर्यटकको आकर्षक बढाउनका लागि यस कार्यले निकै टेवा पुर्‍याउने भएकाले यसलाई प्राथमिकतामा राखेका छौं’ नगरप्रमुख चन्दले भने। 

वेदकोट नगरपालिकाका बस्तीसँगै पर्यटकीय क्षेत्रलाई सडक संजालमा जोड्नका लागि रिङरोड बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि नगरपालिकाले ४५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ। भम्केश्वर मन्दिरको छेउमा भव्य मन्दिर बनाउने कार्य सँगै बन्दा ताल सँगै जोडिएको चुनेपानीमा तीर्थयात्री बस्ने घर निर्माण गरिएको छ। 

दृश्यावलोकनका लागि भ्यू टावर 

बेतकोट धार्मिक क्षेत्र र तराईको दृश्यावलोकनका लागि  ताल क्षेत्रमा भ्यू टावर निर्माणको कार्य पूरा भएको छ। ठेक्का प्रक्रियाद्वारा ७५ लाखको लागतमा दृश्यावलोकनका लागि छ तल्लाे टावर निर्माण कार्य सुरु गरिएको हो। पाँच तले भ्यू टावर निर्माणका लागि नगरपालिकाले कुल लागतको ३० प्रतिशत र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७० प्रतिशत रकम व्याेहोर्ने गरी ६० लाखमा भ्यू टावर निर्माणको कार्यलाई अगाडि बढाएको थियो। नगरपालिकाको नगर सभाले एक तला थप बनाउनका लागि स्वीकृति प्रदान गरेपछि टावर निर्माणाको लागत ७५ लाख पुगेको छ। थप १५ लाख नगरपालिकाले व्याेहोर्ने गरी टावर निर्माणको कार्य भइरहेको नगरप्रमुख चन्दले बताए।

वेदकोट धार्मिक क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २२ किलोमिटर टाढा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.