|

बुटवल : रुपन्देहीको भैरहवा बजारका अटो ग्यारेजलाई एउटै ठाउँमा ल्याउनका लागि निर्माण गर्ने भनिएको अटो भिलेजको काम अलपत्र परेको छ। सिद्धार्थनगर नगरपालिका ९ गोनहियामा अटो भिलेज निर्माणका लागि २०७० सालमा नगरपालिका र व्यवसायीबीच सम्झौता भएको थियो। 

करिब ३०० व्यवसायीहरूमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा १० बिघाहा जग्गा खरिद गरेका थिए। तर नगरपालिकाले सम्झौता कार्यान्वयनमा ढिलाई गरेपछि उनीहरु अलमलमा छन्। ‘नगरपालिकासँग सम्झौता भएअनुसार बैंकबाट ऋण लिएर जग्गा खरिद गरेर भवन बनायौं। अहिले नगरपालिकाले नै आलटाल गरिरहेको छ। नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले भने।   

अटो भिलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न व्यवसायीहरूले पहल गरेपनि सरकारी कार्यालयले सहयोग नगरेको गुनासो गर्छन्। ‘विद्युतका लागि विद्युत कार्यालय जाँदा नगरपालिका पठाउँछ, नगरपालिका गए कुरै सुनिदैन,' उनी भन्छन्, ‘हामी ऋणमा डुबिसक्यौं। हाम्रो व्यथा बुझ्ने कोही भएन।’ खरिद गरेको जग्गामा विद्युत नभएपछि व्यवसायीहरू अटो भिलेज छाडेर बजार क्षेत्रमै फर्किएका छन्। ‘विद्युत नभएपछि बजार क्षेत्रमा फर्किन बाध्य भयौं।’ व्यवसायी राजेश धवल भन्छन्। 

नगरपालिकासँग भएको सम्झौताअनुसार अटो भिलेजबाहेक अन्यत्र अटो भिलेज निर्माण गर्न पाइँदैन। तर ठूला व्यवसायीले मनपरी गर्दा साना व्यवसायी मर्कामा परेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका दिलबहादुर श्रीसले बताए। ‘नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीका दाइ भीम अधिकारीले नै मिनी अटो भिलेज चलाइरहनु भएको छ। यसैले पनि नगरपालिकाले अटो भिलेज चलाउन चासो दिएको छैन’ उनी भन्छन्। 

नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी अटो भिलेजका जग्गा व्यक्तिगत भएकाले यसबारे छलफल भइरहेको बताए। ‘हामीले सञ्चालनमा नल्याउने भनेका छैनौं,’ उनले भने,‘नगरपालिकाले उपयुक्त हिसावले योजना बनाएर निर्माण अघि बढाउँछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.