|

काठमाडौं : युवा समाजसेवी स्वर्गीय खेम ओझाको नाममा स्थापित खेम ओझा स्मृति प्रतिष्ठानले यस वर्षका लागि नेपाली साहित्य, कला र संगीतका क्षेत्रका विभिन्न पुरस्कारको घोषणा गरेको छ । १० हजार रुपैयाँको ‘खेम ओझा स्मृति पाण्डुलिपि पुरस्कार, २०७४’ यस वर्ष निबन्धकार शीतल गिरीको पाण्डुलिपि ‘जीवाष्म’लाई दिने निर्णय गरेको छ । यसरी नै पाँच हजार रुपैयाँको ‘खेम ओझा स्मृति उत्कृष्ट कृति पुरस्कार, २०७४’ विवेक ओझाको उपन्यास ‘ऐलानी’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच हजार रुपैयाँ राशिको ‘खेम ओझा स्मृति संगीत पुरस्कार, २०७४’ युवागायक शिव परियारलाई तथा पाँच हजार राशिकै ‘खेम ओझा स्मृति कला पुरस्कार, २०७४’ युवाकलाकार देवेन्द्र काफ्ले ‘थुम्केली’लाई प्रदान गर्ने निर्णय भएको छ ।

पाण्डुलिपि तथा उत्कृष्ट कृति पुरस्कार छनोट समितिका निर्णायकहरू साहित्यकार/समालोचकहरू महेश पौड्याल, गीता त्रिपाठी र प्रभाती किरण रहेका थिए । यसरी नै कला र संगीत पुरस्कार छनोट समितिका निर्णायकमा संगीतकार सन्तोष श्रेष्ठ, गायिका निशा देसार र कलाकार केशवराज खनाल रहेका थिए ।

समाजसेवा, साहित्य, कला, संगीतका क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको प्रतिष्ठानले गत वर्ष पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर उक्त पुरस्कारहरूको घोषणा गरेको थियो ।

पुरस्कारहरू आगामी साउन २६ गते शनिबार शिल्पी थिएटर, बत्तीसपुतलीमा आयोजित विशेष कार्यक्रमका बीच प्रदान गरिने प्रतिष्ठानका महासचिव घनेन्द्र अोझाद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.