'कायरा' सफल हुनेमा विश्वस्त छन् आर्यन

|
फोटो : निरज पन्थी

काठमाडौं : सुन्दर रूप, मिलेको ज्यान, अग्लो कद, मन्द मुस्कान। नायक आर्यन सिग्देलको परिचय दिँदा कोही कसैले नछुटाउने उनका यी विशेषता हुन्। सायद फिल्मको नायकमा हुनुपर्ने सम्पूर्ण गुण उनमा थिए।

उनलाई नायक नै बन्नु थियो होला, उनी आफू नायक बन्ने सोच नहुँदा पनि फिल्मको पात्रहरूको कपी गर्थे। फिल्ममा नायकले जे गर्‍यो त्यहीँ गर्न खोज्थे। सानो उमेर छँदा सानो उमेर भएकै पात्र र उमेर बढ्दै गएसी उमेर मिल्ने पात्र। उनी कोठाको ढोका बन्द गरेर घरी नाच्थे त घरी क्यारिकेचर गर्न लाग्थे। 'मलाई फिल्मको हिरो बन्छु भन्ने थिएन, तर पनि फिल्म हेरेर आएपछि म त्यहीँ फिल्मको हिरोको जस्तै अभिनय गर्न खोज्थें', आर्यन भन्छन्, 'अनि ऐना हेरेर नाच्थे पनि।'

हिरो हैन सलमान बन्ने सोच

आर्यनलाई सानो उमेरमा हिरो बन्ने सोच थिएन। तर, पनि हिरो बन्ने इच्छा मनमा कता कता लुकेर बसेको थियो। उनी हरेक शनिबार फिल्म हेर्ने गर्थे। फिल्म हेरेर घर फर्किएपछि फिल्मको पात्रको अभिनय कपी गर्न खोज्थे। आर्यन भन्छन्, 'त्यो बेला मैले हिरो बन्छु वा कलाकार बन्छु भनेर त्यो गरेको थिइन्।'

एक दिन उनी ड्याडीसँगै हिँडिरहेका थिए। उनका ड्याडी एकजना मान्छेसँग भेटघाटको लागि गएका थिए। आर्यन र उनको ड्याडीले जो मान्छे भेटे ऊ मनकामना हलका सञ्चालक रहेछन्। र उनले आर्यन र उनको ड्याडीलाई फिल्म हेर्न सुझाए। आर्यन् भन्छन्, 'उहाँ हलवाला हुनुहुँदो रहेछ। उहाँले नै फिल्म हेर्न जानु भनेपछि ड्याडी र म फिल्म हेर्न गयौँ।'

हलमा सलमान खानको 'जब प्यार किसी होता हे' चलिरहेको थिए। उनीहरूले त्यहीँ फिल्म हेरे। जब फिल्म हेरेर बाहिर निस्किए उनीमा सलमान बन्ने भूत चड्यो। आर्य सम्झिन्छन्, 'त्यो फिल्म हेरेपछि के भयो भयो भित्रैबाट सलमान खान बन्छु भन्ने लाग्यो।

जम्मा १८ वर्षका थिए आर्यन। उनले हिरो बन्ने सोच मनबाट दिमागसम्म ल्याए। हिरो बन्न ज्यान बनाउनुपर्छ भन्ने सोचले उनले जिम सुरु गरे। 'हिरो बन्न ज्यान चाहिन्छ भनेर जिम जान थालेँ', उनी भन्छन्, 'मेरो त त्यो बेलामा नै सिक्स प्याक बनेको थियो।'

***

आर्यनले इन्टर सके। त्यहीबेला उनको चिनजानको निराजन भन्ने दाइले उनलाई स्टेज सो मा लग्ने भए। 'दाइले त यति राम्रो छस्, नाच्छस् पनि जाम न हिँड स्टेज प्रोग्रामहरूमा रमाइलो हुन्छ भन्नुभयो', उनी भन्छन्, 'भित्री रहर थियो नै। अब चाहिँ बाटो खुल्ने भयो भन्ने लागरे स्टेज सो मा गए।' आर्यनले धेरै ठाउँमा स्टेज सो पनि गरेका छन्। नाच्ने, गाउने, ड्रामा गर्ने सबै उनले गरिसकेका छन्।

स्टेज सो, ड्रामाहरू गरिरहेका थिए आर्यन। तर, उनले पारिश्रमिक भने पाउँदैनथे। त्यही कारण पनि उनले यो क्षेत्रलाई छोड्ने निधो गरे। उनी भन्छन्, 'काम गर्‍यो पैसा चाहिँ कसैले दिँदैन। त्यसैले एक वर्ष त कामै नगरी बसेँ।'

आर्यनले यो क्षेत्रमा काम गर्ने इच्छा मारिसकेका थिए। एक दिन उनलाई फोन आयो। उनलाई बन्न लागेको सिरियल, 'चिताको ज्वाला'बाट अफर गरिएको थियो। उनले सुरुमै पैसा दिने भए मात्र काम गर्ने प्रस्ताव राखे। निर्माण युनिटले पनि पारिश्रमिक दिने सर्तमा उनलाई सिरियलमा अनुबन्धित गरायो।

धेरै वटा डमी खिचिसकेपछि पनि कुनै पनि एपिसोड प्रशारण भएन। धेरै पछि मात्र उनको गंगा जमुना नामक सिरियल प्रशारण भयो। लगत्तै, हाउसफुल पनि प्रशारण भयो। उनी भन्छन्, 'त्यसपश्चात मैले धेरै सिरियलमा काम गरेँ।'

सिरियलमा काम गरिरहेका उनलाई फिल्मबाट पनि अफर आइरहेको थियो। तर, राम्रो स्कृप्ट पाएको खण्डमा मात्र अभिनय गर्ने सोचले उनले फिल्ममा हात हालेका थिएनन्। उनी भन्छन्, 'फिल्म गर्ने भएपछि राम्रो फिल्म र राम्रो ब्‍यानरबाट नै गर्छु भन्ने लागेर फिल्ममा काम गरेको थिइनँ।'

'किस्मत'को रमाइलो अफर

छविराज प्रोडक्सनको ब्‍यानरमा किस्मत बन्न लागेको थियो जुन फिल्मलाई उज्‍ज्‍वल घिमिरेले निर्देशन गर्नेवाला थिए। छविराज ओझा र उज्‍ज्‍वलको सहमतिमा फिल्ममा नयाँ कलाकारलाई ल्याउने तय भएको थियो।

छविले आर्यनलाई हरिश सिग्देल भनेर चिन्थे। छविले उनलाई हिम्मत फिल्ममा खेलाउने निधो गरेका थिए, तर, आन्तरिक असमझदारीका कारण उक्त फिल्ममा आर्यनले खेल्न पाएका थिएनन्। त्यसैले पनि छविले किस्मतमा भने हरिश सिग्देल (आर्यन)लाई लिने निर्णय गरेका थिए।

उता, उज्ज्‍वलले आर्यनलाई खुसी पलभरको नामक सिरियलबाट चिन्थे। जहाँ आर्यनलाई हरिशभन्दा पनि आर्यन भनेर बढी चिन्थे। त्यसैले पनि उज्ज्‍वलले किस्मतमा आर्यनलाई लिने निधो गरे।

दुवैको रोजाइको व्यक्ति एक थियो, तर दुवैले आर्यनलाई फरक-फरक नामले चिन्थे। एकले हरिश र अर्कोले आर्यन। तर, आर्यनको वास्तविक नाम भने हरिश नै थियो।  

एक दिन उज्‍ज्‍वलले आर्यनलाई भेट्न बोलाए। भेटमा उज्‍ज्‍वलले भने, 'छविजीले हरिश भन्ने केटालाई फिल्ममा लिने भन्दै हुनुहुन्छ त्यही भएर मैले पहिल्यै तिमीलाई बोलाएको। अब तिमीलाई देखेपछि छविजीले नाइँ भन्नुहुन्न।' आर्यनले मन्द मुस्कानसहित हरिश पनि आफैँ भएको बताए। एकछिन माहोल हासोमय बनेको थियो।

पहिलो फिल्म नै हिट

आर्यनले किस्मतबाट फिल्ममा डेब्यु गरे। किस्मतमा उनीसँगै विराज भट्ट र रेखा थापा पनि मुख्य भूमिका थिए। फिल्म एकदमै हिट भइदियो। आर्यनको काम र लुक्सको प्रशंसा पनि उत्तिकै भयो। उनी स्टार बने।

फिल्म हिट हुँदा पनि आर्यनलाई भने त्यसको खासै मतलब थिएन। 'साथीहरूले फिल्म हिट भयो भन्दा पनि ममा कुनै उत्साह नै थिएन', उनी भन्छन्, 'भयो त भयो अब के?' उनी फिल्म हिट हुँदा आफ्नो यत्तिका क्रेज बन्छ भन्ने कुरामा अनभिज्ञ नै थिए। उनी सिरियलमै रमाइरहेका थिए।

उनले फिल्म हिट भएपछि धेरै स्कृप्टहरू छोडेर एक वर्षसम्म कुनै फिल्ममा काम गरेनन्। उनी भन्छन्, 'राम्रो स्कृप्ट र राम्रो पारिश्रमिक नपाएका कारण मैले कुनै फिल्ममा काम गरेको थिइनँ।

'मेरो एउटा साथी छ'ले दिएको प्रेसर

आर्यनको दोस्रो फिल्म मेरो एउटा साथी छ रिलिज भयो। त्यसपश्चात् उनको मोबाइलमा अत्याधिक घण्टी बज्न थाल्यो। घरसम्म धेरै स्कृप्टहरू आइपुगे। आर्यन सम्झन्छन्, 'हिट हुँदाको असली प्रेसर त बल्ल थाहा पाएँ।' फिल्म हेरेका सबैले उनको प्रशंसा गरे।

आर्यनमा एउटा डर गड्यो। 'अब कस्तो फिल्ममा काम गर्ने त?' उनी यस कुरामा सचेत रहे। 'दर्शकले यत्तिका माया दिनुभएको छ फिल्म त राम्रो नै गर्नुपर्‍यो', उनी भन्छन्, 'अब फिल्म गर्दा कस्तो फिल्म गर्ने, कसरी गर्ने, गरेको फिल्म मेरो एउटा साथी छ जस्तो हुने हो वा हैन? यी कुराले निकै प्रेसर भयो मलाई।'

'मेरो एउटा साथी छ'सम्म सजिलै आएका आर्यनले अब आफ्नो स्ट्रगल सुरु भएको ठाने। भन्छन्, 'अब मलाई मेरो पहिलेको फिल्म लेभलको फिल्म छान्ने र अभिनय गर्ने स्ट्रगल सुरु भएको थियो।'

आर्यनले तेस्रो फिल्मका रूपमा 'कसले चोर्‍यो मेरो मन'मा काम गरे। जुन फिल्म पनि हिट भयो। उनी भन्छन्, 'त्यसपश्चात् गरेका धेरै फिल्म हिट भए।'

तर, मेरो एउटा साथी छ भन्दा पछाडि आर्यन धेरै राम्रो फिल्ममा काम गर्न नपाएको गुनासो सुनाउछन्। भन्छन्, 'मैले फिल्म त राम्रो नै छानेर गरेँ। तर, राम्रोबाट धेरै राम्रो फिल्म चाहिँ गर्न पाइनँ।'

लभ स्टोरी फिल्मको एक मात्र विकल्प आर्यन

कुनै एउटा यस्तो समय थियो जुनबेला आर्यन सिग्देलको क्रेज एकदमै बढ्यो। जो निर्माता पनि उनलाई फिल्म खेलाउन तयार भए। लभस्टोरी फिल्ममा त झन् उनको विकल्पमा अरू कोही नै थिएन। आर्यनले धेरै लभ स्टोरी फिल्ममा काम गरेका छन्। धेरै सफल पनि छन्। उनी भन्छन्, 'मेरो लागि ट्याग नै लभर ब्वाई दिइएको थियो।'

तर, आर्यनलाई अरूअरू क्यारेक्टरमा पनि काम गर्ने इच्छा जाग्थ्यो र गरे पनि। तर, फरक भूमिकामा प्रस्तुत भएका फिल्महरू सफल भएनन्। उनी भन्छन्, 'लभस्टोरी फिल्ममा मलाई जति स्वीकार्नुभएको थियो त्यो अरू फिल्मबाट पाइनँ।'

उनी जहाँ जान्थे दर्शकले उनको लभस्टोरी फिल्म खोज्थे। 'धेरैको जिज्ञासा एउटै हुन्थ्यो तपाईंको लभस्टोरी फिल्म कहिले आउँछ?', उनी सुनाउछन्, 'त्यसैले आर्यन इज ब्याक विथ लभस्टोरी फिल्म।'

हिट हुने विश्वाससहितको 'कायरा'

आर्यनका पछिल्लो समय प्रदर्शनमा आएका फिल्म हिट छैनन्। उनले यस कुरालाई मनन गरेका छन्। भन्छन्, ‘केही वर्ष भएको छ, दर्शकले मबाट गरेको अपेक्षाअनुसार फिल्म नपाएको, त्यस अभावलाई पूरा गर्न कायरा बनाएको हुँ।'

'कायरा'सँगै आफ्नो पुरानो स्टारडम फर्किनेमा आर्यन ढुक्क छन्। 'म फिल्म क्षेत्रबाट हराएको हैन', उनले भने, 'मैले राम्रो फिल्म छानेर काम गर्ने स्ट्रगल अझै गरिरहेको नै छु।' उनी आफूले जानेको र गर्ने काम भनेको नै फिल्म भएको बताउँछन्। 'सुहाउँदो क्यारेक्टर र राम्रो स्कृप्टको अफर आएसम्म फिल्ममा अभिनय गर्छु नत्र कुनै न कुनै तवरबाट फिल्म क्षेत्रमा नै रहनेछु।'   

आर्यनले निर्माण तथा अभनय गरेको फिल्म 'कायरा' यही शुक्रबारबाट रिलिज हुँदै छ। उनी कायरा सफल हुनेमा निकै विश्वस्त देखन्छन्। भन्छन्, 'मेरो करिअरमा धेरै फिल्ममा काम गरे। तर, यत्तिको विश्वस्त हुन सकेको थिएन। यो फिल्म एकदमै राम्रो बनेको छ र दर्शकले मन पराउनेमा विश्वास छ।'

यस फिल्ममा आर्यनले नायिका साम्राज्ञी राज्यलक्ष्मीसँग जोडी बाँधेका छन्। उनीहरूको जोडीलाई लिएर अहिले निकै चर्चा भइरहेको छ। फिल्मको सार्वजनिक ट्रेलर र गीतमा पनि दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन्। त्यसैले पनि आफू ढुक्क रहेको आर्यनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.