|

काठमाडौं : एनआइसी एसिया बैंकको भक्तपुरस्थित दुवाकोट शाखामा प्राध्यापकहरूले आइतबार धर्ना दिएका छन्। नेपाल इन्जिनियरिङ क्याम्पसबाट आउनु पर्ने पैसा बैंकमा जम्मा भएको र बैंकले भुक्तानी नगरको भन्दै आइतबार १० बजेदेखि करिब एक घण्टा धर्ना दिएका हुन्।

'हामीले बैंकमा पैसा राखेका थियौँ, बैंकले भुक्तानी नदिएपछि धर्ना दिन बाध्य भयौँ' क्याम्पश प्रध्यापक तथा संचालक दीपक भट्टराईले थाहासँग भने। नेपाल इन्जिनियरिङ क्याम्पसका प्राध्यानाध्यापक, सहप्राध्यानाध्यापक, लेखा प्रमुख र सहप्रमुखको संयुक्त खाता यो शाखामा रहेको थियो।

यसअघि सहज रूपमा काम  भएता पनि पाँच महिनाअघि विद्यार्थीबाट उठाएको शुल्क र सरकारले दिने छात्रावृत्तिको रकम एक मुष्ट चार करोड २६ लाख रुपैयाँ बैंकमा जम्मा गरेपछि समस्या आउन थालेको हो। यो रकम बैंकमा जम्मा गरिएको एक दिनमै खाता रोक्का गरिदिएको गुनासो इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूको गुनासो रहेको छ।

आइतबार संयुक्त रूपमा हरेको खाताबाट कर्मचारीको तलब र क्याम्पसको नियमित कामको लागि ४२ लाख रुपैयाँको चेक काटिएको थियो। बैंक खाता रोक्का भएको कारण पैसा नदिने अडान बैंक शाखाले जनाएपछि प्राध्यापक र केही स्थानीयहरूसमेत बैंकविरुद्धमा आन्दोलनमा उत्रेका थिए।

क्याम्पसको खाता व्यक्तिको नाममा!

इन्जिनियरिङ क्याम्पसको नियमित काम कारबाही तथा शिक्षकको तलब दिनको लागि चारजना व्यक्तिको नाममा खाता संचालन गरिएको छ। यही खातामा विद्यार्थीबाट उठाएको पैसा पनि संकलन गरिएको छ।

सामान्यतय क्याम्पसको नाममा नै खाता संचालन गर्नुपर्ने भएता पनि क्याम्पसको नाममा खाता रोक्का भएपछि यो विकल्प अपानाइएको थियो। क्याम्पसमा दुईपक्षीय विवाद कारण एक पक्षकोले उजुरी दिएपछि क्याम्पसको खाता रोकिएको प्राध्यापक भट्टराई बताउँछन्। उनका अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयले दुईपक्षीय विवादबीच पनि पठनपाठन र दैनिक काम कारबाही नरोक्न निर्देशन दिएपछि पुनः बैंक खाता संचालन सुचारु भएको थियो।

त्यसपछि एनआइसि एसिया बैंकसँगको परामर्शमा खाता खोलिएको उनले बताए। 'हामीले यस्तो भएपछि के गर्ने भनेर हाम्रो समस्या देखाएर बैंकहरूसँग सल्लाहा गर्‍यौ सबैभन्दा बढी व्याज र अन्य सुविधा पनि बढी दिने भनेपछि एनआइसी एसिया बैंकका खाता खोलिएको हो' भट्टराईले भने खाता रोक्का भएपछि करिव चार महिनादेखि प्राध्यापकको तलवदेखि नियमित कामकारबाहीमा समस्या परेको थियो।

किन दिएन बैंकले पैसा

एनआइसी एसिया बैंकले भने क्याम्पसको अर्को पक्षले उजुरी हालेका कारण पैसा भुक्तानी गर्न नसकेको दाबी गरेको छ। 'उहाँहरू एकपक्षीय रूपमा बढी आक्रोशित हुनु भएको छ। बैंक भनेको संस्था हो संस्थाले आफ्नो नियमअनुसार काम गर्छ' बैंकका डेपुटी गभर्न सुधिर पाण्डेले थाहाखबरसँग भने 'एकपक्षीय रूपमा विरोध गरेका कारण हामीले खाता रोक्का गरेका हौँ।'

तर क्याम्पसका केही प्राध्यापक तथा संचालकहरूले बैंकका कानुनी अधिकृतलाई घुस खुवाएर खाता रोक्का गरेको आरोप लगाएका छन्। 'दुईपक्षीय समस्या क्याम्पसमा देखिएको हो, तर त्यही समस्या पछि संयुक्त खाता खोल्न बैंक स्वयंले राय दिने र पैसा जम्मा भएको अर्को दिनदेखि खाता रोक्का गर्ने बैंकको बदमासी हो' एक संचालकले भने ' बैंकका कानुनी अधिकृतलाई घुस खुवाएर यस्तो काम गरिएको छ।' एनआइसी एसियाका डेपुटी सिइओ पाण्डेले भने यस्तो किशिमको समस्या क्याम्पसले नदेखाएको र कुनै पनि प्रकारको सल्लाहसुझाब बैंकको तर्फबाट नदिएको दाबी गरे। 'बैंकले नै सुझाब दियो भन्नु बेकार हो, हामीले केही सुझाव दिएका छैनौँ। संस्थागत प्रकिया मात्रै पूरा गरेको हो, प्रकिया पूरा गर्दा भुक्तानीमा केही समस्या छैन' पाण्डेले भने।

कसरी गर्ने समधान

नेपाल राष्ट्र बैंकले सामान्यतय ग्राहकको खाता नरोक्न बैंकहरूलाई सुझाव दिएको छ तर समस्या परेको खण्डमा बैंक वा ग्राहक दुवैले राष्ट्र बैंकमा उजुरी दिन सक्छन्। यो समस्याका विषयमा भने दुवै पक्षले राष्ट्र बैंकमा उजुरी दिएका छैनन्।

'राष्ट्र बैंकमा उजुरी आएपछि बैंकले तत्काल समाधान गर्छ तर उजुरी आएको छैन' राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सपाकोटीले थाहाखबरसँग भने। उनले सामान्य समस्यालाई साता दिनभित्र सम्बोधन गर्ने र ठूलो समस्या भएको खण्डमा राष्ट्र बैंकका दुईजना डेपुटी गभर्नरसहितको समितिले समस्या समाधानको लागि निर्णय दिने बताए।

सो समितिमा दुईजना डेपुटी गभर्नरसहित अर्थमन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बैंकर संघ, घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि पनि रहेका हुन्छन्। सबै पक्षको राय बुझेर राष्ट्र बैंकले यस्ता समस्याको समाधान गर्ने सिवाकोटीले बताए। उनले राष्ट्र बैंकमा उजुरी नआएको अवस्थामा भने बैंक बोल्न नमिल्ने ताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.