|

पर्वत : ‘दुःखीलाई दुःखै दुःख, सुखीलाई सुखै सुख यो भगवानले पनि मान्छे चिन्न जानेको रहिन्छ बाबू।’ आमा जीवन कसरी काट्दै हुनुहुन्छ? यो प्रश्न भुईँमा खस्न नपाउँदै उनको मुटु भक्कानिए जस्तो भयो। गहभरी आँसु छचल्किए अनि पछ्यौरीको सप्कोले आँखा पुछ्दै उनले जवाफ फर्काइ हालिन्।

किन यसरी रुनु भएको आमा? फेरि प्रश्न सोध्दा उनले भनिन्,‘मेरा छोराले पनि यसरी आमा तपाईँलाई कस्तो छ? भनेर सोधेका छैनन्। तपाईंले त सिधैँ चिनेको जस्तो गरी बोलाउनुभयो। थाहा नपाईँ आँशु झरेछन् बाबू।’ उनी हुन कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेकी सेती नेपाली। उमेरले ६० वर्ष पुगेकी नेपालीलाई न त दिन बैंसमा डोको र नाम्लोले छोड्यो। न त बुढेसकालमा नै। ‘बाह्र छोरा तेह्र नाति, बुढीको धोक्रो काँधैमाथि’ भने जस्तै उनलाई ३ छोरा र २ छोरी जन्माउँदा पनि जीवनमा कहिल्यै सुख मिलेन। उनका श्रीमान रामबहादुर नेपाली ६१ वर्षका पुगे पनि उनको पारा अझै पनि अल्लारे भएको सेतीले सुनाइन्।

श्रीमानको दैनिकी बिहानै उठेर रक्सी पिउँछन्, गाउँघर डुल्छन्, खाने बेलामा घर आइपुग्छन्। अनि खाना खाने सुत्ने। यत्ति हो उनको दैनिकी। सेतीको काममा सघाउने कोही नभएका कारण नै उनी बिहान ४ बजे नै उठछिन्। गाउँमा कसका घरमा काँक्रा फलेका छन्। उसैकोमा पुगेर खरीद गर्छिन् अनि बिहानको ७ बज्दा नबज्दै डोकाभरी काँक्रा, कुरकुरे, चाउचाउ, लेज लगायतका ‘ड्राइफूड’ बोकेर १ घण्टाको पैदल यात्रा गर्दै ढावा नेरको ठूलो घुम्तीमा आइपुग्छिन्। उनले बिहान उठ्दा साथ खाना पकाउँछिन्, गोठालो र घर धन्दासकेकी हुन्छिन्। अनि आफूलाई चाहिने खाना टिपिनमा राखेर घुम्तीमा आउँछिन्।

दिनभर सडकमै व्यापार गर्छिन् बेलुका घाम डाँडामाथि बसेपछि मात्र घर फर्किन्छिन्। उनका सबै छोराहरू बाबु आमाबाट छुट्टिएर बसेका छन्। तीनैजना छोरीहरूको बिबाह भएर आफ्नै घर ततेरीरहेका छन्। श्रीमानले त काममा सघाउने कुरै भएन। त्यही पनि ८ वर्षीय नाति भने हजुर आमालाई साथ दिँदै अगाडि पछाडि लागेका हुन्छन्। नातिले सघाउने पनि विद्यालय बिदाको दिन पर्दा मात्र हो। त्यसबाहेक त उनी एक्लै नै हुन्छिन्। 

सेतीले बुढेसकालमा थाप्लोमा राखेको नाम्लो र पिठ्यूँमा राखेको डोकोले नै उनको घरधन्दा चलेको छ। घरका लागि चाहिने खाद्यान्नः नुन, तेल, चामल, चिनी आदि काँक्रा बिक्री गरेर आएको पैसाले नै चलाउँछिन् उनले। उनले मलीन अनुहार लगाउँदै अगाडि थपिन्,‘यहाँ आएर गाडी रोकिदिए त यसो अलिअलि कमाई हुने थियो होला। गाडी रोक्दैन उही बाइक र ट्याक्सीले यस्सो रोकेर चुरोट, काँक्रा, कुरकुरे खान्छन्।’ त्यही पनि जसोतसो लगानी कटाएर दिनमा ६०० जति रुपैयाँ कमाई हुने गरेको उनले सुनाइन्। 

२०७२ सालमा गएको भुकम्पले सेतीको घर पनि आंशिक रुपमा भत्काएको थियो। ‘धन्न पूरै भत्केन। अलि अलि काम चलाउन पाल टाँगेर बस्न मिलेको छ। पैसा पाइन्छ रे भन्थेँ। गाउँकाले त ल्याए रे, खोई मलाई त कहाँ हो? कसो हो? केही पत्तो भएन।’ उनले थपिन्, ‘सुख पाउने त जानेका बुझेकाले मात्र रहेछ बाबु। अब म बूढी कहाँ जाम? के गरम? बुढाको चाल उही हो के रे भनी हालेँ।’ 

अब त धेरै बाँच्ने उमेर पनि नभएको सुनाउँदै उनले भनिन्, ‘दिन बैंशमा त डोकोले छोडेन बाबू, हा...अब बुढेसकालमा त झन के छोडोस्? यस्तै रै छ मर्नी जानी चोला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.