|

विराटनगर : किसानबाट अत्याधिक दूध संकलन भएपछि यो वर्ष दुग्ध विकास संस्थान विराटनगरले उत्पादन गरेको पाउडर दूध र नौनी घ्यू खपत भएको छैन। गत वर्षसम्म संस्थानले झण्डै २० करोडको पाउडर दूध भारतलगायत तेस्रो मुलुकबाट खरिद गर्ने गरेकोमा यो वर्ष खरिद गरेन। पाउडर घोलेर आपूर्ति गर्नुपर्ने सुख्खा सिजनमा पनि दूधको संकलन वृद्धि भएपछि डिडिसिले उत्पादन गरेको पाउडरको मौज्दात बढेको छ।

गत वर्षको कार्तिक महिनादेखि पाउडर उत्पादन सुरु गरेको डिडिसिसँग अहिले पाँच लाख किलोग्राम अर्थात पाँच सय मेट्रिक टन पाउडर मौज्दात छ। यो जेठ महिनासम्मको तथ्यांक हो। असार महिनामा पनि ५० हजार किलोग्रामभन्दा बढी पाउडर उत्पादन भएको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख निलकण्ठ गौतमले जानकारी दिए।

सुख्खा सिजनमा पनि पाउडर उत्पादन निरन्तर भएको र पाउडर घोल्न नपरेका कारण डिडिसिसँग भएका सबै गोदामहरू यतिबेला भरिभराउ भएको छ। डिडिसिले विराटनगर, हेटौडा र काठमडौंमा पाउडर दूध र बटरको स्टक गरेको छ। यो दूध उत्पादनको मुख्य सिजन हो। अब पाउडर राख्ने गादामको नयाँ प्रबन्ध नगर्ने हो भने किसानको दूध किन्न नसक्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ।

डिडिसिसँग पाउडर दूध मात्र होइन करिव सात लाख किलोग्राम नौनी (बटर) पनि मौज्दात रहेको छ। पाउडर दूध घोल्दा त्यसमा नौनी मिसाउनु पर्ने भएकोले नौनीको पनि मौज्दात गर्नुपर्ने हुन्छ। त्यस बाहेक डिडिसिले ३.८ फ्याटको दूध बजारमा लैजाने र किसानसँग ७/८ फ्याटसम्मको दूध खरिद गर्ने हुँदा अतिरिक्त फ्याटबाट नौनी निकालेर स्टक गर्ने गरेको छ।

डिडिसिसँग २२ करोड ५५ लाख मूल्य बराबरको पाउडर दूध र करिव ६० करोड मूल्य बराबरको नौनी घ्यू गोदाममा थन्किएको छ। चालु पूँजी अन्तरगतको करिव ८० करोड रुपैयाँ बराबरको उत्पादन गोदाममा थन्किएपछि डिडिसिले किसानलाई समयमा दूधको मूल्य भूक्तानी गर्न सकेको छैन। असार महिनामा किसानबाट खरिद गरेको दूधको पैसा अहिलेसम्म पनि भुक्तानी गर्न सकेकोक छैन।

बिक्री गर्ने व्यवस्था छैन

दुग्ध विकास संस्थानले सुख्खा सिजनमा विदेशबाट पाउडर ल्याउनु पर्ने अवस्था अहिले आएर अन्त्य भएको छ। अघिल्ला वर्षहरूमा बढीमा एक लाख ५० हजार लिटर दूध संकलन गर्दै आएको डिडिसिमा यो  वर्ष दैनिक दुर्इ लाख ६० हजार लिटरसम्म संकलन भएको थियो।

अधिक दूध संकलन भएपछि नियमित बिक्री बाहेकको दूध पाउडर प्लान्टमा खपत गरिएको थियो। विगतमा पाउडर खरिद गर्नु पर्ने अवस्था अन्त्य भएको तर डिडिसिले पाउडर बिक्री गर्ने  प्रावधान नभएकोले मौज्दात पाउडर के गर्ने भन्ने समस्या आएको छ। गएको कार्तिक महिनामा उत्पादन भएको पाउडर अबको १५ महिना भित्रमा प्रयोग गरिसक्नु पर्छ। पाउडरको उपयोग अवधि दुर्इ वर्ष मात्र हुने विराटनगर आयोजना प्रमुख गौतमले जानकारी दिए।

निजी डेरी उद्योगहरूले यो वर्ष यूरोपबाट ठूलो परिमाणमा पाउडर दूध आयात गरेका थिए। पाउडरको गुणस्तरको विषयमा उजुरी परेपछि कृषि मन्त्रालयले केही डेरी उद्योगको पाउडर गोदाममा शिलबन्दी गरिदिएको छ। नेपालमै उत्पादन भएको पाउडर खपत नभइरहेको बेला विदेशबाट पाउडर आयात गर्न नहुने सरोकारवालाहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.