|

पर्सा : वीरगन्ज महानगरपालिकाले अध्याधिक कर बढाएको भन्दै त्यसको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा विभिन्न बस्तुगत संघसंस्थाले वीरगन्जमा बृहत र्‍याली निकालेका छन्। दुईदर्जन बढी वस्तुगत संघसंस्था सहितको सहकार्यमा उद्योग वाणिज्य संघको अगुवाइ आइतबार वीरगन्जमा बृहत र्‍याली निकालिएको हो। वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको र्‍याली वीरगन्ज महानगरपालिका कार्यालयसम्म पुगेर नगर प्रमुख विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाउँदै समापन भएको छ।

आन्दोलित विभिन्न संघ संस्थामा आवद्ध सेवाग्राहीहरूले वीरगन्ज महानगरपालिकाले चालु आर्थिक बर्षको लागि नगरसभाबाट पारित गरेको करनीति अव्यवहारिक भएको भनी संसोधनको माग गरेका छन्। आम मानिसको जीवनयापनमा नै फरक पर्ने गरी वीरगन्ज महानगरपालिकाले कर नीति ल्याएको उनीहरूको आरोप छ। आन्दोलित सेवाग्राहीहरूले महानगरपालिकाका प्रमुख सरावगीलाई बुझाएको ज्ञापन पत्रमा पनि विगतको नगरपालिकाको अधिकतम व्यवसाय करको सीमा १० हजार रुपैयाँ रहेकोमा यो आर्थिक वर्षबाट दुर्इ लाख पुर्‍याइएको, मालपोतको एक करोड ८० लाखको मूल्यांकन रहेको जग्गाको छ करोडदेखि आठ करोडसम्मको मूल्यांकन कायम गरी आर्थिक दोहन मात्र गर्न खोजिएको, मालपोत र महानगरपालिका राज्यका दुवै सरकारी निकायको जग्गाको मूल्य निर्धारण फरक परेको, होटल व्यवसाय करतर्फ ५० हजारबाट बढाई अधिकतम सीमा एक लाख २५ हजार बनाएको, क्लिनिक ल्याव आदिले तिर्दै आएको दुर्इ हजार कर १५ देखि २० हजारसम्म पुर्‍याएको, उद्योग व्यापारलाई हानी पुग्ने गरी प्रदुषण एवं सडक सुधार शुल्कको नाममा हरेक मालवाहक सवारी साधनमा भंसार प्रवेश विन्दुमा अति महंगो शुल्क निर्धारण गरिएको, यसको अतिरिक्त खारेजी भइसकेको कवाडी करको पुनः कर लागू गरिएको जस्ता कुराको फेहरिस्त तयार गरी यी कर व्यावहारिक नभएकोले सम्सोधनको माग गरिएको छ।

त्यसै गरी ठूला, मझौला र साइकलमा समेत दैनिक तथा  सामान्य आयश्रोत भएको जनताले उपभोग गर्ने सवारीमा समेत पटके पार्किङ्ग शुल्क तोकेका, पर्यटन तथा औद्योगिक विकासमा प्रतिकुल असर पार्ने गरी सबै सवारी साधनमा प्रतिघण्टाको पार्किङ्ग शुल्क तोकेको, रिक्सा, इरिक्सामा मात्र नभई ठेलामा समेत कर तोकेको, पेट्रोल डिजेजमा समेत प्रति लिटर २५ पैसा कर, सामान्य प्रकृतिका व्यवसाय त जन्म, मृत्यु र विवाहदर्ता जस्ता कुरामा समेत अनुचित शुल्क राखेको जस्ता करहरू पहिलेकै अवस्थामा कायम गरी करको दायरा बढाउन माग गरिएको छ। विभिन्न संघ संस्थाको सहकार्यमा उद्योग वाणिज्य संघले करको शूल्क उचित गर्न भनी तयार पारेको ज्ञापन पत्र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले नगर प्रमुख सरावगीलाई महानगरको गेट बाहिर बोलाएर बुझाएका हुन्। ज्ञापन पत्र बुझ्दै नगरप्रमुख सरावगीले आपसी समझदारीबाट अगाडी बढ्ने बताए।

र्‍यालीपछि संचारकर्मीहरूसँग भने नगरप्रमुख सरावगीले झण्डै तीन दर्जनको हाराहारीमा सहभागी वस्तुगत संघसंस्थाका सहभागीहरूलाई पनि राजनीतिकबाट प्रेरित भई  र्‍यालीमा सहभागी भएको भन्न भ्याए। उनले अमुक पार्टी भनी नेपाली कांग्रेस तर्फ संकेत गर्दै राजनीति प्रेरित आन्दोलन भन्न बाँकी राखेनन्।

उद्योग वाणिज्य संघका अध्यक्ष नेपाली कांग्रेस पार्टीको तर्फबाट २ नम्बर प्रदेशका प्रदेश सदस्य रहेको र र्‍यालीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाको पनि सकृय उपस्थिति देखेपछि उनले त्यता संकेत गरेका थिए। चित्त नबुझेको भनी आफूसँग आएर गुनासो गर्ने जति सबैको समस्या समाधान भइसहेको भनी नगरप्रमुख सरावगीको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.