स्थानीय तह भन्छ, उत्खनन गर्ने अधिकार नै छैन

|

रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा रहेको तामा खानी उत्खनन हुन सकेको छैन। सरकारी उदासिनका कारण उत्खनन हुन नसकेको हो।

चार दशकअघिसम्म यस खानीबाट तामा निकालेर भाँडाकुडा बनाए पनि पछिल्लो रोकिएको स्थानीयहरु बताउँछन्। त्यस ठाउँमा पहिले तामा निकालिएको खाल्डाहरू अहिले पनि छन्। झुम्लाबाङको तामा खानीबाट आफ्नो बुवाले समेत तामा निकालेर भाँडाकुडा बनाएको स्थानीय भक्तिराम कामीले बताए।

भूमे गाउँपालिकाका आधा दर्जन ठाउँमा तामा खानी रहेको आफ्ना पुर्खाहरुले सुनाएको कामीले बताए। ‘झुम्लाबाङमा मात्र नभएर रातोपानी, कोप्चेखानी, खालीखोला, ठेलोपैरा खानी लगायतका क्षेत्रमा तामा खानी रहेको अग्रजले बेला बेला कुरा गर्छन,’ उनले भने, ‘झुम्लाबाङमा त मेरो बुवाले नै खानीबाट तामा निकालेर भाँडाकुडा बनाएको मलाई पनि थाहा छ।’

त्यस खानीबाट निकालिएका तामाबाट बनाएका विभिन्न प्रकारका भाँडाकुडाहरु त्यस क्षेत्रका गाउँमा अहिले पनि छन्। त्यस क्षेत्रमा सुरुमा बस्ती नभएको तर खानी पत्ता लागेपछि अन्य ठाउँबाट मानिसहरु आएकार बसोबास गर्न थालेको स्थानीयको भनाइ छ।

तामा खानी भए पनि सरकारले उत्खननमा चासो नदिएको स्थानीय कमला बुढाको बताइन्। ‘हाम्रो गाउँमा तामा खानीको छ, तर सरकारले उत्खननमा ध्यान दिएको छैन,’ बुढाले भनिन्, ‘धेरै पहिले नै हाम्रा पुर्खाहरुले समेत तामा निकालेर प्रयोगमा ल्याएको देखिन्छ, अहिलेको विज्ञान प्रविधिको युगमा अझ सजिलोसँग उत्खनन् गर्न सकिन्थ्यो होला।’ खानीको उत्खनन गर्दा स्थानीय नागरिकसँगै समग्र देशकै लागि रोजगारी सिर्जना पुग्ने उनको भनाइ छ। 

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा गाउँमा रहेको तामाखानीबारे आफु जानकार रहे पनि कानुनी जटिलताका कारण उत्खनन गर्न नसकिएको बताउँछन्। खानीको संरक्षण गर्ने अधिकार मात्र स्थानीय सरकारलाई भएको तर उत्खनन गर्ने अधिकार नहुँदा काम गर्न नसकिएको उनको भनाइ छ। ‘झुम्लाबाङमा तामा खानी छ, पुर्खाहरुले निकाले प्रयोग गरेको पाइन्छ,’ उनले भने, ‘सम्भावना हुँदाहुँदै र स्थानीय सरकारको चाहना हुँदाहुँदै पनि त्यसलाई उत्खनन्को काम गर्न सकिएको छैन।’ उनले संघ र प्रदेश सरकारको सहकार्यमा तामाखानी उत्खननका लागि पहल गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.