दसैँभित्रै दुनैसम्म राष्ट्रिय सडक

|

त्रिपुराकोट(डोल्पा) : विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण तीव्र पारिएको छ। अहिले खदाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको सेनाले जनाएको छ। सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनौं भिर छिचोलेर मोटर गुड्ने चौँडा सडक बनाइएको छ।

कुल लम्बाइ ११७ दशमलव ७ किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जिरो पोइन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माण कार्य थालनी गरिएको थियो।

तरपरे भिरमा निर्माण कार्य तीव्र

०७३ साउनमा रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म सडक निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो। डोल्पा दुनैलाई सडक सञ्जालमा जोड्ने अन्तिम भिरको रूपमा त्रिपुरा सुन्दरी नगरपालिकामा पर्ने तरपरे भिरमा काम गरिरहेको सेनाले जनाएको छ।

खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भिर, श्रीबिण्डे भिर, फोई भिरलगायतका दर्जनौं विशाल भिरहरुको निर्माण कार्य सम्पन्न गरेर अन्तिम भिरको रुपमा तरपरे भिर निर्माण भइरहेको छ। तरपरे भिर निर्माण हुनेबित्तिकै डोल्पा दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ।

चरासमेत नअडिने भिर छिचोलियो

'सानोतिनो प्रयासले जाजरकोटदेखि डोल्पासम्मको सडक निर्माण कार्य सम्पन्न गरेर सडक कुदाउने सपना देख्नु सम्भव थिएन' जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख विश्वबन्धु पहाडीले भने।

'जाजरकोटदेखि डोल्पा जोड्ने सडक निर्माणको जिम्मा लिनु सेना स्वयंमका लागि चुनौतीको विषय थियो, तर विभिन्न चुनौतीका बाबजुत पनि निर्माण कार्य अन्तिम चरण पुर्‍याएको छ अब डोल्पालीको सपना साकार भइसकेको छ,'उनले भने, 'सडक निर्माणको क्रममा मनमई भिर, काला पहाड, तल्नु भिर कुच्ची भिर, चिप्ले भिर, एैरी बथान भिर, फोई भिरजस्ता चरासमेत बस्न कठिन हुने भिर छिचोल्दै नेपाली सेना अगाडि बढेको उनले बताए।

सैँभित्रै दुनैसम्म राष्ट्रिय सडक

'अब डोल्पाली जनाता सडक सपनानजिक आइसकेको छ, जाजरकोट-डोल्पा सडकखण्डको अन्तिम भिरको रूपमा तरपरे भिर मात्रै बाँकी छ' कार्यदल प्रमुख पहाडीले भने। 'डोल्पालीका दुखका दिन गए,डोल्पालीको पुस्तौँदेखिको सपना साकार पार्न सेना थाकेको छैन'उनले भने। डोल्पा सदमुकाम दुनैलाई राष्ट्रिय सडकमा जोड्न अब पाँच सय मिटर सडक मात्रै खन्न बाँकी छ। 'अब पाँच सय मिटर मात्रै सडक निर्माण गर्न बाँकी छ, दसैँभित्रै डोल्पा सदमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्छौँ' कर्णेल पहाडीले थपे।

खदाङसम्म गाडी, सिउरेनीसम्म ट्रयाक्टर

सडक निर्माणसँगै त्रिपुरा सुन्दरी नगरपालिमा-५ मा पर्ने खदाङ हरियापानीसम्म जिप ट्रयाक्टरलगायतका यातायात सञ्चालन भइरेका  छन्। २५ चैत ०७४ मा पूर्वशान्तिमन्त्री सत्य पहाडीद्धारा रुकुमको त्रिवेणी बजारदेखि–खदाङ हरियापानीसम्मको सडक उद्घाटन गर्दै यातायात सञ्चालनमा ल्याइएको हो।

खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पाली जनताको जिल्लाबाहिरको यात्रासमेत छोटिएको छ। सदरमुकाम दुनैदेखि दुई दिनमै नेपालगञ्ज,सुर्खेत लगायतका सहरहरुमा पुगिन्छ। त्यति मात्रै नभई खाद्यान्न आपूर्तिमा पनि सहज भएको छ। वर्षौंदेखि आफैँ बोकेर र खच्चडको भरमा धानिएको डोल्पामा खाद्यान्नको मूल्य पनि घटेकाले सर्वसाधारण खुसी छन्।

दैनिक तीनसय कामदार

खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीव्र पारिएपछि  दैनिक तीनसय कामदारले काम गरिरहेका छन्। अप्ठेरा भिर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनको प्रयोग भइरहेको छ सेनाले जनाएको छ। सडक निर्माणकै लागि खदाङ र धाउने गरेर दुई ठाउँमा नेपाली सेनाको निर्माणबेश टोली राखिएको छ। दैनिक चार–पाँच ठाँउमा ब्लास्टिङ गरिने र खदाङ–त्रिपुराकोट खण्ड निर्माणका लागि दुईवटा डोजर लगाइएको सेनाले जनाएको छ।

स्थानीय खुशीले दंग

डोल्पा दुनै मोटर पुर्‍याउने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपछि डोल्पाली जनता खुसीले दंग छन्। सुर्खेत, नेपालगञ्ज, काठमाडौं पुग्न सल्यानको सल्लीबजार सुर्खेत छिन्चुबाटै पैदल हिँडेका मान्छेहरु घर छोडेको तिन घण्टामै मोटर चढ्न पाउँदा खुसीले दंग परेका हुन्।

'एक महिना हिँडेर काठमाडौं पुगेको मै हु, त्यतिखेर घरबाट हिँडेपछि सकुशल ज्यान फर्किन्छ कि उतै रहन्छ पत्तो हुँदैन थियो' त्रिपुरा सुन्दरी नगरपालिका १ का ८० वर्षीया वयोवृद्ध रविप्रसाद न्यौपानेले भने। नुन चामलका लागि पनि हप्तौँ हिँडेर रुकुमको राडी, चौरजारी सल्यानको सल्लीबजारसम्म पुग्नुपर्थ्यो उनले विगत सम्झिँदै भने, 'अहिले डोल्पा दुनैसम्म मोटरबाटो आउन पाँचसय मिटर मात्रै बाँकी छ भन्छन्, सबैभन्दा ठूलो विकास मोटरबाटो आउनुरहेछ, गाडी पुग्यो भने सबै कुराको सहज हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.