|

काठमाडौं :  वि.सं. २०२६ ताका काठमाडौंमा ७५ जिल्लाका कलाकार भेटघाट कार्यक्रम तय भएको थियो। आयोजक थियो, राष्ट्रिय नाचघर। धनकुटाका अंचलाधीशको सिफारिसमा पहिलोपल्ट गीतकार शिवशंकर थापा काठमाडौं आएका थिए। उनी ती दिन सम्झन्छन्, 'धनकुटाबाट जोगवनी हुँदै रक्सौल र रक्सौलबाट त्रिभुवन राजपथ हुँदै आउँदा यो काठमाडौं शहर यति सुन्दर थियो कि अब त्यसको व्याख्या गरे अहिले मान्छेले पत्याउँदैनन्।'

त्यसबेला राष्ट्रिय नाचघर जमलमा उनले लोकगीत गाए। उनको गायन कला देखेर गायकद्वय गणेश रसिक र नवीन किशोरले यहीँ काम गर्नु, यतै बस्नुस् भनेका थिए। त्यसबेला राष्ट्रिय नाचघरमा उनीहरू १५० रुपैयाँ तलबमा कलाकारका रूपमा काम गर्थे। त्यसबेला काठमाडौंको चिसोको कारण र घरायसी बाध्यताले उनी फर्किए। उनी भन्छन्, 'संगीसाथीहरूको राम्रो जमघट, विचार विमर्श जस्ता कुराहरू यहाँ हुन्थे। यता बसेको भए सांगीतिक क्षेत्रमा अझ बढी सक्रियता बढ्थ्यो होला।'

छिन्नलता पुरस्कारका लागि यतिबेला उनी काठमाडौं आएका छन्। छिन्नलता पुरस्कार पहिले पहिले उपत्यकाभित्रका सर्जकका लागि मात्र थियो तर अहिले लामो समय मोफसलमा बसेका स्रष्टाहरूलाई पनि सम्झिने गरेको छ। काठमाडौं अहिले पनि उति नै सुन्दर लागे पनि बिरामी ज्यानकै कारण मात्र उनि बेलाबेला यता आउँछन्। अहिले उनी बिर्तामोडका स्थायी बासिन्दा भइसकेका छन्।

बाल्‍यकाल, त्यसमाथि त्यसबेलाका झाँक्री, बोक्सी, तर्साउने कथाले गर्दा उनको स्मृतिमा डरैडरले डेरा जमाएको थियो। आफ्नै घरमा एक्लै बस्न पनि डरले गाउँको धारा, पँधेरा, चौतारीको बास। बाबुआमा किसानीमा। मेलापात जाँदा थापाको दैनिकी यसरी नै बित्ने गर्थ्यो। घरको शून्यता, बाल्यकालका दौँतरीको अभाव आदि कारण उनलाई यो गर त्यो नगर भन्ने कोही भएनन्। एक्लोपन हुँदा मनमा अनेक प्रकारका सोचाइ आउँथे। त्यस कारण साहित्यलाई आफ्नो नजिकको मित्र ठाने उनले। उनी भन्छन्, 'बहलाएको मन बाँध्ने काम नै त्यसबेला मुक्तक, गीत, कविताले गरेका हुन्।'

धनकुटाको डाडाँगाउँ भन्ने ठाउँमा वि.सं. २००३ मा जन्मेका उनी घरका कान्छा छोरा हुन्। विद्यालय घरदेखि टाढा भएकाले उनी बाल्यकालमा स्कुल जान पाएनन्। दशैँ, तिहारमा गाउँमा हुने सांगीतिक कार्यक्रममा उनी नाच्ने, गाउने गर्थे।

उनका दुई दाजुहरू धरान, धनकुटा बस्ने भएकोले उनी पनि पढ्नको निम्ति धनकुटा बजार निस्किए। दाजु पनि गायक थिए। उनी कुशल वक्ता पनि थिए। उनको लगाव पनि उनीमाथि पर्‍यो। विद्यालयको अध्ययन र गीत, कविता लेखनमा उनको लगाव झनझन् बढ्दै गयो। २०२० सालपछि उनले गीत लेखनलाई तीब्र गर्दै गए भने ट्युनिङ पनि आफैँ भर्थे। स्कुलको पढाइमा उनी अब्बल थिए। उनी छ/छ महिनामा कक्षा उक्लन्थे। पारिवारिक आर्थिक अभावलाई केही रूपमा भए पनि कम गर्न उनले पढाउन थाले। तर यो उमेर पढ्ने हो भन्दै उनी २०२३ सालमा आइए पढ्न थाले।

कलेज पढ्दा उनको गायन तथा गीत, कविता लेखन कला देखेर उनलाई त्यहाँका संघसस्थाहरूले सम्मान गरे। धनकुटामा गीत गायन र लेखनमा उनी परिचित हुँदै गए। उनले पहिलोपल्ट ३० रुपैयाँ पुरस्कारसमेत प्राप्त गरे। 'त्यसबेला त्यो पुरस्कारले मैले भुवादार जुत्ता किनेको थिएँ। कलेज पढ्दा एकसरो कपडा मात्र आफ्नो थियो। जुत्ता आएपछि मेरो निजत्वमा जुत्ता पनि पर्‍यो', मुसुक्क हाँस्दै ती दिन सम्झिए।

काम गरेर आर्थिक रूपमा भए पनि सहज जीवनयापनका लागि जागिर खानुको विकल्प थिएन। एक मलेरियासम्बन्धी कम्पनीमा सुपरभाइजरको काम गर्न थाले उनी। त्यसको दुई वर्षपछि उनी रसियन लाइब्रेरी धरानमा काम गर्न पुगे।

वि.सं. २०२० तिरै दीप श्रेष्ठसँग उनको दोस्ती अगाडि बढिसकेको थियो। धनकुटा हुँदा नै दीपले उनका गीत लिएर जाने गर्थे। धरान बस्दा दीप श्रेष्ठसँग थापाको घुलमिल अगाडि बढ्दै गयो। वि.सं. २०२९ मा दीपले उनको गीत 'विधुवाले सिन्दूरको रहर आँखामा टाँसेर, बाँचेकी हुन्छे सागरमा पनि खडेरी बोकेर' गाए। रेडियो नेपालबाट यसै गीतमार्फत् प्रथम स्थान प्राप्त गरे।

त्यो गीत नै थापाको पहिलो गीत थियो, जुन रेकर्ड भएर रेडियो नेपालमा बजेको थियो। 'तिमी आकाशको जून भयौ', 'म धर्तीको धुलो हुँ', 'तिमी हरदिन आँखामा बादल बोकेर', 'भन्थिन् उनी मेरी' उनका त्यस बेलाका हिट गीतहरू थिए। यी अधिकांशमा स्वर दीप श्रेष्ठकै थियो। आखिर सबै गीत दीपको भागमा किन परे त? उनी भन्छन्, 'म काठमाडौं विरलै आउने, दीप काठमाडौं-धरान गरिरहने भएकाले पनि दीपसँग अलिक सहज पनि भयो। अरू गायक गायिकाले पनि माग्ने गर्थे तर खै के मिलेन मिलेन।'

प्रकाश गुरुङले उनको 'मेरो रहर व्युँझिएर तिम्रो छेउ आई हाँसे' गीतमा संगीत भर्ने काम गरे वि.सं. २०३२ तिर। यसमा स्वर भने अोमविक्रम विष्टको थियो। यो पनि हिट भयो।

२०३२ सालमा सुभाना लिम्बूसँग पनि उनले काम गर्ने अवसर पाए। पवन गोलेले गाएको 'हावासँग बगूँ भन्छ' गीतले त्योभन्दा अघि नचिनिएका गोले एकाएक हिट बने।

घरायसी झमेला तथा खाद्य संस्थानको स्थायी जागिरे भएपछि उनको गीत लेखन अलि कम भयो। फलस्वरूप उनका गीत बजारमा आउन छाडे। कारण यति  मात्र थिएन। उनी भन्छन्, 'धरानमा साहित्यिक गोष्ठी र कार्यक्रमहरू कम हुनुले पनि मेरो गीत लेखन कम भएको सत्य हो।'

गीतहरू सामान्यतया कल्पना गरेर लेखिने प्रचलन रहे पनि उनका अधिकांश गीतहरूमा नायक नायिकाहरू रहेको बताउँछन्। उनी भन्छन्, 'कुन गीतका कस्ता पात्र वा नायक नायिका छन् भन्ने कुराको विस्तृत कुराहरूलाई समेटेर नयाँ किताब आउँदै पनि छ।'

उनका जति पनि गीत रेकर्ड भए, ती सबै हिट छन्। कारण, उनका हरेक गीत देखेका र भोगेका आमजनजीविकासँग मेल हुने भएकाले नै गीतहरू चर्चित भएको बताउँछन्।

बुबाआमाले छोरालाई यही बनाउँछु भन्ने धारणा पनि केही थिएन। उनी आफ्ना बाबुले भनेको सम्झन्छन्, 'हेर कान्छा, पढ्यो गुन्यो के काम, हलो जोत्यो खायो माम। यो थोरै जग्गामा काम गर्ने अनि बाँच्ने मात्र भन्थे।'

बाबुआमालाई छोराछोरी पढेर ठूलो मान्छे बनाउनुपर्छ भन्ने त्यस्तो केही थिएन। सायद गरिबीले आक्रान्त परिवारमा खाना नै पहिलो प्राथमिकतामा पर्दो हो, पढ्ने कुरा त धेरै माथिको कुरा भैहाल्यो।

पूर्वतिर राई, लिम्बूमा बेलायती सेनामा जाने प्रचलन थियो। तर उनका घरका दाजुहरू धरानमा बसेर पढेको हुनाले उनको पढाइमा ध्यान दिनुपर्छ भन्ने नै थियो। सामान्यतया पढाइमा घोत्लिरहेकाले पनि सेना हुने लेठो उनको भएन। त्यसबेला बेलायती सेनामा लैजान गल्लाहरूले उनका दाजुलाई पैसासमेत दिएका थिए तर आमाले त्यो कुरा थाहा पाएर 'उता लडाइँमा मरे के गर्नु' भनेर जान दिइनन्।

सिलगुडी जाँदा रेडियोबाट 'तिमी आकाशको जून' पहिलोपल्ट बज्दा ठूलो गौरव लागेको थियो रे उनलाई। तर गीत संगीतबाट ठूलै आर्थिक प्रगति हुन्छ भन्नेचाहिँ कहिल्यै लागेन उनलाई। उनी भन्छन्, 'पुरस्कारका लागि लेखिएन तर सम्मान गर्थे मान्छेहरूले। मैले त्यो सम्मान भने सहर्ष स्विकार्थें।'

सुगम संगीतको स्वर्ण युग भनेर २०१९ देखि २०३९ सम्मको अवधिलाई भन्ने गरिन्छ। उनी यही युगका एक साक्षी पनि हुन्। तर उनी अहिलेका गीतहरू प्लास्टिकका फूल जस्ता लाग्ने बताउँछन्। 'जहाँ बास्ना छ, आफ्नोपन छैन, सुन्दरता छ, सास छैन, चमकदार छन् तर कोमलता छैन', उनी भन्छन्।

उनको एक मुक्तकसंग्रह पनि छ- पाइताला डोबहरू। यो मगर भाषामा समेत अनुदित छ। उनी नयाँ गीतसंग्रह निकाल्ने सोचमा छन्। भन्छन्, 'एउटा डायरीमा जीवनका ऊर्जाशील समयमा लेखेका गीत थिए तर केही वर्षअघि घरमा बाढी पसेर सखाप भयो। नयाँ गीतहरू लेखेको छु। छिट्टै नै प्रकाशन गर्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.