|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गतको व्यास नगरपालिका–१२ छिर्कनमा ट्रकको ठक्करबाट माइक्रो बसमा सवार एक बालिकाको मुत्यु भएको छ भने १५ जना घाइते भएका छन्। ट्रकको ठक्करबाट भोजपुर बोक्सिङ नगरपालिका–३ की १३ वर्षीय सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिका राईको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए। तीनजना गम्भीर रहेको र अन्य घाइतेहरू दमौलीस्थित रत्नहरि अस्पतालमासामान्य उपचारपछि गन्तव्यतर्फ लागेको पाण्डेले बताए।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा२ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ११२४ नम्बरको ट्रक एकापसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुवै सवारीसाधन र चालक जिल्ला प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

पावर टेलरको ठक्करबाट स्कुटरमा सवार घाइते

त्यस्तै, दमौली भोर्लेटार भित्री सडकखण्डस्थित व्यास १० बैरेनीमा दमौलीबाट जाँदै गरेको पावर टेलरको ठक्करबाट स्कुटर पछाडि सवार एकजना घाइते भएका छन्। ग१त १२७१ नम्बरको पावर टेलरले विपरीत दिशाबाट आउँदै गरेको ग११प १९५४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडि सवार व्यास १० कुमलटारीका १३ वर्षीय कृष्ण पुन मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको।

घाइते पुनलाई थप उपचारका लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको प्रहरी नायव निरीक्षक पाण्डेले बताए। उनका अनुसार दुवै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.