सन्तोष अधिकारी/मिला दरै
गोरखा : नेपाली समाजमा जेठाजुलाई बुहारीले छुन हुन्न भन्ने परम्परा अझै कायमै छ। अझ कतिपय समाजमा त बुहारीले जेठाजुको अनुहारमा सिधा हेर्न नहुने परम्परा पनि उत्तिकै छ। तर, गत साउन ११ गते यस्तो घटना भयो। जुन घटनापछि आफ्नो बुहारी, भतिज र भतिजीको किरिया बस्दै छन् तनहुँ भन्सारस्थित सतिघाटका प्रेमकुमार श्रेष्ठ।
काठमाडौंबाट पोखरा हुँदै स्याङ्जाको लागि छुटेको ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिकास्थित चुम्लिङटारमा दुर्घटनामा हुँदा यस्तो अप्रिय घटना घटेको थियो। दुर्घटनामा परी एकै परिवारका तीनजना आमा छोरा र छोरीको मृत्यु भयो। दुर्घटनामा परी मृत्यु हुने एकै परिवारका ४७ वर्षीया कमला श्रेष्ठ उनको छोरा वर्ष २७ को सुमित र छोरी १९ वर्षीय कविना हुन्। अहिले किरिया बस्दै गरेका प्रेमकुमार श्रेष्ठ मृतक कमलाका जेठाजु हुन्।
सोही दुर्घटनामा परी कमलाका श्रीमान् ५१ वर्षीय विष्णुकुमार गम्भीर घाइते भए। उनको अहिले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको उनीहरूका आफन्त लालकुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। विष्णु अहिले खतरामुक्त रहेको चिकित्सकहरूलाई उदृत गर्दै लालकुमारले बताए। सेतो बर्को ओढेर चौथो दिनको किरिया बसिसकेका प्रेम १३ दिनको किरियापछि घाइते भाइलाई कसरी सम्हाल्ने चिन्तामा छन्।
गाउँ नै शोकमा
दुर्घटनामा परी एकैघर परिवारका तीनजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–१ भन्सार बजारका बासिन्दा शोकमा डुबेका छन्। शुक्रबार भएको बस दुर्घटनामा सो ठाउँका एकै परिवारका तीनजनाको मृत्यु भएपछि भन्सारका बासिन्दा शोकमा डुबेका हुन्। उक्त दुर्घटनापछि भन्सार गाउँमा सन्नाटा छाएको छ।
‘घटनाले हाम्रो परिवारमा त कालो दिन ल्याइहाल्यो, गाउँमा पनि दु:ख छाएको छ’ लालकुमारले टेलिफोनमा भने, ‘दुर्घटना किन भयो भनी पत्ता लगाएर आगामी दिनमा यस्तो हुन नदिए हुन्थ्यो। सम्बन्धित पक्षले बेलैमा सोच्नुपर्छ।’ यस घटनाले गर्दा स्थानीय सबै बासिन्दा शोकमा डुबेको स्थानीय ओमकुमारी पौडेलले पनि बताइन्। पौडेलले दुर्घटनाले भावविह्वल भएको भन्दै आगामी दिनमा यस्ता दुर्घटनामा नहोस् भन्नेतर्फ राज्यको विशेष ध्यान जानुपर्ने बताइन्।
तुहियो सुमितको अस्ट्रेलिया सपना
काठमाडौं बस्दै आएका श्रेष्ठ परिवार छोरा सुमितको अस्ट्रेलियाको लागि भिसा लागेसँगै आफन्त भेटघाटका लागि उनीहरू पुर्ख्यौली घर आउँदा दुर्घटना भएको थियो। ‘अस्ट्रेलिया जाने भनेर सबै प्रोसेस सिध्याएर सुमितले गाउँका सबैलाई भेट्छु भनेछ, उसैले सबैलाई ल्याएको रहेछ’ लालकुमारले भने, ‘न ऊ गाउँ आइपुग्न पायो। न उसले अस्ट्रेलियामा पढेर बा आमालाई खुसी राख्न पायो। सबै सपना सिद्धियो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।