|

कञ्चनपुर : 'बहिनी निर्मला तिमी हामीबीच नरहे पनि सदा मनमा रहने छौं' नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष लक्ष्मण तिवारीले सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने, ‘जघन्य अपराध गर्नेहरू जहाँ भए पनि कठोर सजायका लागि दबाब जारी रहने छ।’

महाकाली नदीको मसान घाटमा निर्मलाको चिता जल्दै गर्दा पूर्वअध्यक्ष तिवारीले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। बेदकोट नगरपालिकाका नगरप्रमुख अशाेककुमार चन्दले श्रद्धाञ्जलि दिँदै अन्त्येष्टि घाटमै काज किरियाका लागि निर्मलाका बुवा यज्ञराज पन्तलाई  दशहजार रकम प्रदान गरे। ‘विपतमा परेको परिवारलाई व्यक्तिगत रुपमा सहयोग गर्न पाउँदा निकै खुसी छु’ नगरप्रमुख चन्दले भने। हत्याराको खोजीका लागि सधैं सहयोग जारी रहने उनले बताए।

निर्मलाको शव यात्रामा प्रदेश ७ का प्रदेशसभा सदस्य प्रकाश रावल, बेदकोट नगरपालिकाका नगरप्रमुख अशाेककुमार चन्द र भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्ट लगायतको सहभागिता रह्यो। चार दिनअघि साथीको घरमा होमवर्क गर्नका लागि गएकी भीमदत्तनगरपालिका-२ खोल्टीकी १३ वर्षीय निर्मला पन्तको उखु बारीमा निर्मम तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेपछि आँखाबाट आँसु नझार्ने सायदै कमै हाेलान्। स्थानीयवासीको सबैको एउटै स्वर छ, 'हत्यारालाई खोजी गरेर चाँडै कारवाही होस्।' 

बिहीबार भगतपुरस्थित साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी पन्तको शव शुक्रबार विहान भगतपुर र उल्टाखाम बीचको उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो। हत्या गरिएकी पन्त उल्टा खामस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्। बिहीबार साँझ घर नफर्केपछि उनको परिवारले खोजी गरेपनि फेला पार्न सकेनन्। यसबारे प्रहरीमा खबर गरे तर प्रहरीले पनि त्यति बेला सामान्य घटना भएको ठान्दै बास्तै गरेन।

शुक्रबार मात्रै परिवारजनले उखुवारीमा उनको हत्या गरिएको अवस्थामा शव फेला परेपछि पूरै भीमदत्तनगरपालिका शोकमय भयो। महेन्द्रनगर बजारमा हत्याराको खोजी गरी कारवाहीका लागि माग गर्दै सडकमा उत्रिनेहरूको संख्या पनि त्यतिकै रह्यो। सडकमा आन्दोलन उग्रबन्दै गएपछि सदनमा समेत कुरा उठयो।

सभामुखले सरकारलाई हत्याकाण्डबारे जानकारी दिन रुलिङ नै गर्नु पर्‍याे। प्रहरीको पूरै शक्ति आन्दोलनलाई व्यवस्थित गर्न मै खर्चिएपछि अनुसन्धानको कार्य समेत प्रभावित बन्यो। प्रहरीको अनुसन्धानमा सहयोग पुर्‍याउन परिवारजनले हत्यामा संलग्न हत्यारालाई खोजी गरी कारवाहीको दायरामा ल्याउनका लागि सहज वातावरण तयार गर्न महाकाली अञ्चलमा राखिएको निर्मलाको शवको निःर्शत अन्त्येष्टि गर्ने निश्कर्षमा पुगी अन्त्येष्टि गरेका छन्।

प्रदर्शनका कारण निर्मलाको शव भेटिएको चार दिनसम्म प्रहरीले घर परिवारसित घट्नासम्बन्धी राम्ररी सोधपूछ गर्न पाएको छैन। शव भेटिएको दिनदेखि हत्यामा संलग्नलाई कारवाहीको माग राखेर प्रदर्शन गर्दै आएपछि प्रहरीलाई गाह्रो परेको हो। जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी अधिकृतहरू अनुसन्धानका लागि खटिएका छन्। आइतबार मुद्दा शाखा प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीको कमाण्डमा प्रहरी परिचालन गरिएका छन् । 
प्रहरीलाई प्रदर्शनले हत्याको तथ्य नजिक पुग्न वाधा पुगाएको छ । प्रहरीले पन्तका आमा बुवा र आफन्तसंग समेत घट्नासम्बन्धी विस्तृत रुपमा जानकारी लिन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले प्रदर्शनका कारण हत्याकाण्डको तथ्यसम्म पुग्न सकिने अवस्था नदेखिएको बताए। ‘यसले कुल दिमागले सोच्न समेत पाएको छैन’ प्रहरी नायव उपरीक्षक सेटीले भने,‘फ्याक्टतिर पुग्न नसकिने अवस्था आएको छ।’ जिल्ला प्रहरी कार्यालयले हालसम्म पन्तकी साथी बम सहित ६ जनासँग सोधपूछ गरेको छ। ती बाहेक अन्यलाई सोधपूछ गरी पक्राउ गर्न प्रदर्शनका कारण अप्ठेरो देखिएको प्रहरीको भनाई छ। ‘अहिलेसम्म ५/६ जनालाई पक्राउ गरी सोधपूछ गरेका छौँ। अरूलाई पक्राउ गर्न पाएका छैनौँ’ प्रहरी नायव उपरीक्षक सेटीले भने, ‘यस्तै अवस्था रहे अझ गाह्रो हुन्छ।’

हत्यामा टोली गठन गरी सुक्ष्म अनुसन्धान हुने भएकाले विरोध प्रदर्शनका कारण अनुसन्धानमा अन्याेलता देखिएको उनले बताए। हत्या अनुसन्धानमा खटिनुपर्ने टोली दिनभरि विरोध प्रदशर्नमा परिचालन गरिएको छ। 

अनुसन्धानमा केन्द्रीय अनुसन्धान व्यूरो 

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान व्यूरोको टोलीलाई अनुसन्धानका लागि पठाएपछि भने प्रहरीलाई राहत पुगेको छ। प्रधान कार्यालयले हत्या अनुसन्धानका लागि आइतबार प्रहरी नायव उपरीक्षक अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय टोली पठाएको छ। टोलीले हत्याको अनुसन्धनको कार्यलाई अगाडि बढाएको छ। 

निर्मलाका परिवारको माग 

निर्मलाका परिवारजनले तत्काल हत्याराको खोजी गरी कारवाही गरिनुपर्ने एकसुत्रीय माग राखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.